धादिङको गजुरी गाउँपालिका– ३ पुराक्सिङमा लामो समयदेखि खुम्रेकिरा प्रकोपले किसानलाई आजित बनाएको छ। बारीमा लगाएको मकै, कोदो, आलुलगायत तरकारी बाली खुम्रेकिराले सखाप बनाएपछि किसानको गुजारा चलाउनै मुस्किल बनेको हो।
खुम्रेकिराको नियन्त्रण गर्न नसक्दा विकल्पको पर्खाइमा रहेका पुराक्सिङवासी भन्छन्, ‘खुम्रेकिराको नियन्त्रण गर्नै सकिएन। खेती गर्याे खाइदिन्छ। भोकमरीको डर भयो। ज्याला–मजदुरी गरेर दुईछाक जोहो गरिरहेका छौँ। खुम्रेकिराले गाउँ नै छाड्नुपर्ने बाध्यता बनाइसक्यो।’
‘यस वर्ष मकै उत्पादनमा ह्वात्तै घट्यो। १५ रोपनीमा लगाएको मकै खुम्रेकिराले धेरैजसो नासै गर्यो। बिउबिजन, पाखो–भिरालो बारीमा दश नंग्रा खियाएर गरेको दुःख खेरै गयो,’ पुराक्सिङका पूर्णबहादुर प्रजा (चेपाङ) भन्छन्, ‘माटोभित्रै पसेर मकै, कोदोलगायतको बालीको जरा खाइदिन्छ। मकै ठाडै सुक्यो, उत्पादन लिन सकिएन। घरमा खाने अन्नपात छैन। बारीमा लगाएको कोदो पनि पहेँलो भएर सुक्न थाल्यो, फल्ला र खाउँला भन्ने आसै छैन। खुम्रेकिराको नियन्त्रण गर्न नसक्दा कृषिमा आधारित जीविकोपार्जन गर्ने हामी किसान त भोकै मर्नुपर्ने अवस्था आयो।’
पुराक्सिङवासीले खुम्रेकिरा नियन्त्रण गर्न धेरै प्रकारका विषादी पनि प्रयोग गरिसकेका छन्। आफूले जानेका, अरूले भनेका, प्राविधिकहरूको सल्लाह लिएर पनि खुम्रेकिराको नियन्त्रण गर्ने प्रयास गरे। तर, खुम्रेकिराको नियन्त्रण हुन नसक्दा उनीहरू आजित बनेका हुन्।
१० रोपनी जग्गामा लगाएको बाली खुम्रेकिराले नास गर्न थालेपछि दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ताले पिरोलेको नन्दकुमारी चेपाङ बताउँछिन्। बारीमा लगाएको खेतीले वर्षदिनभरि खान पुग्दैन। उनी भन्छिन्, ‘नछरुम् भने बाली लाग्छ कि भन्ने आस लाग्छ, लगायो किराले नास गर्छ। पाँचजनाको परिवार छ। बारीको खेतीले ६ महिना मात्र खान पुग्न, अरू समय ज्याला–मजदुरी गरेर छाक टार्छौँ। त्यही पनि तीन–चार वर्षदेखि किराले मकै, कोदो, धान, आलुलगायतको बाली नष्ट गर्दै आएपछि खाद्यसंकट भोग्नुपरेको छ।’
‘१४ घर चेपाङ र १७ घर तामाङबस्ती रहेको पुराक्सिङका ३१ घर–परिवारमा खुम्रेकिराका कारण भोकमरी व्यहोर्नुपर्ने भयो। खेती लगायो खुम्रेकिराले खाइदिन्छ, भित्र्याउन पाइँदैन। खेतबारी बाँझो राख्न मनले मान्दैन। भकारोदेखि बारीसम्म जहाँ पनि खुम्रेकिराले सताएको छ। भकारोमा मल बोक्दा पनि खुम्रेकिरा छानेर लान्छौँ। विषादी पनि छर्यौँ। तर, कसैगरी पनि खुम्रेकिरा नियन्त्रण भएन। तीन–चार वर्षदेखि त झनै बाली सखाप पार्ने गरेको छ,’ पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्ष हुण्डरी तामाङ भने।
जानेका, सुनेका र अरूले भनेका थुप्रै प्रकारका उपाय अपनाउँदा पनि खुम्रेकिरा नियन्त्रण गर्न नसकिएको तामाङले बताए। फियान नेपालको सहयोगमा पटक–पटक डेलिकेसन गएपछि खुम्रेकिरा नियन्त्रणका लागि गजुरी गाउँपालिकाले बजेट विनियोजन गरिदिएको छ। उनले भने, ‘सिन्धुपाल्चोकमा बिजुली बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण भयो भन्थ्यो। हाम्रो गाउँमा पनि बिजुली आउन लागेको छ। बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण हुन्छ कि भन्ने आस छ।’
खुम्रेकिराले दुई मिटर मुनिसम्म गएर बालीनालीको जरा खाने भएकाले माटोको उपचार नै मुख्य उपचारको रूपमा मानिन्छ। खुम्रेकिराको आयु तीन वर्षको हुने भएकाले उपचारविधि भनेको माटो उपचार गर्नु र अर्काे उपाय बिजुलीबत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताए।
उनले भने, ‘मकै र कोदोलगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमुनि धेरै समय रहन्छ। विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन। अब विकल्प भनेको बिजुली बत्ती हो। गाउँमा बत्ती आउँदै छ, यसले खुम्रेकिराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आस छ।’
खुम्रेकिरा (सेतो ग्रब्स)को वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो। खुम्रेकिरा सबैभन्दा विनाशकारी किरा हो। खुम्रेकिराको वयस्कहरू खपटे समूहमा पर्दछन्। खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरूमध्ये सबैभन्दा विनाशकारी किरा हो। यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरू खान्छ। जसले गर्दा बिरुवाहरू बढ्न सक्दैन र सुक्दै गएर मर्छ।
विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पुर्याउँछ। यसले मकै, कोदो, तरकारी बालीहरू आलु, सिमी, बोडी, अदुवा र चियाखेतीमा समेत क्षति पुर्याउँछ। खुम्रेकिराको माउले काँचो गोबरमा अन्डा पार्दछ। त्यसैले खेतबारीमा काँचो गोबरमल प्रयोग गर्न नहुने कृषि प्राविधिकहरूको भनाइ छ।
तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका