मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
२०८० भदौ ३० शनिबार १६:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुरुंगा नगरपालिकाको वडा नं ३ बालमैत्री वडा घोषणा

Read Time : < 1 मिनेट
२०८० भदौ ३० शनिबार १६:३२:००

सिराहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिकाको वडा नं ३ लाई बालमैत्री घोषणा गरिएको छ। ‘बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरुंगाको आधार’ भन्ने नारासहित ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो।

दौलतपुरस्थित जनप्रभात माविको प्रांगणमा आयोजित समारोहमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सुरुंगा– ३ का वडाध्यक्ष किरण पोखरेललाई ब्यानर हस्तान्तरण गर्दै बालमैत्री वडा घोषणा गरेका हुन्।

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम सुरुंगा नगरपालिका– ३ (पूर्वमा चहकाकोरिया गाउँ, पश्चिममा बलान खोला, उत्तरमा चहका खोला र दक्षिणमा सुखलाही खोलाभित्रको क्षेत्र)लाई बालमैत्री वडा घोषणा गरिएको हो।

बालमैत्री वडा घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले समाज र मुलुकका लागि सक्षम नागरिक बनाउन बालमैत्री घोषणाका सूचकहरू पूर्ण रूपमा पालना गरिनुपर्नेमा जोड दिए। ‘समाजका लागि योग्य नागरिक बनाउन बालमैत्री शासनअन्तर्गतका सूचकहरू पालना गर्न गराउन सबैको भूमिका रहनुपर्छ,’ उनले भने।

बालमैत्री वडा घोषणा समारोहमा सुरुंगाका कार्यबाहक प्रमुखसमेत रहेका उपप्रमुख रुद्रबहादुर कार्कीले २०८१ सालभित्र सिंगो नगरलाई बालमैत्री नगर बनाउने गरी काम गरिरहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालअधिकारअन्तर्गत पर्ने बालबालिका बचाउ, संरक्षण, सहभागिता र विकासका लागि स्वास्थ्य, शिक्षा र विद्यालय तहमा योजनाबमोजिम काम भइरहेको उल्लेख गरे।