एक महिनाअघि तीनकुनेमा चारजनाको सामूहिक हत्या गर्ने सञ्जय भण्डारी जेल चलान भएका छन् । उनलाई केन्द्रीय कार्यालयको गोलघरमा राखिएको छ । गोलघर जेलभित्रको पनि जेल मानिन्छ । यहाँ राखिएका कैदीबन्दीले अन्यसँग भेटघाट गर्न पाउँदैनन् । जेलभित्रै पनि उनले कुनै अपराध गर्न सक्ने भएकाले गोलघरभित्र राखिएको प्रहरी स्रोत बताउँछ ।
गत २९ भदौमा भण्डारीले तीनकुनेस्थित दिव्य काठमिलमा नवीन राई, पूर्णबहादुर भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेका थिए । नवीनले आफूलाई मोटरसाइकलले ठक्कर दिई उपचार खर्चसमेत नदिई भागेकाले योजना बनाएर उनको हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् । राईलाई मात्र हत्या गर्न गएको र अरूले देखेपछि उनीहरूलाई पनि हत्या गरेको बयानमा बताएका छन् ।
आफू सुन्न नसक्ने व्यक्ति भनेर हेप्नेहरूलाई विगतमा पनि हत्या गरेको उनको दाबी छ । तर, प्रहरीले त्यसलाई पुष्टि गर्न सकेको छैन । उनले बयानमा भनेका छन्, ‘सामाजिक विभेदका कारण म निर्दयी छु, कसैप्रति माया ममता जाग्दैन, विगतमा पनि यस्ता घटना गरेको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रवेश गरेको पहिलो कोठामा गएर आराम गरेँ, आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस गरिनँ ।’ भण्डारीले बयानमा अरू व्यक्तिको पनि हत्या गरेको बताएको विषयमा थप अनुसन्धान हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए ।