१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ४ शनिबार
  • Wednesday, 26 June, 2024
गणेश लम्साल विराटनगर
२o८o कार्तिक ४ शनिबार o९:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फेरिँदै पूर्वका पर्यटकीय स्थान

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक ४ शनिबार o९:३३:oo

बिदामा पहिले घुमफिरका लागि विदेश रोज्नेहरूले अहिले स्वदेशकै रमणीय स्थलहरू रोज्न थालेका छन्  

विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेल पहिले–पहिले घुमफिर गर्न विदेश जान्थे । तर, आजकाल उनले आफ्नो रुचिमा परिवर्तन ल्याएका छन् । आजकाल उनी चाडबाड र अनुकूल सिजनमा नेपालकै पर्यटकीय गन्तव्य घुम्न र खासगरी हिमाली क्षेत्रको टे«किङमा जान रुचाउँछन् । उनले पटकपटक अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन् ।

विराटनगरका उद्योगी नन्दकिशोर राठी पनि पहिले दसैँको समयमा प्रायः परिवारसहित विदेश घुमफिर गर्न रुचाउँथे । दसैँको वेला केही दिनका लागि उद्योग पनि बन्द हुने र कार्यालय बिदा हुने भएकाले यो समयलाई विदेशका नयाँ नयाँ पर्यटकीय गन्तव्य भ्रमण गरेर रमाउने उनको सोख नै बनिसकेको थियो । तर, आजकाल उनको सोख फेरिएको छ । उनी आजकाल चाडपर्वमा विदेश होइन, सकभर नेपालकै रमणीयस्थल घुम्न रुचाउँछन् । 

विराटनगरका घरानियाँ उद्योगी सुरेन्द्र गोल्छा पनि दसैँको समयमा विदेश भ्रमण गर्न रुचाउँथे । उनले बिदाको समयमा एसियाको मात्र नभएर युरोपका पनि धेरै देश सपरिवार घुमिसकेका छन् । तर, आजकाल गोल्छाले पनि चाडपर्वमा घुमफिरका लागि आफ्नै देशका पर्यटकीयस्थलहरू रोज्ने गरेका छन् । उनले नेपालमा पर्यटन उद्योगको प्रचुर सम्भावना देखेर धनकुटाको राजारानीमा सुविधासम्पन्न पाँचतारे रिसोर्ट खोल्ने तयारी पनि थालेका छन् । 

राठी र गोल्छाजस्तै दसैँ बिदामा विदेश घुमफिर गर्ने उद्योगीहरू विराटनगरमा धेरै छन् । पहिले घुमफिरका लागि विदेश रोज्ने धेरैले आजकाल स्वदेशकै रमणीयस्थानहरूलाई गन्तव्य बनाउन थालेका छन् । उनीहरू अनुकूल सिजनमा मुस्ताङको मुक्तिनाथ, लुम्बिनी, गोरखाको मनकामनालगायत स्थानहरूमा घुमफिर गर्न रुचाउँछन् । यसबाहेक कोशी प्रदेशका प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा, इलामको सानो पाथीभरा र सुनसरीको बराहक्षेत्रमा घुमफिरसहित दर्शन गर्न विराटनगरवासी पुग्ने गर्छन् ।

पहिले चाड पर्व र अनुकूल सिजनमा भारतको दार्जिलिङ र सिक्किम घुमफिर गर्न रुचाउने विराटनगरवासी आजकाल इलामको कन्याम, चितवनको देवघाट र नवलपरासीको चारधामलाई प्राथकिता दिन थालेका छन् । आजकाल उत्तरी सिक्किममा रहेको चारधाम जानेक्रम धेरै कम भएको विराटनगरका पर्यटन व्यवसायीहरू बताउँछन् । इलामको ३६ सय मिटर उचाइमा पर्ने रमणीय सन्दकपुर क्षेत्र पनि बिस्तारै विराटनगरवासीको रोजाइमा पर्न थालेको छ । 

धेरैको रुचि होमस्टे
कोशी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य छन् । तर, सबैतिर राम्रा होटेलहरू छैनन् । धेरै ठाउँमा पर्यटकले चाहेजस्तो खानबस्न पाउँदैनन् । तर, आजकाल स्थानीयवासीबाटै धमाधम होमस्टेहरू सञ्चालन हुनथालेपछि राम्रा र दुर्गम क्षेत्रका पर्यटकीय गन्तव्यहरूमा भिडभाड बढ्न थालेको छ । होमस्टेले गर्दा आजकाल कोशी प्रदेशका धेरै पर्यटकीयस्थलको भ्रमण गर्दा कहाँ बस्ने खाने भन्ने चिन्ता हुँदैन । स्थानियवासीले पर्यटकहरूलाई आफ्नै घरमा राख्छन् ।

धनकुटाको नम्जे, मोरङको जेफाले अनि इलामको श्रीअन्तुमा रहेका होमस्टेहरूमा चाडपर्वको समयमा मात्र नभई अनुकूल सिजनमा घुमफिर गर्नेहरूको लर्को नै लाग्छ । चाडपर्व र गर्मीको समयमा विराटनगरवासीहरू धेरैजसो चिसो हावापानी भएको धनकुटाको नाम्चे र श्रीअन्तुको होमस्टेमा वास बस्न पुग्छन् । 

पर्यटन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वमा इलामको श्रीअन्तु डाँडा, बरबोटे, ताप्लेजुङको पाथीभरा फेदी, झापाको बाहुनडागी र दमक, सुनसरीको पूर्वकुशहा र इटहरीको खोर्सानेखाप, धनकुटाको नाम्जे, मोरङको जेफाले र राजाराजी, संखुवासभाको खाँदबारी आदि पर्यटकीय स्थानमा होमस्टेहरू सञ्चालनमा आइसकेका छन् । सञ्चालनमा आएका होमस्टेहरू केही निजी र धेरै सामुदायिक भनेर दर्ता भएका छन् । नेपालको पहाडी क्षेत्रको सौन्दर्य भारतको सिमला, मनाली, दार्जिलिङ र कास्मिरभन्दा कम नभएकाले भारत घुमफिर गर्न जाने विराटनगरेहरू आजकाल नेपालकै पहाडी क्षेत्र घुम्न थालेको पर्यटन व्यवसायी भवेश श्रेष्ठ बताउँछन् । उनका अनुसार नेपालका पहाडी क्षेत्रका प्राकृतिक रूपले रमणीय पर्यटकीय गन्तव्यहरू भारतीयहरूको समेत रोजाइमा पर्न थालेको छ । आजकाल सीमाक्षेत्रमा पर्ने बिहार र बंगाल राज्यका भारतीयहरू पनि चाडपर्व र अनुकूल सिजनमा कोशी प्रदेशका पहाडी क्षेत्रमा प्रशस्त घुमफिर गर्न आउने गरेका छन् ।

आकर्षणमा फनपार्क र सिमसार क्षेत्र
आजकाल मध्यमवर्गीय मात्र नभई निम्नमध्यम वर्गीय र निम्नवर्गीय परिवारका सदस्यहरूले चाडपर्व र अनुकूल समयमा फनपार्क र सिमसार क्षेत्रको घुमफिरलाई पनि गन्तव्य बनाउन थालेका छन् । चाडपर्वको समयमा त विभिन्न स्थानमा रहेका फनपार्कहरूमा सपरिवार घुमफिर गरेर खानपान गर्नेहरूको घुइँचो नै लाग्छ । विराटनगरको कटहरी, पुष्पलाल चोक र हाटखोला चोकमा रहेका पार्कहरूमा विराटनवासी घुमफिरका लागि सपरिवार पुग्ने गरेका छन् । यस्तै, मोरङको सुन्दरहरैँचामा रहेको गोकुलम, बेलवारीमा रहेको ड्रिमल्यान्डदेखि झापाको दमक र सुरुंगामा रहेका फनपार्कहरूमा घुमफिर गर्नेहरूको प्रायः ओइरो नै हुन्छ । यस्तै, सुनसरीका बर्जुताल, मोरङ बेलबारीमा रहेको वेतना सिमसार र उर्लाबारीमा रहेको बेतिनी सिमसार अनि झापाको सुरुंगामा रहेको जामुनखाडी पनि चाडपर्व र बिदाको समयमा घुमफिर गर्ने पर्यटकीय गन्तव्यहरू हुन् । 

ad
ad
ad
ad