१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज १० बुधबार १०:२८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१९औँ एसियाड : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित    

Read Time : > 1 मिनेट
२०८० असोज १० बुधबार १०:२८:००

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मंगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरू ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्वकीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।  नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।