१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ७ शनिबार १८:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पामा प्रदेशस्तरीय सितेरियो कराँतेको ग्रेड वृद्धि परीक्षा

Read Time : > 1 मिनेट
२०८० पौष ७ शनिबार १८:००:००

नेपाल सितेरियो कराँते संघ लुम्बिनी प्रदेशले प्रदेशस्तरीय कराँते दीक्षान्त समारोह आयोजना गरेको छ।

शनिबारदेखि रोल्पाको लिवाङमा आयोजित दीक्षान्त समारोहमा पहिलो, दोस्रो र तेस्रो दान परीक्षा सञ्चालन हुने र उत्तीर्ण खेलाडीलाई दीक्षित गरिने संघका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष सिंहले जानकारी दिए।

चार दिनसम्म सञ्चालन हुने ग्रेडिङ परीक्षामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट करिब पाँच सय खेलाडीले भाग लिएकाे अध्यक्ष सिंहले बताए। ‘१२ वटै जिल्लाबाट खेलाडीहरू सहभागी भएका छन्,’ दीक्षान्त समारोह व्यवस्थापन संयोजक कृष्ण देवकोटाले भने, ‘प्रदेशस्तरको यो कार्यक्रम सितेरियो कराँते संघको गौरवको कार्यक्रम हो। यसले धेरै खेलाडीलाई थप उचाइमा पुग्न मद्दत गर्नेछ।’

दीक्षान्त समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद दीपेन्द्रकुमार पुनले मानवीय पुँजी निर्माण नगरी भौतिक पुँजी निर्माण नहुने बताउँदै खेलले सक्षम मानवीय शक्ति निर्माण गर्ने बताए। विद्युतीय शताब्दीसँग जुधेर आफ्नो अस्तित्व बचाउनुपर्ने चुनौती आएको चर्चा गर्दै उनले अबको जनशक्ति ‘स्मार्ट’ हुनुपर्ने बताए। उनले अतिरिक्त क्रियाकलापमा रमाउने मान्छे धेरै काममा सफल हुने गरेको दाबी गरे।

बिजनेस नपाएको प्रदेश सदस्य सचिवको गुनासो
लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले आफूहरूले ‘बिजनेस’ नपाएको गुनासो गरेका छन्। ‘प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिहरू कामविहीन अवस्थामा छौँ,’ भट्टराईले भने, ‘१२ वटै जिल्ला खेलकुद विकास समितिहरू निकै सक्रिय छन्, तर ‘बिजनेस’ छैन। हामीलाई काम गर्ने वातावरण बनाइदिनुपर्‍यो।’

उनले सरकारले खेलकुद परिषद्लाई पूर्णतः बेवास्ता गरेको र खेलाडीको शिर उठाउन आफूहरूले धेरै ठाउँमा शिर झुकाउनुपरेको बताए। लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि २५० कर्मचारीसहितको संरचना प्रस्ताव गरी मन्त्रालयमा पठाएको उनको भनाइ छ।

खेलकुदको आफ्नो संरचना हुँदाहुँदै पनि खेलकुद भवन निर्माणका लागि सामाजिक डिभिजन कार्यालयलाई आर्थिक अधिकार दिएकोप्रति भट्टराईले असन्तुष्टि जनाए। ‘खेलकुदका लागि छुट्याइएको बजेट सामाजिक डिभिजन कार्यालयलाई दिने कुरा ठीक छैन,’ उनले भने, ‘खेलकुद विकास समितिलाई विश्वास गर्नुपर्‍यो। खेलकुदको सम्पूर्ण काम हामी आफैँ गर्छौं।’

सदस्य सचिव भट्टराईले सामाजिक डिभिजन कार्यालयले स्टिमेट गरिदिएका धेरै कभर्ड हल प्रयोगविहीन हुने गरेको र राम्रो गरे पनि भुक्तानीमा तनाब दिने गरेको बताए। ‘हामीले व्यवस्थापन गर्न र बुझ्न नसकेको खेलकुद सामाजिक डिभिजन कार्यालयले कसरी बुझ्छ?’ उनले प्रश्न गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले प्रदेशस्तरको कार्यक्रम रोल्पामा राखेकोमा खुसी व्यक्त गर्दै खेलाडीलाई उन्नति-प्रगतिको शुभकामना व्यक्त गरे। रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएरै गतिविधि गरिरहेको बताए।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले प्रदेशस्तरको खेलकुदमा खेल मात्र नभएर अनुशासन पनि प्रदर्शन गर्न आग्रह गर्दै शान्तिसुरक्षामा निश्चिन्त रहन आग्रह गरे। सितेरियो कराँते परीक्षा सोमबारसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तीले जानकारी दिए।