१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ५ शनिबार १४:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:२८:oo

एसियाली विकास बैंक (एडिबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ।

एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलिसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्। 

अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगन्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए।

अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताएकाे भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए। ‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा म जानकार छु। थप सहयोगका लागि एडिबी तत्पर छ,’ मासात्सुगुको भनाइ उद्धृत गर्दै उनले भने।

भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकासमा पुर्‍याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गरे। अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि उनले दिए। जवाफमा अध्यक्ष मासात्सुगुले एडिबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए।

सचिव मरासिनीले एडिबी उपाध्यक्ष एंगमिङ याङसँग पनि भेट गरेका छन्। त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रम समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए।

सहसचिव नेपालका अनुसार सहुलियतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको छ। उपाध्यक्ष याङले जारी कन्ट्री साझेदारी फ्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागिसमेत यो नमुना हुन सक्ने बताएका थिए।

ad
ad