१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका ​​​​​​​एजेन्सी
२o८१ बैशाख २४ सोमबार १४:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजामा अमेरिकी समर्थनपछि सुरक्षा परिषदमा मतदानको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, ​​​​​​​एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:२१:oo

इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतीक्षित प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार मतदान गर्ने तयारी गरेको छ।

यो पछिल्लो प्रस्तावमा ‘तत्काल सुरक्षित र निर्वाध मानवीय पहुँचलाई अनुमति दिन र शत्रुताको दिगो अन्त्यका लागि वातावरण सिर्जना गर्न तत्काल कदम चाल्न’ आह्वान गरिएको छ। यसले युद्धको तत्काल अन्त्यको माग गर्दैन।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले बिहीबार साँझ पत्रकारसँग भने, ‘यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौँ।’

उनले प्रस्तावको मस्यौदालाई कमजोर बनाइएको भन्ने कुरा अस्वीकार गर्दै यो ‘निकै मजबुत’ र ‘अरब समूहको पूर्ण समर्थन’ भएको बताए।  

म्यानहटनस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा कूटनीतिक खिचातानीका कारण यस हप्ता धेरैपटक मतदान स्थगित भएको छ। गाजाको बिग्रँदो अवस्था र मृत्यु हुनेको संख्या बढ्दै गएको पृष्ठभूमिमा आएको छ।

इन्टरनेसनल क्राइसिस समूहका विश्लेषक रिचार्ड गोवन भने, ‘यो भाषाको केही अंश अलिक अर्थहीन छ।’

उनले भने, ‘परिषद्का अन्य सदस्यहरूले सम्झौताका लागि कमजोर प्रस्ताव ल्याइएको बताएका छन्। सम्झौता भनेको आफैँमा दुई पक्षको मिलनविन्दु हो। यसमा बढी चिन्ता गर्नु त बेकार छ, तर सम्झौताले प्रभावित समूहको चासोलाई कुनै कुनाबाट सम्बोधन गर्नुपर्छ।’

उनले विशेषगरी भिटो प्रयोग गर्ने रूसले युद्धविराम आवश्यक छ भन्ने उनीहरूको लामो समयदेखिको तर्कविपरीत मस्यौदालाई समर्थन गर्न सक्छन् कि सक्दैनन् भन्ने निर्णय गर्नुपर्ने बताए।  

एएफपीले प्राप्त गरेको प्रस्तावित मस्यौदा पत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले प्रस्तावलाई प्रायोजन गरिरहेको छ र सम्झौता सुरक्षित गर्न धेरै प्रमुख क्षेत्रहरूमा संशोधन गरिएको छ।

यसले सबै पक्षहरूलाई मानवीय सहायताको प्रावधानको लागि सम्पूर्ण गाजापट्टी र सीमा पारसहितका सीमा क्षेत्रका मार्गहरू खोल्न अनुमति दिन र सबैको प्रयोगलाई सहजीकरण गर्न माग गर्दछ।

इजरायलले बिहीबार नयाँ खोलिएको सहायता नाकामा बमबारी गरेको हमासका अधिकारीहरूले बताएका छन्। थोमस–ग्रिनफिल्डले भने, ‘हरेक दिन हामी जमिनमा मानवीय सहायता बढाउनेतर्फ काम गरिरहेका छौँ।’ 

१५ सदस्यीय परिषद्का सदस्यहरूले युद्धको सुरुवातदेखि नै यस संस्थाले कुनै कदम नचालेको भन्दै आलोचना भइरहेका वेला प्रस्तावको साझा आधार खोज्न केही दिनदेखि संघर्ष गरिरहेका छन्।

आफ्नो सहयोगी संयुक्त राज्य अमेरिकासहित इजरायलले ‘युद्धविराम’ शब्दको विरोध गरेको छ र वासिङ्टनले अन्य सदस्यहरूको बहुमतद्वारा समर्थित प्रस्तावहरू असफल पार्न दुईपटक आफ्नो भिटो प्रयोग गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा युद्धविराम नहुने प्रतिक्रिया दिए। 

संयुक्त राष्ट्रसंघको खाद्यान्न अभाव अनुगमन कार्यक्रमले ‘युद्धग्रस्त गाजाका प्रत्येक व्यक्तिले आगामी ६ हप्तामा उच्च स्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्नुपर्ने’ चेतावनी दिएपछि कूटनीतिक छलफल जारी भएको हो।

हमासले अक्टोबर ७ मा इजरायलमा प्रवेश गरी करिब एक हजार एक सय ४० जनाको हत्या गरेको थियो भने करिब दुई सय ५० जनालाई बन्धक बनाएको इजरायली तथ्यांकमा आधारित एएफपीले जनाएको छ।

त्यपछि इजरायलले निरन्तर हवाई र जमिनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ। गाजापट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र ६ हजार दुई सय महिला छन्।

ad
ad