Skip This
‘कोलम्बो सागमा जुरीको सिकार भएँ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Friday, 26 July, 2024
२o८१ जेठ ५ शनिबार १o:२o:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘कोलम्बो सागमा जुरीको सिकार भएँ’

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२o:oo

सन् २००६ को श्रीलंकामा भएको १०औँ दक्षिण एसियाली खेलकुद (साग)मा दीपक विष्ट, संगिना वैद्य र दीपक श्रेष्ठले लगातार तेस्रो स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरेका थिए । यसमा विष्ट मात्र सफल भए । वैद्य र श्रेष्ठ भने पहिलो चरणबाटै बाहिरिए । श्रेष्ठले पहिलो चरणमा श्रीलंकाली खेलाडीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । श्रीलंकाली खेलाडीले सामान्य मुक्का प्रहार गर्दा पनि अंक पाउँथे । तर, श्रेष्ठले जति राम्रो प्रहार गरे पनि जुरी सदस्यले अंक दिँदैनथे । खेल सकिन १० सेकेन्डअगाडि उनले रिङमै विद्रोह गरे । तर, नेपाली टोलीका सदस्यकै असहयोगका कारण ‘प्रोटेस्ट’ राखिएन र श्रीलंकाली खेलाडी विजयी भए । उनले उनै विपक्षी खेलाडीलाई आठौँ र नवौँ साफ खेलमा स्वर्ण जित्ने क्रममा नमज्जाले हराएका थिए । १०औँ सागमा जुरी सदस्यहरूको बदमासी र आफ्नै टोलीबाट असहयोग हुँदा तेस्रोपटक स्वर्ण जित्न वञ्चित भएको उनको निष्कर्ष छ । यस दिनलाई उनले करिअरकै कालो दिनका रूपमा लिन्छन् । ‘नियोजित’ रूपमा हराइएको खेलको स्मरण उनै दीपक श्रेष्ठले नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायसँग यसरी सुनाए । 

१०औँ कोलम्बो साग नेपाली खेलकुदको नजरमा ऐतिहासिक थियो । तीन नेपाली खेलाडीले कोलम्बोमा स्वर्णमाथि ह्याट्रिक अभियानसाथ निस्किएका थिए । १२ वर्षअघि तेक्वान्दोका दीपक विष्ट, संगिना वैद्य तथा कराँतेका दीपक श्रेष्ठले कोलम्बोमा स्वर्णमाथि ह्याट्रिक लगाउने दाउसाथ प्रतिस्पर्धा गरेका थिए । तर, दुर्भाग्यवश कीर्तिमान केवल तेक्वान्दोका दीपकले मात्र रचे । संगिना र दीपक श्रेष्ठ भने पहिलो चरणबाटै अप्रत्याशित रूपमा बाहिरिँदा जीवनकै सुन्दर सपना साकार पार्न सकेनन् । 

कोलम्बोमा आयोजना भएको १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको नाम (साफ) थियो । सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको साफले आगामी संस्करणको नाममा साग राख्यो । अफगानिस्तानसमेत दक्षिण एसियाली खेलकुदमा सहभागी हुने भएपछि साग नामकरण भएको हो । मैले आठौँ र नवौँ साफमा दुई स्वर्ण जितेको थिएँ । सन् २००६ मा श्रीलंकाले सागको आयोजना गर्‍यो । कोलम्बो सहरमा भएको प्रतियोगितामा मलगायत दीपक विष्ट र संगिना वैद्यलाई इतिहास रच्ने सुनौलो अवसर थियो । हामी तीनजना खेलाडी नै एकैपटक लगातार सागमा तीन स्वर्ण जित्न रेकर्ड राख्ने संघारमा थियौँ ।

यसअघि म्याराथनका वैकुण्ठ मानन्धर दाइले लगातार तीन साफमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँको रेकर्ड बराबरी गर्ने उद्देश्यका साथ प्रशिक्षण भएको थियो । तर, कोलम्बोमा सोचेजस्तो नतिजा आएन । संगिना पनि कांस्य पदकमै सीमित भइन् । तेक्वान्दोका दीपकले मात्र तेहरो स्वर्ण जिते । मेरो स्पर्धा सुरु हुनुअघि नै आयोजकले धेरैभन्दा धेरै स्वर्ण जित्ने चलखेल सुरु गरिसकेको थियो । मेरो इभेन्ट्सको अघिल्लो दिन संगिनाको खेल थियो । 

त्यो समयमा संगिना उत्कृष्ट फर्ममा थिइन् । तर, कसैले नसोचेको नतिजाअनुरूप संगिना भुटानी खेलाडीसँग पहिलो चरणमै पराजित भइन् । खेलस्थलमा सबैले एक–आपसमा कुराकानी गर्न थाले । कोलम्बोमा के भइरहेको छ ? स्वर्ण पदकको प्रमुख दाबेदार खेलाडी नै पहिलो चरणबाटै बाहिरियो नि । त्यो सुन्दा मेरो दिमागले काम गर्न छाड्यो । एक किसिमले म झस्किसकेको थिएँ । ‘यो के भएको ? आफूमाथि नै प्रश्न गरेँ । यद्यपि, संगिना र भुटानी खेलाडीबीचको खेल १९–२० को थियो । 

श्रीलंकाली खेलाडीसँग भिड्नुनपरोस् भनेर कामना
संयोग कस्तो छ भने मैले आठौँ र नवौँ साफमा श्रीलंकाली खेलाडीलाई नै हराउँदै स्वर्ण जितेको थिएँ । टाइसिट ड्र हुँदा घरेलु खेलाडी श्रीलंकालाई नै पाएँ । कोलम्बोको माहोलअनुसार मैले पहिलो चरणमै श्रीलंकाली खेलाडीसँग भिड्न नपाए हुन्थ्यो भन्ने कामना गरेको थिएँ । अक्सर खेलमा आयोजक राष्ट्रका खेलाडीलाई फाइदा हुन्छ । श्रीलंकाली खेलाडीले होम एड्भान्टेज लिन सक्ने अनुमान लगाएको थिएँ । तर, जोसँग प्रतिस्पर्धा गर्न नचाहेको थिएँ, उसैसँग भिड्नुपर्‍यो । तर, मैले उसका अघिल्ला खेलका रेकर्ड राम्रोसँग निकालेको थिएँ । उसको स्किल हेर्दा सहजै हराउन सक्ने महसुस भएको थियो । धेरैपटक उसले अभ्यास गरेको खेल भिडियोमा हेरेँ । सबै कमजोरी थाहा पाइसकेको थिएँ । यस कारणले पनि आरामदायी रूपले दोस्रो चरण पुग्ने हिम्मत जागेको थियो । वास्तवमा ती खेलाडी औसत मात्र थिए । रिङमा पाइला टेक्दासम्म र विपक्षीविरुद्ध प्रतिस्पर्धा गर्नुअघिसम्म म पराजित पनि पहिलो चरणबाटै बाहिरिन्छु भन्ने कसैले कल्पना नै गरेनन् । तर, खेलको अन्तिम नतिजा उल्टो आयो । 

घरेलु खेलाडीलाई जिताउने चलखेल
खेल सुरु भएदेखि रिङमा मैले फरक अनुभव गरेँ । श्रीलंकाली खेलाडीमाथि जति प्रहार गरे पनि जुरीमा बसेका रेफ्रीहरूले अंक नै दिएनन् । यसविपरीत श्रीलंकाली खेलाडीको हल्का प्रहारमा पनि रेफ्रीले अंक दिन्थे । अंक प्राप्त गर्न मैले यति कोसिस गरेँ कि सम्भवतः यसभन्दा अगाडिका खेलाडीले यसरी प्रहार गरेका थिएनन् । हामीलाई थाहा छ कि कुन शरीरको कुन भागमा प्रहार गर्दा तीन अंक आउँछ । स्पष्ट तीन अंक आउने गरी मुक्का र किक प्रहार गर्दा पनि जुरीहरूले मलाई शून्य अंक दिन्थे । यसविपरीत विपक्षी खेलाडीले हल्काफुल्का काउन्टर प्रहार गर्दा स्कोर बोर्डमा अंकमाथि अंक चढिरहेको देखेँ । त्यही वेला थाहा भयो कि यहाँ उपस्थित सबै जुरी अफिसियल श्रीलंकाली खेलाडीलाई जिताउन चलखेल गरिरहेका छन् । एक किसिमले सबै जुरीका अफिसियलहरू मलाई हराउने पक्षमा थिए । यति निश्चित भइसकेको थियो, आजको खेलमा म रेफ्रीको सिकार हुने भएँ । यद्यपि, सक्दो अंक बटुल्ने कोसिस जारी नै राखँे । मैले कराँते सिक्दादेखिको भयभरको दिमाग र टेक्निक अपनाएँ । तर, अंक भने आउँदै आएन । करिअरमा पहिलोपटक मैले एक सामान्य खेलाडीविरुद्ध फाइनलमा लगाउने सबै रणनीति अपनाएको थिएँ । तर, अफिसियल नै विपक्षी खेलाडीको पक्षमा रहँदा अर्काे पक्षमा उभिएका खेलाडी जतिसुकै उत्कृष्ट भए पनि केही सीप लाग्दैन रहेछ । यतिसम्म जुरी मेम्बरहरूले बदमासी गरेको देखेँ, अंक बराबर हुँदासमेत श्रीलंकाली खेलाडीको अंक ह्वात्तै बढाउँथे । 

खेल सकिन १० सेकेन्डअघि विद्रोह गरेँ
अब जति गरे पनि नजित्ने भएपछि खेल सकिन १० सेकेन्डअगाडि रिङमै विरोध गरेँ । जुरीका सबै सदस्यले घरेलु खेलाडीलाई नै जिताउने उद्देश्य राख्दा म किन बाँकी १० सेकेन्ड खेल्ने भन्दै रिङमै विरोधमा उत्रिएँ । मेरो यस हर्कतले हलमा ठूलै हलचल मच्चियो । त्यसवेला मसँग त्योबाहेक अरू विकल्प नै रहेन । यो निर्णयपछि मेरो करिअर समाप्त हुन्छ । लगभग करिअर दाउमा राखी निर्णय लिएँ । तत्कालै टिम म्यानेजर आनन्दु लामा र प्रशिक्षकलाई ‘प्रोटेस्ट’ राख्न आग्रह गरेँ । खेल सकिनुअघि नै प्रोटेस्ट राख्दा छानबिन हुने प्रावधान छ । छानबिन चलिरहँदा अर्को खेल सञ्चालन गर्न नमिल्ने नियमबारे मलाई राम्रो जानकारी थियो । तर, टिम म्यानेजर र तथा प्रशिक्षकलाई ‘प्रोटेस्ट’ कसरी राख्ने भन्ने सम्बन्धमा कुनै हेक्का थिएन । उहाँहरू प्रोटेस्ट कसरी राख्ने र कहाँ गएर राख्ने भन्ने प्रश्नमै रुमल्लिएर बस्नुभयो । 

मैले उहाँहरूलाई डब्लुकेएफको नियमबारे जानकारी दिएँ । तर, दुर्भाग्यवश उहाँहरू प्रोटेस्ट राख्न हिचकिचाइरहनुभएको थियो । मेरो पनि अडान थियो, प्रोटेस्ट नराख्दासम्म रिङबाट बाहिर नआउने जिद्दी कायमै राखँे । यसबीच नेपाली टोलीका सेभ द मिसनदेखि संघका अध्यक्षसम्मले मलाई सम्झाउन धेरै प्रयास गरे । तर, आफूमाथि अन्याय भएको दाबी गर्दै प्रोटेस्टकै अडानमा बसेँ । यसक्रममा मिडियासम्म दीपकले रिङमा विद्रोह गरेको भनी समाचार बजिसकेको थियो । तर, मिडियाले मैले रिङमै किन विरोध जनाएको कारण खोज्न आएन । 

स्वर्णमा ह्याट्रिक गर्ने सपना समाप्त
रिङभित्र म रिसले यति चुर भएको थिएँ कि अगाडि–पछाडि को–को थिए, कसैलाई देखिनँ । रिङबाट बाहिरिनुअघि नेपाली टोलीका जिम्मेवार पदाधिकारीले मलाई दोहा एसियाडदेखि अन्य प्रतियोगितामा प्रतिस्पर्धा गराउने प्रालोभन देखाउँदा रिङबाट बाहिर आउन आग्रह गरेका थिए । सबै प्रस्ताव अस्वीकार गरेँ । लगभग ‘भीमसेन’को जस्तै रिस देखाउँदै रिङबाट बाहिरिएँ । प्रतिस्पर्धाको दौरान मलाई छातीमा चोट लागेको थियो । छातीमा चिसो न चिसो आइसको डल्लो शरीरमा पर्दा मात्र मन शान्त भयो । त्यसपछि मलाई छानाबाट खसेजस्तै महसुस भयो । खेल त समाप्त भइसक्यो र ह्याट्रिक सपना तुहियो । त्यसपछि आफू सम्हालिन सकिनँ । नेपाली टोली बसेको स्थानसम्म रुँदै गएँ । अगाडि र पछाडि को–को आए, ख्यालै भएन । रेफ्रीको झेली निर्णय र नियतवश आयोजकलाई जिताउने योजनाको म सिकार भएँ । अहिले त्यो दिन सम्झिँदा रिस उठ्छ । निष्पक्ष रूपमा खेल सञ्चालन हुँदा म फराकिलो अन्तरले विजयी हुन्थँे । सायद मैले कोलम्बोमा इतिहास रच्थेँ ।

दिल्लीमा कारबाहीको अफवाह फैलाइयो
कोलम्बोको असफलतासँगै नेपाल फर्कनै मन लागेन । नेपाल नगई कतै जान पाए हुन्थ्योजस्तो लाग्यो । तर, जेजति सोचे पनि कर्मथलो पर्‍यो नेपाल । मनले नमान्दा–नमान्दै दिल्ली ट्रान्जिट हुँदै नेपाल फर्किएँ । दिल्लीमा रहँदा मैले एउटा अफवाह समाचार सुनेँ, ‘नेपाली मिडियामा एसियन कराँते फेडेरेसनले ममाथि दुई वर्षको प्रतिबन्ध लगाएको समाचार फुकिसकेको थियो ।’ धेरैपछि थाहा भयो, टिम म्यानेजरले नै यस्तो अफवाह समाचार फैलाएको रहेछ । वैदेशिक प्रशिक्षणका क्रममा मैले उनको आर्थिक चलखेलको विरोध गरेको थिएँ । त्यसैको प्रतिशोधका रूपमा प्रोटेस्ट नराखेको र मिडियासमक्ष पनि अफवाहपूर्ण समाचार उनले फैलाएको रहेछ । 

दिल्ली ट्रान्जिटमा फैलिएको अफवाह र कोलम्बोको हार पीडा सहन नसकी त्रिभुवन विमानस्थलमा कसैसँग नबोली सीधै म घरतर्फ लागेँ । एक महिनासम्म कसैसँग बोलचाल नै भएन । केही समयपछि ममाथि प्रतिबन्ध नलगाएको अर्को समाचार आयो । त्यसपछि जीवन फेरि सुचारु भयो । 

अहिले पनि कोलम्बोको साग खेल सम्झिँदा रुन मन लाग्छ । इमानदारपूर्वक खेल हुँदा जित मेरै थियो । तर, खेलका जुरी मेम्बर, आफ्नै टोलीबाट असहयोगका कारण लगातार सागमा तेहरो स्वर्णपदक जित्नबाट वञ्चित भएँ । कोलम्बो सागको त्यो दिनलाई म सधैँ करिअरकै एउटा कालो दिनका रूपमा लिने गरेको छु । जति भुल्ने प्रयास गरे पनि भुल्न नसकिँदो रहेछ । मुटुभित्र पर्ने गरी भएको घटना कसरी भुल्न सकिन्छ र !