१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गणेश लम्साल विराटनगर
२०८० कार्तिक २० सोमबार १३:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल टेलिकम सुरुंगा शाखाका लेखा अधिकृत सुवेदी तीन महिनादेखि बेपत्ता

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० कार्तिक २० सोमबार १३:२१:००

तीन महिनादेखि बेपत्ता झापाको कन्काई नगरपालिकाको सुरुंगास्थित नेपाल टेलिकम शाखाका लेखा अधिकृत दिलीप सुवेदीको सरकारी निकायले खोजी नगरिदिएको परिवारले गुनासो गरेका छन्।

विराटनगर– ४ राजवंशीचाेक  घर भई टेलिकमको सुरुंगा शाखामा कार्यरत ३१ वर्षीय अधिकृत सुवेदी ३० भदौ बिहानदेखि आफ्नै क्वार्टरबाट बेपत्ता भएका थिए। सरकारले खोजी नगरिदिँदा हालसम्म कुनै पत्ता नलागेको परिवारको गुनासो छ।

सरकारी सेवामा  रहेका छोरा दिलीप एकाबिहानै सरकारी क्वार्टरबाटै तीन महिनादेखि बेपत्ता हुँदासम्म सरकारी निकायले खोजी गरिदिन चासो नदिएको बुबा नेत्रप्रसादले बताए। उनले भक्कानिँदै भने, ‘सरकारी जागिरमा रहेको छोरो सरकारी कार्यालयबाटै हरायो, खोजी गरिदिन हामीले सबैतिर हुलियासहित हारगुहार गर्‍याैँ, तर अहिलेसम्म कतै–कसैबाट चासो भएन।’

नेत्रप्रसादका अनुसार सुरुंगा टेलिकम शाखाका निमित्त कार्यालय प्रमुखसमेत रहेका दिलीपले ३० भदौ बिहान कार्यालयका सुरक्षागार्डसँगै मर्निङवाक गर्ने क्रममा चिया पिएका थिए। त्यसपछि उनी आफ्नो क्वार्टर फर्केर बिहान साढे ७ बजेसम्म विराटनगरमा रहेकी श्रीमती ब्रजुनालाई २७ मिनेट भिडियो कल गरेका थिए। त्यसपछि फ्रेस हुन भनेर अफ भएका उनी साँझसम्म परिवारको सम्पर्कमा आएनन्। परिवारले खोजी गर्ने क्रममा उनले लगाउने चस्मा, ज्याकेट, बेल्ट, जुत्तालगायत उनकै बन्द कोठामा पाइएको थियो। तर, उनी भने बेपत्ता थिए।

अचानक बेपत्ता भएका निमित्त कार्यालय प्रमुख सुवेदीकी पत्नी ब्रजुनाले आफूसँग पतिले गफ गरेको मोबाइल आजसम्म अफ भएकाले पनि घटना रहस्यमय भएको भन्दै सरकारले खोजी गरिदिनुपर्ने बताइन्। उनले भनिन्, ‘सरकारी कार्यालयबाटै मेरा पति बेपत्ता हुनुभएको छ। यसैले सरकारले जसरी पनि खोजी गरिदिनुपर्छ।’

आफन्तका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुरुंगामा हुलियासहित जाहेरी दिए पनि उनी फेला परेका छैनन्। सरकारी कर्मचारी रहेका दिलीप रहस्यमय रूपले एकाबिहानै एकसरो लुगा र चप्पल लगाएकै अवस्थामा बेपत्ता भएकाले सरकारी निकायले घटनाको वास्तविकता पत्ता लगाइदिनुपर्ने उनीहरूको माग छ।