अध्ययन, व्यवसाय, रोजगारी र अन्य कामका सिलसिलामा नेपाली कहिलेदेखि विदेश जान थाले भन्ने ठोस प्रमाण छैन । सुगौली सन्धिलगत्तै विदेशी सेनामा आबद्ध हुन थालेपछि नेपाली बिदेसिने क्रम सुरु भएको पाइन्छ । मुलुकको अर्थतन्त्र बलियो बनाउन मात्र नभई सैनिक सेवाबाट निवृत्त भइसकेपछि सयौँ लाहुरे स्वदेशमा आएर सञ्चित पुँजी, आर्जित ज्ञान र सीप लगानी गरेको पाइन्छ । सन् २००३ मा गैरआवसीय नेपाली संघ (एनआरएनए) स्थापना हुनुअघि विभिन्न संघसंस्थामार्फत लगानी नभित्रिएको होइन, तर त्यो पर्याप्त थिएन ।
एनआरएनए स्थापनाको दुई दशकको अवधिमा विदेशमा रहेका नेपालीले मुलुकको अर्थतन्त्रमा योगदान दिँदै आएका छन् । व्यक्तिगत, संस्थागत वा सामूहिक रूपमा कति लगानी भित्रियो भन्ने प्रस्ट नभएकाले यस विषयमा गहन खोज अनुसन्धान आवश्यक छ । यद्यपि, श्रम, अध्ययन र व्यवसायका लागि विदेशी भूमिमा रहेका नेपालीहरूले मुलुकको अर्थतन्त्र बलियो बनाउन योगदान गरिरहेको प्रस्ट छ । रेमिट्यान्समार्फत होस् या होटेल, पर्यटन, उद्योग, आधुनिक कृषि, जलविद्युत्, सूचना प्रविधि, बैंक तथा वित्तीय क्षेत्रमा गरेको लगानी किन नहोस्, एनआरएनए मुलुकको अर्थतन्त्रको एक प्रमुख साझेदार हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार देशभरका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा छन् । केन्द्रीय तथ्यांक विभागले विदेशमा लगभग २२ लाख नेपाली नागरिक रहेको अनुमान गरेको छ । फरक–फरक तथ्यांक आए पनि भारतबाहेक करिब ६० लाख नेपाली विदेशमा रहेको मानिन्छ । रोजगारीसहित अन्य कारणले विश्वका सयभन्दा बढी देशमा नेपाली बसोवास गरिरहेका छन् । विदेशमा रहेका नेपालीको साझा संस्था एनआरएनए ८७ देशमा विस्तार भइसकेको छ । ती देशमा रहेका गैरआवासीय नेपालीको कुनै न कुनै रूपमा स्वदेशमा लगानी छ । एनआरएनएले अघि बढाएका परियोजनामार्फत गैरआवासीय नेपालीको लगानी स्मरणयोग्य छ । संकट र विपत्तिका वेला मानवीय सहयोग अनुकरणीय छ ।
निजी क्षेत्रको अग्रणी संस्था (एफएनसिसिआई) ले तयार पारेको ‘भिजन पेपर’मा सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार करिब १०० अर्ब डलर पु¥याउने लक्ष्य राखेको छ । अहिले नेपाली अर्थतन्त्र ४० अर्ब डलरभन्दा केही बढी भएको अनुमान गरिएको छ । त्यसैले यो लक्ष्य महत्वाकांक्षी देखिन्छ, तर सम्भव नहुने भने होइन ।
गैरआवासीय नेपाली हुन् या स्वदेशमै रहेका व्यवसायी, यस्तो भिजनमा सहकार्य गर्न उत्सुक छन् । यसका लागि गम्भीर बहस, तथ्य र तथ्यांकमाथि विश्लेषण गरी विदेशमा भएका अभ्यासलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । केन्या, इथियोपिया, पोर्तोरिको, स्लोभाक गणतन्त्र र इक्वेडरजस्ता देश यही लक्ष्य प्राप्तिमा दौडिरहेका छन् । यी देशको अहिलेको अर्थतन्त्रको आकार करिब १०० अर्ब डलर छ । ती देशमध्ये पनि केन्या र इथियोपियाको दश वर्षअघिको जिडिपी लगभग अहिले नेपालको जिडिपीजत्तिकै थियो । केन्याको ३७ अर्ब र इथियोपियाको करिब २९ अर्ब डलर थियो ।
यही तथ्यांकलाई विश्लेषण र मूल्यांकन गर्ने हो भने १०० अर्ब डलर अर्थतन्त्रको लक्ष्य नेपालले प्राप्त गर्न नसक्ने भन्ने होइन । यसका लागि नीतिगत सुधार र सोहीअनुसारको वातावरण निर्माण गर्नु जरुरी छ । त्यसका अलावा विश्व बजारमा सम्भावना बोकेका सूचना प्रविधिजस्ता क्षेत्रलाई बढावा दिनुका साथै वस्तु तथा सेवाको उत्पादन र उत्पादित वस्तु तथा सेवाको अन्तर्राष्ट्रियस्तरमा बजारीकरण हुनु जरुरी छ ।
रेमिट्यान्समार्फत होस् या होटेल, पर्यटन, उद्योग, आधुनिक कृषि, जलविद्युत्, सूचना प्रविधि, बैंक तथा वित्तीय क्षेत्रमा गरेको लगानी, एनआरएनए मुलुकको अर्थतन्त्रको एक प्रमुख साझेदार हो
काठमाडौंस्थित अनुसन्धान संस्था, आइआइडिएसले हालै गरेको एक अध्ययनले नेपालका सूचना प्रविधि कम्पनीले एक वर्षमा झन्डै ६८ अर्ब रुपैयाँबराबरको सूचना प्रविधि सेवा निर्यात गरिरहेको देखाएको छ । आइटी सेवा निर्यातले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत र कुल विदेशी मुद्रा आर्जनमा ५.५ प्रतिशत योगदान पु¥याएको पनि प्रतिवेदनमा भनिएको छ । यी त नयाँ क्षेत्र भए । यसबाहेक कृषिलाई आधुनिकीकरण तथा पर्यटन र औद्योगिक क्षेत्रलाई पुनरुत्थान गरेर हामीले अर्थतन्त्रलाई नयाँ गति दिन सक्छौँ । देशभित्रै रोजगारी सिर्जना गर्न सक्छौँ र दैनिक विदेश गइरहेका हजारौँ युवायुवतीमध्ये धेरैलाई देशभित्रै सम्मानित रोजगारीको व्यवस्था गर्न सक्छौँ ।
हाम्रो लक्ष्य : यतिवेला गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ११औँ महाधिवेशनको संघारमा छ । गैरआवासीय नेपालीको साझा र पवित्र संस्थामार्फत मुलुकमा लगानी भिœयाउने विषय नेतृत्वदायी भूमिकामा रहने व्यक्तिको सोच र भिजनले निर्धारण गर्ने हो । यसका लागि एक्सन प्लानलाई प्राथमिकतामा राखेर रणनीतिक रूपमा काम गर्नुपर्नेछ । संस्थाको महत्व, उद्देश्य, लक्ष्य र गर्विलो इतिहासलाई जोखाइराख्न र विश्वभरका गैरआवसीय नेपालीलाई एकताको सूत्रमा बाँधेर अघि बढ्न दृढ संकल्प आवश्यक देखिन्छ । भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउन पवित्र मन र दृढता जरुरी छ ।
समृद्ध र समुन्नत नेपालको साझेदार बन्न ‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’को नारालाई सार्थक बनाउनैपर्छ । एनआरएनएले सहज र सरल ढंगले स्वदेशमा लगानी गर्ने वातावरण बन्यो भने मात्र वैदेशिक लगानी भित्रिने भएकाले लगानीको वातावरण बनाउने सवालमा सरकार गैरजिम्मेवार बन्न सक्दैन र बन्न मिल्दैन । सरकारले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको सुरुवात गर्नु एउटा सकारात्मक पहल हो, तर वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरताका लागि पनि नेपाली राजनीतिक दलहरू र सरकार सकारात्मक हुनुपर्छ ।
सरकारले समयमै कानुनी र नीतिगत सहजीकरण नगर्दा घोषणा गरिएका ठूला लगानीले मूर्त रूप पाउन सकेको छैन । यसको पछिल्लो उदाहरण गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोष हो । यो कोष अबको दुई वर्षे कार्यकालमा कार्यान्वयन नगरी सुखै छैन । जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपाली समेट्ने उद्देश्यले कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्नुपर्ने आवश्यक छ ।
गैरआवासीय नेपालीको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुनहरूलाई समयाअनुकूल परिमार्जित तथा संशोधन गर्दै लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन जरुरी देखिन्छ । देशको अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालीन योजना र महत्वाकांक्षी सपना देख्नुपर्छ भन्ने मान्यताअनुरूप सन् २०३० सम्म १०० अर्ब डलरको अर्थतन्त्र बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने, गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेका ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापनालाई प्राथमिकतामा राख्नुपर्छ ।
संसारभरि रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूले आ–आफ्नो हिसाबले नेपालमा उत्पादन भएका चिया, कफी, वास्तुकला, हस्तकलाका सामग्रीहरूको बिक्री वितरणमा सघाउँदै आएका छन् । तर, नेपाली उत्पादनको गुणस्तर सुनिश्चित गर्दै विश्वबजारमा नेपाली निर्यात वृद्धि गर्न नेपालका सरकारी निकाय तथा विदेशस्थित दूतावाससँग निकट सहकार्य गर्न संघ तत्पर छ ।
नेपाल संघीय संरचनामा गइसकेको छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग फरक–फरक कार्यक्रमअनुसार अघि बढ्ने नीतिअनुरूप तीनै तहका सरकार र निजी क्षेत्रसँगको सहकार्यमा उपयुक्त स्थान छनोट गरी एउटा व्यावसायिक तालिम केन्द्र स्थापना दुई वर्षभित्रै हुनुपर्ने देखिन्छ । पछिल्ला वर्ष वैदेशिक रोजगारी नेपालका लागि राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ । तर, विदेशी भूमिमा श्रमिकका रूपमा पुगेका नेपालीहरू भौतिक रूपमा सुरक्षित नभएको प्रशस्त उदाहरण छन् । यसै विषयलाई मध्यनजर गर्दै वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पु¥याउने व्यवस्था मिलाउन एनआरएनएको भूमिका आवश्यक छ । यसका साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँग समन्वय गरी १० करोडको श्रमिक कल्याणकारी कोष सञ्चालन हुनु जरुरी छ ।
सरकारले केही समयअघि वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड रुपैयाँमा ल्याएको छ । तर, हामी एनआरएनहरूका लागि वैदेशिक लगानीमा सीमा नतोकियोस् भन्ने चाहन्छौँ । नेपालीसरह एनआरएनलाई पनि लगानी गर्न दिँदा त्यसले नेपालमा रोजगारी प्रवद्र्धन र आर्थिक गतिविधि वृद्धिमा सघाउ पुग्छ, नेपाली अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।
स्वदेशमा पर्याप्त लगानी भित्रिन नसक्नुमा गैरआवासीय नेपाली नागरिकतामा ढिलाइ, डलर एकाउन्टलगायतका विषयमा कानुनी अस्पष्टता आदि कारण हुन् । यसका लागि एनआरएनए र नेपाल सरकारबीच निरन्तर छलफल जरुरी छ । नेपालको समृद्धिमा एनआरएनएको साझेदारी बलियो बनाउन भावी नीति, रणनीति, कार्ययोजना तथा दशवर्षे विस्तृत भिजनरी दस्तावेज तयार गर्न विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय समिति गठन गरेर काम गर्ने लक्ष्य लिनुपर्छ । त्यसका साथै एक एनसिसी, एक परियोजना’लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रूपमा अघि बढाउन सकिन्छ ।
अध्ययन, रोजगारीका साथै अन्य कारणले बिदेसिनु हामी नेपालीको बाध्यताजस्तै छ । तर, संसारका जुनसुकै कुनामा पुगे पनि मातृभुमिको माटोप्रति अगाध प्रेम रहने गर्छ । विदेशमै बसेर जन्मभूमि अर्थात् मातृभूमिको प्रवद्र्धन र प्रचारका लागि गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिता गराउनका लागि ‘एक साथी नेपाल पठाउँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔँ’ अभियान गर्ने र नेपाल फेस्टिभलजस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्न सके नेपालको दिगो विकास र समृद्धिमा सघाउ पुग्नेछ ।
प्रवासीहरूको तन, मन, धन, स्नेह र माया स्वदेशप्रति धेरै छ । यसको उदाहरण विनाशकारी महाभूकम्प, विश्वभर महामारीका रूपमा भित्रिएको कोरोना भाइरसका वेला पठाएको मानवीय, प्राविधिक र आर्थिक सहयोगबाट प्रस्ट हुन्छ । जलवायु परिवर्तनजस्ता समस्यासँग जुध्न पनि नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ । एनआरएनएले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकहरूका चासो र चिन्ता मुखर गर्न सक्छ । त्यसैले अबको एनआरएनएले नेपालमा लगानी भित्र्याउन विदेशमा रहेका नेपालीहरूमा प्रोत्साहन र अवसर सिर्जना गर्नु जिम्मेवारी ठान्नुपर्छ । प्रवासमा रहेका नेपालीहरूको सम्मान र नेपाल र नेपालीको समृद्धि अबको महाअभियान हुनुपर्दछ । आफ्नो स्थापनाकालदेखि नै संघले नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ । प्रवासी नेपालीको क्षमता र सामथ्र्य नेपालको हितमा परिचालन गर्न अब ढिलो गर्नुहुँदैन ।
(श्रेष्ठ गैरआवासीय नेपाली संघका उपाध्यक्ष हुन्)