मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
अहमेत टी कुरू
२०८० जेठ १७ बुधबार १०:२१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टर्कीको सत्तामा एर्दोगानको फिर्तीको अर्थ

Read Time : > 2 मिनेट
अहमेत टी कुरू
२०८० जेठ १७ बुधबार १०:२१:००

टर्कीको सत्तामा २५ वर्षे शासनको सुनिश्चितता गर्ने गरी रिसेप तैड्ढयप एर्दोगान पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । चुनावबाट पदमा फर्किएका एर्दोगानले २८ मे २०२३ मा ५२ प्रतिशत मत हासिल गरेका छन् । विपक्षी नेता कमाल किलिचदरोग्लुले ४८ प्रतिशत मत पाएका सन्दर्भमा एर्दोगानले मुलुक स्थापना भएको सयौँ वर्षमा विभाजित राष्ट्रलाई शासन गर्नुपर्नेछ । 

राजनीति शास्त्रको प्राध्यापकका नाताले मैले टर्कीको राजनीतिलाई वर्षौंदेखि नियाल्दै आएको छु । हालको चुनावमा टर्कीका मतदातामाझ एर्दोगानको अधिनायकवादउन्मुख शासनमा रोक लगाउने वा फैलिन दिने, दुई पेचिला विकल्प मात्रै थिए । अधिनायकवादलाई फैलिन दिने गरी आएको मतले मुलुकको भविष्य दुवै आन्तरिक नीति एवं पश्चिमा राष्ट्रसँगको सम्बन्धका आधारमा निर्देशित हुनेछ । 

टर्कीको राजनीतिक व्यवस्थाको भविष्य :  टर्कीमा मे १९५० मा पहिलोपटक निर्वाचन भएको थियो । त्यसउप्रान्त केही सैन्य ‘कु’बाहेक मुलुकमा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धा चलिरहेको छ । पछिल्ला १० वर्षमा एर्दोगानले टर्कीलाई तानाशाहउन्मुख एकतन्त्रीय शासनतर्फ डोर्‍याएका छन् । यी १० वर्षमा वाक्–स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सभा–सम्मेलन गर्न पाउने स्वतन्त्रतामा अंकुश लागेको छ । यस अवस्थामा पुनर्निर्वाचित एर्दोगानले तानाशाही प्रवृत्ति त्याग्नेमा विश्वास गर्ने ठाउँ छैन । एर्दोगानले अधिकार एवं स्वतन्त्रताको पुनर्बहाली वा विस्तार गर्छु भनेर चुनाव जितेका होइनन् । बरु उनले टर्कीलाई थप पुरातनपन्थी एवं धर्मराज्य बनाउने आश्वासनले चुनाव जितेका हुन्, जुन मुलुकका संस्थापक मुस्तफा केमाल अतातुर्कको आधुनिक एवं धर्मनिरपेक्ष टर्कीको परिकल्पनाको बर्खिलाप छ । 

हेगिया सोफियामा कुरान पाठ गरेर होस् वा शुक्रबार मस्जिदमा प्रार्थना गरेर जनतालाई सम्बोधन गरेर होस्, चुनावी अभियानताका एर्दोगानले आफूलाई धार्मिक पुरातनपन्थी तथा सैन्यवादी नेताका रूपमा पनि प्रस्तुत गरेका थिए । उनले युद्धपोत, ड्रोन र अन्य हतियारलाई चुनावी प्रचारप्रसारका रूपमा प्रयोग गरेका थिए ।

आफ्नो ट्विटर प्रोफाइल पिक्चरमा समेत बायुसेनाको पाइलटको बर्दी पहिरिएका छन् । उनले बर्दी लगाएर विपक्षी दल राज्यले आतंककारी घोषणा गरेको कुर्द अलगाववादी संगठनसँग साँठगाँठ गरिरहेको र आफू राष्ट्रवादी एवं सैन्यवादी हुँ भन्ने देखाउन प्रयास गरेका छन् । एर्दोगानको यो दोस्रो चरणको विजय उनको जस्टिस एन्ड डेभलपमेन्ट पार्टी र गठबन्धन घटकले संसद्मा बहुमत हासिल गरेको दुई सातापछि भएको हो । अर्थात् विपक्षीसँग एर्दोगानको एजेन्डामाथि अंकुश लगाउने कार्यकारी र व्यास्थापकीय अधिकार छैन ।  

दश वर्षमा टर्कीलाई तानाशाहीउन्मुख एकतन्त्रीय शासनतर्फ डो¥याएका एर्दोगानले पुनः निर्वाचित भएपछि तानाशाही प्रवृत्ति त्याग्छन् भनेर विश्वास गर्ने ठाउँ छैन
 

अमेरिका र पश्चिमा मुलुकसँगको सम्बन्ध :  राष्ट्रपतीय चुनावी अभियानताका पश्चिमा मुलुक विशेषतः अमेरिकाको कट्टर आलोचना पनि एर्दोगानमा देखिएको महत्वपूर्ण एवं सिलसिलेवार चरित्र हो । एर्दोगानले अमेरिकालाई टर्कीको अपमान गरेको र यसको संवेदनशील मुद्दामा हस्तक्षेप गरेको आरोप लगाएका छन् । गत वर्ष एर्दोगानले सिरियामा रहेको कुर्द पिकेकेलाई सघाएको भन्दै वासिंगटनको आलोचना गरेका थिए । त्यसैगरी दुई ग्रिक टापुमा अमेरिकी बख्तरबन्द वाहन परिचालन गरेको भन्दै विरोध जनाएका थिए ।

यसबाहेक रुसलाई नाकाबन्दी लगाउने मामिलामा उनले आफूलाई नेटोबाट अलग राखेका छन् । नेटोबाट अलग मात्रै नभई उनले रुससँग टर्कीको ‘विशेष सम्बन्ध’ रहेको भन्दै वार्ता गरेका छन् । गत अप्रिलमा एर्दोगनले चुनाव ‘पश्चिमा मुलुकलाई सबक सिकाउने’ मञ्च रहेको भन्दै विपक्षीलाई पश्चिमा मुलुकले समर्थन गरेको दाबी गरेका थिए । उनले सो क्रममा ‘आतंकवादसँग लड्ने वेला होस् वा आर्थिक नीति तर्जुमा गर्ने वेला होस्, यो मुलुकले पश्चिमाले जे भन्छन्, त्यो मान्दैन’ भनेका थिए ।

यी त भए चुनावी तिकडम । चुनावपश्चात् एर्दोगानले पश्चिमा मुलुकसँग बिग्रेको सम्बन्ध सुधार्न स्विडेनले नेटो सदस्य हुन गरेको मागलाई स्विकार्न सक्छन् । स्मरण रहोस्, उनले यसअघि नर्डिक मुलुकले कुर्द आतंककारीलाई सघाएको भन्दै नेटो सदस्य हुने मागमा अस्वीकृति जनाएका थिए । टर्कीमा विद्यमान आर्थिक संकटले मात्रै एर्दोगानलाई टर्की पश्चिमा मुलुकको कित्तामा पु¥याउन सक्नेछ, अर्थात् उनी पश्चिमा मुलुक र संगठनमा भर पर्न बाध्य हुन सक्छन् । 

धर्मर अर्थतन्त्र भएको टर्कीको भविष्य : सन् २०१८ देखि नै टर्कीमा आर्थिक संकटका लक्षण देखिन थालिसकेका थिए । हुँदाहुँदा सन् २०२२ मा वार्षिक आर्थिक मुद्रास्फीतिले ८० प्रतिशतको आँकडा पार गरेको थियो । यो अवस्थामा मतदाता लोभ्याउन एर्दोगानले अवकाशको उमेर घटाउने, सरकारी कर्मचारीको ४५ प्रतिशतले तलब वृद्धि गर्नेजस्ता कैयौँ योजना अघि सारेका थिए । तर, ती योजनाले अर्थतन्त्र थप धराशयी बनाउने र राष्ट्रिय मुद्रा सञ्चिति रित्याउने सम्भावना छ । 

आर्थिक संकट र अधिनायकवादी नीतिले मुलुकबाट ‘प्रतिभा पलायन’को स्थिति निम्त्याइदिएको छ, जहाँ कैयौँ शिक्षित युवा पश्चिमी युरोपेली मुलुकमा पलायन भइरहेका छन् । यदि चुनावी नतिजाले सीप भएका र शिक्षित श्रमिकको पलायन बढाउँछ भने मुलुकको आर्थिक संकट झेल्ने क्षमता निकै कमजोर हुनेछ । यसकारण युवा र धर्मनिरपेक्ष टर्कीका जनताको पलायन रोक्न एर्दोगानले आफ्ना नीतिमा पुनर्विचार गर्न सक्छन् ।

  सम्भावित आर्थिक दुरवस्थाले एर्दोगानलाई आफ्नो परराष्ट्र नीतिमा समेत पुनर्विचार गर्न बाध्य पार्नेछ । हाल उनले वित्तीय समर्थनका लागि कतार, साउदी अरब र रुसबाट अपेक्षा गरेका छन् । यदि यो पर्याप्त नभए उनी अमेरिकासँग सम्बन्ध सुधारेर अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थाबाट ऋण अनुदान माग गर्न सक्छन् । एर्दोगानले चुनावका दौरान घरेलु र परराष्ट्र नीतिमा कुनै वाचा गरेका थिएनन् । यदि अर्थतन्त्र अनुकूल नहुने हो भने एर्दोगान नीतिमा परिवर्तन गर्न बाध्य हुनेछन् । 

(कुरू सेनडिएगो स्टेट विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट