चाडपर्व नजिकिएसँगै खाँदबारीमा बजार अनुगमन

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

संखुवासभा/ चाडपर्वको समय नजिकिएसँगै संखुवासभाको खाँदबारी नगरपालिकामा बजार अनुगमन सुरु भएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सोमबार नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, जिल्ला उद्योग वाणिज्य संघ र पत्रकार महासंघलगायतको सहभागितामा बजार अनुगमन गरिएको हो।

अनुगमन टोली सदरमुकाम खाँदबारी बजारको टुँडिखेल, जिल्ला अस्पताल र प्रहरी गेटआसपास क्षेत्रका होटेल तथा पसलहरूको अनुगमन गरेको थियो। खाँदबारी–३, मानेभञ्ज्याङ बजारको मुख्य थोक तथा खुद्रा पसलहरू र खाँदबारी–९, तुम्लिङटारस्थित कत्लेभञ्ज्याङ बसपार्क क्षेत्र र एयरपोर्ट क्षेत्रका खुद्रा तथा होलसेल पसल, ग्याँस बिक्री-वितरणको अवस्थालगायतको अनुगमन गरिएको उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले जानकारी दिइन्। आमउपभोक्ताले स्वस्थ्यकर खानेकुरा खान पाउने सुचिश्चितताका लागि अनुगमनसहित सचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ छ।

खाँदबारी नगरपालिकाका आन्तरिक लेखा परीक्षक अधिकृत तथा अनुगमन समितिका संयोजक गुणराज खत्रीले नगरपालिकाले नियमित रूपमा बजार अनुगमन गर्दै आएको बताउँदै विगतको तुलनामा व्यवसायीहरूले दर्ता, नवीकरण गर्ने गरेको र चुस्तदुरुस्त ढंगले कागजपत्रहरू राख्ने गरेको पाइएको बताए। उनले नियमित अनुगमनले बजारमा अखाद्य वस्तुहरू भेटिन छोडेको बताउँदै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए। 

नगरपालिकाले व्यावसायीहरूलाई कानुनी विषयमा जानकारी दिएको खाँदबारी नगरपालिकाका राजस्व शाखा प्रमुख विमल बानियाँले बताए। उनीहरूलाई आफ्नो व्यवसाय दर्ता प्रमाणपत्र देख्ने गरी राख्नुपर्ने, मुल्यसूची राख्नुपर्ने, नवीकरण गर्नुपर्ने, म्याद रहेका सामानहरू मत्रै बिक्री-वितरण गर्नुपर्नेलगायतका कुराहरूको जानकारी गराइएको नगरपालिकाले जनाएको छ। सो क्रममा केही खाद्य र पेय पदार्थहरू म्याद नाघेको पाइएकाले नष्ट गरिएको छ।

सुझावित समाचार