१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० असोज ३० मंगलबार ०७:३६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लाओसविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटमा नेपालले लाओसविरुद्ध उसैको घरेलु मैदानमा आज प्रतिस्पर्धा गर्दै छ, गत साता दशरथ रंगशालामा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० असोज ३० मंगलबार ०७:३६:००

घरेलु मैदानमा १–१ को निराशाजनक बराबरी खेलेको नेपालले फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको अवे खेलमा आज लाओसको सामना गर्दै छ । नेपाल र लाओस दुवै जित्नैपर्ने दबाबमा छन् । दोस्रो खेलमा दुवै टोलीका लागि बराबरी नतिजा अर्को चरणमा पुग्न पर्याप्त छैन । जितबाहेक अर्को विकल्प नै छैन । यस कारण नेपाल र लाओस जितका लागि नै खेल्नेछन् । लाओस घरेलु समर्थकको साथ नेपाललाई स्तब्ध बनाउने योजनामा छ ।

गत बिहीबार लाओसले दशरथ रंगशालामा ११ हजार समर्थकमाझ नेपाललाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले मंगलबार हुने खेलमा आक्रामक खेल्ने र जित निकाल्ने बताएका छन् । ‘अगाडि बढ्न जित्नैपर्छ, हामीलाई गाह्रो छ, तर तयार छौँ,’ इटालियन नागरिक एनेसले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो खेल निकै खराब रह्यो । दोस्रो खेलमा आक्रामक फुटबल खेल्छौँ र नतिजा प्राप्त गर्नेछौँ ।’ 

सुधारिएको खेल खेल्ने 
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् । सोही विश्वकपमा खेल्ने सपना देखेको नेपालले एसिया क्षेत्रको छनोट पनि खेलिरहेको हो । नेपालका कप्तान किरणकुमार लिम्बूले पहिलो खेलमा भएको गल्तीलाई सुधार गर्दै खेल्ने बताएका छन् । ‘घरेलु मैदानमा हामीले खराब खेल्यौँ, त्यस गल्तीलाई सुधार गर्दै खेल्छौँ,’ किरणले भने, ‘अवे खेलका लागि उत्साहित छौँ । यो खेल जित्दै बडादसैँको समय समर्थकलाई उपहार दिन चाहन्छौँ ।’ 

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै नेपाल एक गोलले पछि परेको थियो । दोस्रो हाफको सुरुमै अञ्जन विष्टले गोल गर्दा नेपालले हार टारेको थियो । पहिलो हाफमा नेपालले भ्रमणकारी लाओसविरुद्ध एउटै आक्रमण गर्न सकेन । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमानी बराबरी गरेका थिए ।  

घरेलु मैदानमा लाओस उत्साहित
लाओसका प्रशिक्षक कन्लाया सिसोमभाङले घरेलु मैदानमाझ नेपालसँग खेल्न उत्साहित भएको बताएका छन् । उनले घरेलु समर्थकमाझ नेपाललाई स्तब्ध पार्ने योजना रहेको सुनाए । यद्यपि, उनी पहिलो खेलमा रातो कार्ड बेहोर्दा प्राविधिक क्षेत्रमा उपलब्ध हुन पाउनेछैनन् । ‘नेपालसँग खेल्न कठिन हुन्छ, तर हामी घरेलु समर्थकमाझ खेल्न उत्साहित छौँ,’ उनले भने । प्रतिस्पर्धामा पहिलो खेलबाट नेपालको रणनीति थाहा भएको र जितका लागि खेल्ने उनले बताए । ‘नेपालको खेल विश्लेषण र अध्ययन गरेका छौँ । पहिलो खेलको गल्ती सुधार गर्दै खेल्छौँ,’ उनले भने । पहिलो खेलमा घाइते भएका कप्तान बौनपाचन बौनकोङ दोस्रो खेलमा उपलब्ध हुनेछैनन् । उनी नेपालविरुद्ध ५९औँ मिनेटमा मैदान छाडेका थिए । प्रशिक्षक कन्लायाले बौनकोङको राम्रो विकल्प रहेकाले समस्या नहुने बताएका छन् । 

फेरिएको नेपाली टोली 
अहिले नेपाली टोली युवा खेलाडीले भरिएको छ । धेरैजसो सिनियर खेलाडी अष्ट्रेलिया पुगेका छन् । टोलीका कप्तान किरण र अञ्जनसँगै रोहित चन्द, अनन्त तामाङ, एरिक विष्ट, मनीष डाँगी र आयुष घलान मात्र अनुभवी हुन् । त्यसबाहेक सबै खेलाडी नयाँ छन् । आवास लामिछाने, लाकेन लिम्बू, सुदीप गुरुङ, दीप कार्की, आशिष चौधरी र सनिश श्रेष्ठले १० खेल पनि खेलेका छैनन् । 

उत्सव राईले लाओसविरुद्ध डेब्यु गरेका थिए । टोलीमा रहेका अभिषेक बराल, आशिष गुरुङ, अञ्जन राई, अमृत श्रेष्ठ, छिरिङ लामा, कृतिशरत्न छुन्जु र सञ्जीव विष्टसहित आठ खेलाडीले डेब्यु गरेका छैनन् । अमृत र सञ्जीव पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । 

बराबरी भए खेलको निर्णय पेनाल्टीमा 
यस खेल पुनः बराबरीमा टुंगिएको अवस्थामा अवे गोल मान्य नहुने भएको छ । फिफाले यसपटकबाट प्रस्ट जितको नियमावली बनाएको छ । होम एन्ड अवे खेल बराबरी भए पेनाल्टी सुटआउटमा नतिजा निस्कनेछ । अवे गोलको मान्यता नभएका कारण नेपालमाथि दबाब भने हुनेछैन । यद्यपि, अवे समर्थकको दबाब झेल्नुपर्नेछ । फिफाको नियमअनुसार दुवै लेग बराबरीमा सकिए खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिनेछ । त्यसमा पनि बराबरी भए खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइनेछ । 

आक्रामक फुटबल खेल्छौँ
भिन्सेन्जो अल्बेर्टाे एनेस, प्रशिक्षक, नेपाल

यहाँ आउन पाउँदा खुसी लाग्यो । पहिलो खेलमा लाओसले धेरै सयम खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । तर, हामीले उनीहरूलाई मात्र दोष दिन मिल्दैन । पहिलो खेल निकै खराब थियो । यसबाट पाठ सिक्दै हामीले आफैँमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ । अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ । यो गाह्रो छ, तर हामी तयार छौँ । हामी आक्रामक फुटबल खेल्छौँ । लाओस पनि आक्रामक हुनेछ । म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले भोलि सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।

घरेलु मैदानमा खेल्न उत्साहित छौँ
कन्लाया सिसोमभाङ, प्रशिक्षक, लाओस

हामी कठिन खेलका लागि पर्खिरहेका छौँ । अघिल्लो खेलबाट हामीले धेरै कुरा सिक्यौँ । विश्लेषण र अध्ययन गरेका छौँ । अझ राम्रो गर्ने प्रयास हुनेछ । हामी फ्यान र समर्थकलाई रंगशालामै उपस्थित भइदिन अनुरोध गर्न चाहन्छौँ । हाम्रा एक महत्वपूर्ण खेलाडी घाइते छन् । यसले खेलमा केही असर गर्छ । वर्तमान लाओसको यो टिम राम्रो छ । हामीसँग २३ खेलाडी छन् । हामी टोलीलाई सधैँ प्राथमिकतामा राख्छौँ र राम्रो प्रतिस्थापन पनि छ । आजको खेलका लागि उत्साहित छौँ ।