१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
द इकोनोमिस्ट
२०८० कार्तिक १७ शुक्रबार १०:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अतातुर्कको राष्ट्रवादी पाटोलाई अँगालेका एर्दोगान

एर्दोगानले गरेको मुस्तफा केमाल अतातुर्कको स्वीकार्यता अपूरो छ, अर्थात् उनको धर्मनिरपेक्ष सुधारक छविलाई धूमिल पारिएको छ

Read Time : > 2 मिनेट
द इकोनोमिस्ट
२०८० कार्तिक १७ शुक्रबार १०:२८:००

यही अगस्टमा प्रकाशित एक सर्वेक्षणको नतिजामा झन्डै ६० प्रतिशत टर्कीका नागरिक, जसमा ४६ प्रतिशत सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट (एके) पार्टीका समर्थक छन्, तिनले उनलाई मुलुककै लोकप्रिय ऐतिहासिक व्यक्तित्वका रूपमा हेर्छन् । त्यसैगरी हालैको अर्को सर्वेक्षणअनुसार १० मा नौजनाभन्दा बढी उनको टर्कीप्रतिको योगदानलाई लिएर अनुग्रहित छन् । र, ७३ प्रतिशत टर्कीका नागरिक उनले निर्माण गरेका मूल्य–मान्यतालाई सबैभन्दा बढी सान्दर्भिक ठान्छन् ।

भ्रममा नपर्नुहोला यो समर्थन र सद्भाव हालै फेरि चुनावी विजय हासिल गरेका एके पार्टीका नेता र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पाएका होइनन् र उनी सपनामा पनि यो समर्थन पाउन सक्दैनन् । यहाँनेर मुस्तफा केमाल अतातुर्कको कुरा भइरहेको छ । अतातुर्कको निधन आजभन्दा ८० वर्षपहिले भए पनि उनी अझै टर्कीका सबैभन्दा चर्चित राजनीतिज्ञ हुन् ।

यसलाई २९ अक्टुबरका दिन टर्कीका जनताले मनाएको उत्सवले पुष्टि गर्छ । एक सय वर्षपहिले जब अतातुर्कले ओटोमन साम्राज्यको बाँकी रहेको भूमिलाई आक्रमणकारी ग्रिक सेनाबाट जोगाए र साम्राज्यको उत्तराधिकारी राज्यलाई गणतन्त्र घोषणा गर्दै ओटोमन सल्तनतको अन्त्य गरेका थिए । नयाँ गणतन्त्रको संसद्ले उनलाई तुरुन्तै राष्ट्रपतिका रूपमा चयन गरेको थियो । त्यसको एक दशकमा अतातुर्कको नेतृत्वमा बृहत् राष्ट्र निर्माण प्रक्रिया अगाडि बढेको थियो । अतातुर्कको निधन हुने वेलासम्म टर्कीले नयाँ वर्णमाला, नागरिक संहिता, मताधिकार र राज्यधर्मबाट इस्लामलाई हटाउँदै धर्मनिरपेक्षतालाई अँगालिसकेको थियो ।

एर्दोगानलाई सामान्यतया अतातुर्कविरोधीका रूपमा चित्रण गरिन्छ । सन् २००३ मा एर्दोगान टर्कीका प्रधानमन्त्री हुँदा उनलाई दोस्रो इरान खडा गर्न तम्सिएको राजनीतिक इस्लामको अगुवाका रूपमा आलोचना गरिएको थियो । धर्मराज्यको सम्भावना नभए पनि केही मानिसले अझै पनि एर्दोगान धर्मराज्य बनाउन तम्सिएका छन् भनेर डराउँछन् । एर्दोगानले आफ्नो दुई दशकको सत्तामा टर्कीको धर्मनिरपेक्ष व्यवस्थालाई भत्काउन खोजेका थिए । राज्यका संस्था र सञ्चारमाध्यममाथि आफ्नो नियन्त्रणका बाबजुद पनि उनी यस मामिलामा सफल हुन सकेनन् । एर्दोगानले अतातुर्कको विरासतमा केही क्षति पु¥याए पनि उनले अतातुर्कको विरासतलाई आत्मसात् पनि गरेका छन् । 

एर्दोगानको नेतृत्वमा इस्लामलाई ओटोमनकालयताकै बढी स्थान दिइएको छ । एर्दोगानले धर्मभीरु व्यवसायीलाई छुट दिएका र हिजाब पहिरनमा हुने सीमितता खुकुलो पारेका थिए । उनले शिक्षामा ठूलो परिवर्तन ल्याएका छन्, अर्थात् धार्मिक शिक्षामा थप अनुमति दिँदै इस्लामिक प्रचारकलाई शिक्षक बनाउने हजारौँ इमाम हातिप विद्यालय खोलेका छन् । यी विद्यालयले टर्कीका कुल सार्वजनिक विद्यालयको १३ प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । त्यसैगरी एर्दोगानले मदिरामा युरोपमै सबैभन्दा बढी कर लगाएका छन् ।

यतिको लगानीका बाबजुद नतिजा अपेक्षाकृत हुन सकेको छैन । एक अध्ययनले नास्तिक टर्किस नागरिकको संख्या दुई प्रतिशतबाट सात प्रतिशत पुगेको र हिजाब लगाउने महिलाको संख्या ६३ प्रतिशतबाट ५९ प्रतिशतमा झरेको देखाएको छ । खर्चिलो विज्ञापन र प्रसारका बाबजुद टर्कीमा रक्सी खपत स्थिर नै रह्यो । 

एर्दोगान र एके पार्टी गणतन्त्रको सबैभन्दा उत्साही समर्थक कहिल्यै थिएनन् । ‘गणतान्त्रिक राज्यलाई उत्साहका साथ अँगाल्न ओटोमन साम्राज्यको असफलताका बोल्न सक्नुपर्छ, तर उनीहरूले (एर्दोगान र एके पार्टी) यसो गर्न सकेका छैनन्’ राजनीतिशास्त्री अली कार्काग्लु बताउँछन् । ओटोमन साम्राज्यप्रति सहानुभूति देखाए पनि एर्दोगान र एके पार्टीले अतातुर्कको अवमूल्यन पनि गर्न सकेका छैनन् । वास्तवमा अतातुर्कको नाम वामपन्थीदेखि दक्षिणपन्थीसम्मका सबै राजनीतिक शक्तिले प्रयोग गर्दै आएका छन् । मुलुकमा भएका सैन्य ‘कु’लाई समेत पुष्टि गर्न उनको नाम लिने गरिएको इतिहास छ । सन् २०१६ मा एर्दोगानलाई अपदस्थ गर्ने नियतले गरिएको असफल ‘कु’मा पनि अतातुर्कको नाम प्रयोग गरिएको थियो । 

एर्दोगानले आफ्नो राजनीतिको प्रारम्भमा अतातुर्कको खुलेर आलोचना गरे । एकपटक एर्दोगानले अतातुर्क र उनको उत्तराधिकारीलाई ‘दुई जँड्याहा’को संज्ञासमेत दिएका थिए । तर, टर्कीका उदारवादी, कुर्द र गुलेन आन्दोलनबाट समर्थन गुमाएपछि उनले सेना एवं प्रहरी निकटका धेरैजना राष्ट्रवादीसँग मिलेर एर्दोगानले अतातुर्कलाई आफ्नै सत्ताको प्रतीकका रूपमा अँगालेका छन् । सेन्ट्रल एसिया–ककेसस इन्स्टिट्युटका हलिल कारावेलीका अनुसार ‘२० वर्षपहिले एर्दोगान बाहिरिया थिए र अतातुर्क राज्य थिए’ तर अहिले ‘एर्दोगान नै राज्य बनेका छन्’ ।

तर, एर्दोगानले गरेको अतातुर्कको स्वीकार्यता अपूरो छ । एक धर्मनिरपेक्ष सुधारक र टर्कीलाई युरोपसँगै उभ्याउनुपर्छ भनेर वकालत गर्ने अतातुर्कको छविलाई धूमिल पारिएको छ । बरु एर्दोगानले अतातुर्कलाई युद्धनायक अर्थात् ‘गाजी’को रूपमा चित्रण गर्दै पहिलो विश्वयुद्धपछि देशलाई विभाजित गर्न खोज्ने विभिन्न राष्ट्रबाट टर्कीलाई जोगाउने भूमिकालाई जोड दिएका छन् । यो भाष्यले टर्कीलाई उदीयमान शक्तिको रूपमा चित्रण गर्दै पश्चिम र उदार अन्तर्राष्ट्रिय व्यवस्थाको प्रतिरोधी हो भन्ने देखाउँछ । तसर्थ जोन्स हप्किन्स विश्वविद्यालयका प्राज्ञ लिसेल हिन्ट्जले यो भाष्य एर्दोगानका लागि अनुकूल देखिएको बताउँछिन् । 

कारावेलीका अनुसार एर्दोगानले धार्मिक र धर्मनिरपेक्षता विभाजनलाई एकताबद्ध गर्ने राष्ट्रवादलाई बढावा दिएका छन्, जसमा अतातुर्कको परिमार्जन गरिएको छविलाई प्रयोग गरिएको छ । एर्दोगानले राष्ट्रलाई विभाजित गरेर आफ्नो करियर निर्माण गरेका छन् र यसलाई उनी जारी राख्नेछन् । ‘टर्किस शताब्दी’को उनको विचारले पश्चिमबाट छुट्कारा, आर्थिक वृद्धि र ओटोमनको यो संशोधित दृष्टिकोणले पार्टीइतरका मानिसलाई बढी आकर्षित गरेको छ । यो विरासत एर्दोगानको समयपछि पनि रहन सक्छ । एर्दोगान र अतातुर्कबीच धेरै भिन्नता भए पनि वर्तमान दबंगाइ नेता एर्दोगान आफूलाई अतातुर्कको प्रतिद्वन्द्वीको रूपमा नभई उत्तराधिकारीका रूपमा हेर्छन् ।