- युक्रेनमा दुई र हमासको कब्जामा एक नेपाली बन्दी
- सबै कूटनीतिक च्यानलबाट रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले युक्रेनमा दुई नेपाली बन्दी अवस्थामा रहेको पुष्टि गर्दै उनीहरूको रिहाइका लागि कूटनीतिक प्रयास सुरु गरिएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा बोलाइएका परराष्ट्रमन्त्री साउदले रुसमा मारिएका ६ नेपालीको शव ल्याउन तथा उनीहरूको परिवारलाई क्षतिपूर्ति दिलाउन पनि रुस सरकारसँग प्रयास भइरहेको जानकारी दिए ।
‘रुसको सेनामा नेपालीलाई भर्तीका लागि पठाउने सरकारको नीति छैन, रुस सरकारसँग हाम्रा राजदूतले संवाद गरिरहेका छन्,’ परराष्ट्रमन्त्री साउदले भने, ‘त्यहाँ मारिएका ६ जना नेपालीको शव फिर्ता र परिवारलाई क्षतिपूर्तिका लागि प्रयास जारी राखेका छौँ । सेनामा भर्ना भएकालाई पनि फिर्ता गराउन रुस सरकारसँग अनुरोध गरेका छौँ ।’ केही विद्यार्थी, केही भिजिट, केही वर्किङ भिसामा नेपाली नागरिक रुस गएको जानकारी प्राप्त भएको पनि उनले बताए ।
युक्रेनमा दुईजना युद्धबन्दी भएको जानकारी आएकोमा दिल्लीस्थित युक्रेनको राजदूतावासले एकजनाको पुष्टि गरेको परराष्ट्रमन्त्रीले जानकारी दिए । ‘दिल्ली दूतावासबाट युक्रेन दूतावाससँग पत्राचार भएको छ । जर्मनीको बर्लिन दूतावासमार्फत युक्रेनसँग कूटनीतिक पहल भइरहेको छ,’ साउदले भने । युक्रेनमा विवेक खत्री र सिद्धार्थ ढकाल युक्रेनी सैनिक हिरासतमा छन् । उनीहरू रुसी सेनामा भर्ना भएर लडाइँमा जाने क्रममा युक्रेनी सैनिकको नियन्त्रणमा पुगेको भन्दै रिहाइको पहल गर्न परिवारजनले आग्रह गर्दै आएका छन् ।
विपिन जोशीलाई पनि रिहाइको पहल
परराष्ट्रमन्त्री एनपी साउदले २० असोजमा इजरायलबाट हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पनि प्रयास भइरहेको जानकारी दिए । ‘भोलि बिहान दोहा फोरममा भाग लिन कतार जाँदै छु,’ साउदले भने, ‘हमाससँग सहजीकरण गरिरहेका कतारका मन्त्रीसँग कुरा राख्नेछु । सरकारले आफ्नोतर्फबाट सबै पहल गरिरहेको छ ।’
परराष्ट्रमन्त्री साउदले इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिका विषयमा हेर्ने संयोजक गल हर्चसँग शुक्रबार टेलिफोनमा कुराकानी गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने प्रयासकै निरन्तरतास्वरूप टेलिफोन संवाद गरेको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन आग्रह गरे । उनको सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिने प्रयासका लागि पनि परराष्ट्रमन्त्रीले आग्रह गरे । इजरायलसँग नेपालको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्री साउदले बताएका थिए ।
संयोजक हर्चले जोशीलाई इजरायलले पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिएका छन् । यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । दोहा फोरममा सहभागी हुन जाने क्रममा पनि जोशीले सम्बद्ध अधिकारीसँग कुराकानी गर्ने संसदीय समितिलाई जानकारी दिएका छन् ।
मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले ७ मंसिरमा इजरायलका राजदूत हनान गोडरलाई जोशीको रिहाइबारे छलफल गरेका थिए ।
‘परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनु हुनेछ,’ परराष्ट्रमन्त्रीको सचिवालयले प्रोस नोटमा भनेको छ । दोहा २१औँ फोरममा सहभागी हुन उनी शनिबार कतार जाँदै छन् ।
यसैबीच, परराष्ट्रमन्त्री साउदले नेपालीले लामो समयदेखि गर्दै आएको माग, स्पेनबाट कन्सुलर सेवा पु¥याउन नसक्ने अवस्थालगायत कारण पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय भएको बताए । ‘त्यस सन्दर्भमा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि खोल्ने निर्णय भएको हो । दूतावासहरू खोल्ने, बन्द गर्ने सरकारको नियमित प्रक्रिया हो,’ साउदले भने । परराष्ट्र मन्त्रालयमा जम्मा दुई सय ८३ दरबन्दी रहेको र यसले सबै कूटनीतिक मिसनसमेत हेर्नुपर्ने अवस्थामा कामको बोझ बढेको परराष्ट्रमन्त्रीले बताए ।
‘हाम्रो समग्र मूल्यांकन गर्न ओएनएम सर्भेका लागि समिति बनेको छ । प्रतिवेदन आइसकेपछि कहाँ–कहाँ दूतावास राख्नुपर्ने, सन्तुलन कायम गर्ने गरी अघि बढ्छौँ,’ परराष्ट्रमन्त्रीले भने । सांसदहरू महेशकुमार बर्तौला, रमेशजंग रायमाझी, प्रकाश अधिकारी, जीवन परियार, ईश्वरीदेवी न्यौपाने, जगप्रसाद शर्मा, ईश्वरी जिएमले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारी निर्णयको स्वागत गरेका थिए । पोर्चुगलमा करिब ६० हजार नेपाली रहेको परराष्ट्रले जनाएको छ ।