१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

सुरुंगामा छोरी र विद्यालय कर्मचारीको निःशुल्क स्वास्थ्य बिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:२२:oo

सप्तरीको सुरुंगा नगरपालिकाले नगर क्षेत्रका छोरीहरूका लागि छोरी बिमा र विद्यालयका कर्मचारीहरूको निःशुल्क बिमा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने भएको छ।

सुरुंगा– १ पिप्रा पश्चिमस्थित स्वास्थ्य चौकीको सभाकक्षमा शनिबार आयोजित १२औँ नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख गीता चौधरीले लैंगिक विभेदको अन्त्य गर्न तथा विद्यालय कर्मचारीको मनोबल उच्च राख्न छोरी र विद्यालय कर्मचारीको निःशुल्क बिमा कार्यक्रमलाई निरन्तरता दिइएको बताइन्।

नगरको समृद्धि र विकासका लागि निःशुल्क बिमासहित अन्य कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधि, नगरवासीहरूको हातेमालो र सहकार्य बढ्नुपर्नेमा नगरप्रमुख चौधरीको जोड थियो।

प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइराला, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरूको सहभागिता रहेको नगरसभामा नगर उपप्रमुख रुद्रबहादुर कार्कीले चालू आर्थिक वर्षको समीक्षात्मक विवरण प्रस्तुत गर्दै गत असारमा सम्पन्न ११औँ नगरसभाबाट स्वीकृत नीति, योजना तथा कार्यक्रमअन्तर्गतका कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिए।

स्वयंसेवक शिक्षक, टोलटोलमा ट्युसन कक्षा
उपप्रमुख कार्कीले सुरुंगा नगरपालिकाको शिक्षा नियमावली २०७९ को आधारमा नगरको शैक्षिक विकासमा उल्लेख्य सुधार भएको दाबी गर्दै शिक्षाको गुणस्तरका लागि स्वयंसेवक शिक्षक परिचालनसँगै विद्यालय तथा टोलमा ट्युसन कक्षाको व्यवस्था गरिएको बताए।

‘त्यसले विद्यालयको नियमिततासँगै विद्यार्थीको सिकाइ उपलब्धि बढेको छ,’ उनले भने, ‘विद्यालयमा खेलकुद तथा कम्प्युटर शिक्षाको व्यवस्थाले विद्यार्थीहरू अनुशासित र सूचना प्रविधिमैत्री वातावरणमा पढ्न थालेका छन्।’

चालू आवमै नगरलाई साक्षर घोषित गरिएको जानकारी दिँदै उनले संघीय सरकारको ससर्त अनुदानतर्फका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबालिकातर्फका योजनामध्ये केही सम्पन्नसमेत भइसकेको उल्लेख गरे। सामाजिक सुरक्षा-भत्ताअन्तर्गत पहिलो र दोस्रो किस्ताको रकम इएफटीमार्फत सीधै लाभग्राहीको खातामा पठाइनुका साथै मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषित भएकाले शून्य सहनशीलताको नीतिअनुरूप कार्यान्वयन भइरहेको बताए।

सबै स्वास्थ्य संस्थाहरूमा कम्प्युटर प्रिन्ट तथा अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरी अनलाइन रिपोर्टिङ प्रणाली लागू गरिएको विवरणमा उल्लेख छ।

चालूतर्फ ४३ प्रतिशत र पुँजीगतको १४ प्रतिशत खर्च 
चालू आवको लागि नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने कार्यक्रमहरूका लागि चालू र पुँजी खर्च तथा वित्तीय व्यवस्थाको रकमसमेत गरी ६८ करोड २२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको कार्कीले बताए। 

‘१२औँ नगरसभासम्म चालूतर्फ १५ करोड २० लाख (४३ प्रतिशत), पुँजीगततर्फ तीन करोड (१४ प्रतिशत) गरी १८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘चाडपर्वलगायतका कारणले २८ प्रतिशत खर्चको अनुपात अपेक्षाअनुसार होइन। तर, चालू आवको बाँकी अवधिमा स्वीकृत नीति तथा कार्यक्रमले पूर्णता पाउनेछ।’

ad
ad