नेपालका लागि बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको अधिकृत वितरक साइमेक्स इन्कले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितलाई सहायता पुर्याउन ग्राहकसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ । कम्पनीले प्रत्येक बिवाइडी गाडी बिक्री हुँदा सहायता कोषमा रकम जम्मा गर्ने भएको हो ।
जसअनुसार हरेक बिवाइडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बिवाइडी एट्टो थ्री बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । यो योजना मंसिर २३ गतेसम्म लागू हुने उल्लेख छ । बुकिङबाट जम्मा भएको रकमले भूकम्पपीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकको नाम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने बताए ।
यसअघि कम्पनीले भूकम्पपीडितको सहयोगका लागी सानीभेरी गाउपालिकाका भूकम्प प्रभावितका लागि ११ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेको उल्लेख छ । अध्यक्ष श्रेष्ठले भने, ‘यो कठिन समयमा हामी जाजरकोट र पश्चिम रुकुमका समुदायको साथमा छौँ ।’