मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २१ मंगलबार o८:४६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको कर अनुगमन : बहाल करमा अधिकांशको झुटो विवरण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार o८:४६:oo

काठमाडौं महानगरले सबै करदातालाई करको दायरामा ल्याउन अनुगमन सुरु गरेको छ । वडा नम्बर १३ बाट सुरु भएको अभियान तिहारअघि वडा नम्बर ३० को पनि अनुगमन सक्ने योजना छ । महानगरले सम्पत्ति, बहाल र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदाताहरूमध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्न प्रोत्साहन गर्न र दायरामा नआएका करदाताहरूको विवरण संकलन गर्न स्थलगत अनुगमन थालेको हो । ‘यो अनुगमनसँगै सचेतना कार्यक्रम हो । पुस मसान्तभित्र कर तिर्न आउने करदातालाई भारी छुट दिन, करको दायरा बढाउन र महानगरवासीलाई करको दायरामा ल्याउन अनुगमन सुरु भएको हो ।

अनुगमन ३२ वटै वडामा हुनेछ । तिहारअघि दुई वडामा अनुगमन हुनेछ,’ महानगरअन्तर्गत राजस्व विभाग प्रमुख धु्रव काफ्लेले भने । प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयबाट राजस्व विभागले ३ भदौमा सबै वडालाई पत्र पठाउँदै अनुगमन टोलीसम्बन्धी व्यवस्था, टोलीले गर्नुपर्ने कामका विषयमा जानकारी गराएको थियो । सोहीबमोजिम वडाहरूले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेका छन् । टोलीमा कर्मचारी एक र स्थानीय एकजना सदस्य छन् । 

 बहाल करमा झुटो विवरण 
महानगरको टोलीले पहिलो दिन आइतबार वडा नम्बर १३ को ताहाचल क्षेत्रमा अनुगमन गरेको छ । सो क्रममा अधिकांश करदाताले बहाल करमा झुटो विवरण पेस गरेको फेला पारेको छ । त्यस क्षेत्रमा गोदाम धेरै छन् । अधिकांश गोदाम दर्ता भएका छैनन् । ‘साततले घरले सात हजार बहाल सम्झौता देखाएका छन् । जबकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा प्रयोग भएको छ । त्यसमाथिका तला पनि बहालमा लगाइएको छ । एउटै तलामा सातवटाभन्दा धेरै कोठा छन् । हरेक कोठाको सात हजारभन्दा धेरै बहाल उठाउने गरेको छ,’ वडा सदस्य रामबाबु कोइरालाले भने ।

वडा १३ अन्तर्गत कालीमाटी, रविभवन, सोल्टीमोड, कलंकी, ताहाचल, कुलेश्वरलगायत पर्छन् । वडाले अनुगमनका लागि टोली गठन गरेर क्षेत्र छुट्याएको छ । मैया देउलाको संयोजकत्वमा रहेको टोलीमा नग्मा महर्जन र अमृत थापा क्षेत्री सदस्य छन् । यस्तै, रजनी महर्जनको संयोजकत्वमा रहेको टोलीमा रोमिन रञ्जित र शशिकर थापा सदस्य छन् । रूपेश महर्जनको संयोजकत्वमा गठित समितिमा सुजनकुमार झा र मिलन महर्जन सदस्य छन् ।

उनीहरूलाई पुस मसान्तसम्म प्रत्येक दिन चार घन्टा अनुगमन गर्ने गरी जिम्मेवारी दिएको छ । राजस्व ऐन, ०७५ र महानगरपालिकाले जारी गरेका आर्थिक ऐन, १ जेठमा बसेको कार्यपालिकाको निर्णय र राजस्व विभागले विभिन्न मितिमा गरेका परिपत्रमा अनुगमन टोलीको जिम्मेवारी, दायित्व र सीमा उल्लेख छ । टोलीले सचेतनाका साथै कर तिर्न वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण संकलन गर्नेछ । संकलित विवरण कम्प्युटरमा भरेर तथ्यांक तयार पार्नेछ । 

 बहाल कर महानगरको मुख्य आयस्रोत बन्दै 
महानगरपालिकाका लागि बहाल कर नै मुख्य आयस्रोत बनेको छ । महानगरले चालू आर्थिक वर्षको असोज महिनामा मात्र २१ करोड ६८ लाख रुपैयाँ बहाल करबापत संकलन गरेको छ । महानगरले आव ०७९/८० मा दुई अर्ब ५६ करोड २१ करोड रुपैयाँ बहाल करमार्फत संकलन गरेको थियो । जुन आव ०७८/७९ भन्दा करिब ५३ करोड रुपैयाँ धेरै हो । महानगरले आव ०७८/७९ मा दुई अर्ब तीन करोड ६४ लाख रुपैयाँ बहाल करबापत राजस्व संकलन गरेको थियो ।

महानगरले महानगरवासीलाई करको दायरामा ल्याउन काठमाडौं महानगरपालिका घर बहाल निर्देशिका, ०७९ जारीसमेत गरेको छ । निर्देशिकाअनुसार बहाल कर तिर्न अटेर गर्ने करदातालाई कर अधिकृतले तीनपटकसम्म मौखिक तथा लिखित अनुरोध गर्दासमेत कर नतिरेमा त्यस्ता करदाताको सेवा रोक्का गर्ने, करदाताको व्यवसाय बन्द गर्ने, व्यवसाय प्रमाणपत्र रद्द गर्ने, सम्पत्ति रोक्का गर्ने र बैंक खाता बन्द गर्ने कार्य गरी असुलउपर गर्न बाँकी रकम महानगरले सरकारी बाँकी सहर असुलउपर गर्नेछ । तोकिएको अवधिमा बहाल कर दाखिला नगरेमा आर्थिक ऐनबमोजिम जरिवानासहित कर असुल गर्ने व्यवस्थासमेत निर्देशिकामा उल्लेख छ ।