.2022-04-07-06-28-52.jpeg)
नयाँ व्यवस्थाहरू
- असल कर्जाको प्रोभिजनिङ ०.०५% विन्दु र हायर पर्चेज सवारी कर्जाको जोखिमभार पनि २५% विन्दुले घटाइने
- बैंंकहरूलाई सेयर खरिद–बिक्रीमा प्रोत्साहन
- स्थानीय निक्षेप सुविधालाई थप लचिलो बनाइने
- चाँदी आयातको कोटा बढाइने, डलर सटहीको सीमा वृद्धि
- पुँजीकोष सुदृढ बनाउन अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याइने, बैंकहरूको पुँजीकोष व्यवस्थापनमा सहज हुने
- घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने
आर्थिक शिथिलताबाट प्रभावित बैंकिङ क्षेत्रलाई राहत हुने गरी नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै सुस्त बनेको कर्जा लगानी बढाउन खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार घटाउनेदेखि घरजग्गा खरिदमा प्रवाह हुने ऋणमा समेत खुकुलो नीति लिएको हो ।
सुस्ताएको कर्जाको माग बढाउने र आर्थिक शिथिलताबाट प्रभावित बैंकहरूलाई राहत हुने गरी मौद्रिक नीतिको समीक्षा गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । पछिल्लो समय बैंकहरूको खुद नाफा घट्नुका साथै बढ्दो निष्क्रिय कर्जा अनुपातका कारण बैंकहरूको वितरणयोग्य नाफामा समेत असर परेको छ । बैंकमा निक्षेप थुप्रिने, तर कर्जा प्रवाह नबढ्दा आम्दानी खुम्चिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्–
आर्थिक र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्ने गरी मौद्रिक नीतिको समीक्षा गरिएको छ । यसले आर्थिक क्रियाकलाप बढाउन सहयोग पुग्ने अपेक्षा छ । यसको नतिजा केही समयमा देखिनेछ ।
मौद्रिक नीति समीक्षामार्फत असल वर्गको कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी (प्रोभिजनिङ) १.२५ प्रतिशतबाट झारेर १.२० प्रतिशतमा कायम गर्ने नीति लिइएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूमा असल कर्जा ४७ खर्ब रुपैयाँ हाराहारी छ । त्यसमा १.२५ प्रतिशतबाट १.२ प्रतिशतको दरमा प्रोभिजनिङ कायम गर्दा दुई अर्ब ३० करोड रुपैयाँ राइटब्याक हुने (कर्जा नोक्सानी घट्ने) नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
यस्तै, हायर पर्चेज प्रकृतिको सवारी कर्जामा राख्नुपर्ने जोखिमभार पनि १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिने भएको छ । जोखिमभार २५ प्रतिशत विन्दुले कम हुँदा सवारीसाधनमा प्रवाह हुने कर्जा बढ्ने अपेक्षा गरिएको छ । असल कर्जाको प्रोभिजनिङ दर र सवारी कर्जाको जोखिमभार घटाउँदा बैंकको नाफामा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।
मौद्रिक नीतिको समीक्षामार्फत बैंकहरूलाई सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । बैंकहरूको एक वर्ष व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने व्यवस्था ल्याइने भएको हो ।
मौद्रिक समीक्षामार्फत घरजग्गा कर्जाको माग बढाउने नीति लिइएको छ । राष्ट्र बैंकले घरजग्गा खरिद गर्ने कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउने भएको छ । यसले घरजग्गा किन्ने व्यक्तिगत ऋणलाई सहजता प्रदान गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा (एसडिएफ)सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने नीति पनि राष्ट्र बैंकले ल्याएको छ । राष्ट्र बैंकले फागुन १ गतेबाट एसडिएफ कार्यान्वयनमा ल्याएको थियो । त्यसलाई अझै प्रभावकारी बनाउने गरी आवश्यक पुनरावलोकन गर्न लागिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘यसलाई अझ प्रभावकारी बनाउन केही सर्तहरू हटाउने योजनामा छौँ,’ उनले भने, ‘हप्तामा कति दिन यस्तो सुविधा दिने भन्ने विषयमा पनि पुनर्विचार गर्दै छौँ ।’ अहिले राष्ट्र बैंकले हप्तामा दुई दिन (आइतबार र बुधबार) यस्तो सुविधा दिँदै आएको छ ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाले समग्रमा घरजग्गासम्बन्धी कर्जा, सेयर बजार, हायर पर्चेज सवारी कर्जा र बैंंकहरूलाई राहत हुने गरी मौद्रिक नीतिको समीक्षा भएको बताउँछन् । यद्यपि, वित्तीय क्षेत्र र अर्थतन्त्रमा देखिएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी सम्बोधन नभएको उनको भनाइ छ । ‘घरजग्गा र हायर प्रर्चेज कर्जालाई प्रोत्साहन गरिएको छ । बैंकहरूलाई सेयर बजारमा लगानी प्रोत्साहन गर्दा सेयर बजारमा पनि राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर, वर्तमान आर्थिक शिथिलतालाई चलायमान बनाउने खालको मौद्रिक नीति समीक्षा आएको देखिएन ।’
चाँदी आयातमा सहजीकरण गरिने
राष्ट्र बैंकले चाँदी आयात पनि सहजीकरण गर्ने नीति ल्याउने बताएको छ । चाँदी आयात गर्दा दिइने विदेशी मुद्रा सटही र प्रतीतपत्र (एलसी)को सीमा बढाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी घिमिरेले बताए । उनले भने, ‘अहिले नेपाली हस्तकला क्षेत्रमा चाँदीको अभाव भइरहेको जानकारीमा छ । यसमा सहजीकरण गर्ने नीति ल्याउँदै छौँ ।’ यसैगरी, बैंकहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याइने पनि मौद्रिक नीतिमा उल्लेख छ । यो नीतिले बैंकहरूलाई व्यवसाय वृद्धि गर्न पुँजीकोष व्यवस्थापन सहज हुने नबिल बैंकका नायब सिइओ मनोज ज्ञवालीले बताए ।