Skip This
१९औँ एसियाड : भारोत्तोलनमा विशालको ऐतिहासिक कीर्तिमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:३१:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : भारोत्तोलनमा विशालको ऐतिहासिक कीर्तिमान

तीन राष्ट्रिय कीर्तिमानसहित विशाल बने तीन सय एक केजी वजन उठाउने पहिलो नेपाली खेलाडी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:३१:oo

नेपालका विशालसिंह विष्टले बिहीबार १९औँ एसियाली खेलकुदतर्फ भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएका छन् । हाङझाउको चियोसन स्पोर्टस् सेन्टर जिम्न्यासियममा पुरुष ९६ केजी तौलसमूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित समग्रमा तीन सय एक केजी वजन उठाउने पहिलो नेपाली खेलाडी बनेका छन् । विशालले कीर्तिमान रच्नुअघि कुनै पनि नेपाली भारोत्तोलकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोतिगामा समग्रमा तीन सय केजीसम्मको भार पनि वहन गरेका छैनन् । भारोत्तोलन टिम व्यवस्थापक पनि रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले विशाल नयाँ इतिहास रच्न सफल भएको बताएका छन् । 

‘अहिलेसम्म विशालले जत्तिको भार वहन कसैले पनि गरेका छैनन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘यस कीर्तिमानबाट हामी सबै खुसी छौँ ।’ विशालले स्न्याचमा एक सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ६८ केजी र कुलमा तीन सय एक केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।

यसअघि स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ केजी र कुलमा २ सय ९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । उनले यो कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए । स्न्याचमा विशालले दोस्रो लिफ्टमा १ सय २७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १ सय २१ केजी तौल उचालेका थिए । 

एथलेटिक्स म्याराथनमा दुईसहित कुल आठ खेलाडी सहभागी, दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य खेलाडी पदकको नजिक पुगेनन् 

त्यस्तै, क्लिन एन्ड जर्कमा लिफ्टमा १ सय ६१ केजी वजन उठाएका विशालले दोस्रो लिफ्टमा १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान राखे । उनले तेस्रो लिफ्टमा १ सय ७५ केजी तौल उचाल्दै कीर्तिमान सुधार्ने प्रयास गरे, तर उनी सफल भएनन् । पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्नेछन् ।

एथलेटिक्समा व्यक्तिगत र राष्ट्रिय कीर्तिमान मात्र 
१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाल सहभागी भएको २९ खेलमध्ये एथलेटिक्स एक विधा हो । एथलेटिक्समा नेपालको प्रदर्शन कमजोर रह्यो । एक धावकले मात्र राष्ट्रिय कीर्तिमान र अन्यले व्यक्तिगत रेकर्ड मात्र सुधार गरे । एथलेटिक्समा नेपालबाट म्याराथनमा दुईसहित कुल आठ खेलाडीले भाग लिएका थिए । पुरुष १० हजार मिटरमा दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । अन्य खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । 

राजपूरा पछाई, फूलमती राना र गोपीचन्द्र पार्कीले आफ्नो समय मात्र सुधार गरे । उनीहरूबाट राष्ट्रिय कीर्तिमान बन्ने अपेक्षा थियो । फूलमती रानासहित सोमबहादुर कुमाल र सन्तोषी श्रेष्ठले समान दुई इभेन्टमा सहभागिता जनाएका थिए । प्रतियोगिताको बिहीबार पुरुष म्याराथनमा राजन रोकाया र महिला म्याराथनमा पुष्पा भण्डारीले प्रतिस्पर्धा गरेका थिए । दुवैको दौडसँगै नेपालको चुनौती एसियाडमा समाप्त भएको हो । 

राजन सहभागी म्याराथनमा १६ जनाले भाग लिएका थिए । उनी सहभागीमध्ये १४औँ स्थानमा रहे । उनले २ घन्टा २३ मिनेट १७ सेकेन्डमा दौड पूरा गरे । यस स्पर्धामा २ घन्टा १३ मिनेट २ सेकेन्डका साथ चीनका जि हीले स्वर्ण जितेका छन् । यसैगरी, महिला म्याराथनमा पुष्पा सबैभन्दा पुछारमा रहिन् । उनी सहभागी दौडमा १६ जना धावक थिए । उनी अन्तिम स्थानमा रहिन् । पुष्पाले ३ घन्टा २ मिनेट ३७ सेकेन्डमा आफ्नो दौड सकाइन् । 

यस स्पर्धामा २ घन्टा २४ मिनेट १४ सेकेन्डका साथ बहराइनकी चेबेची पाउलले स्वर्ण जितिन् । महिला १० हजार मिटर दौडमा १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषीले छैटौँ स्थानमा दौड सकाइन् । नेपाली धावकमध्ये दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । दीपकले २९ मिनेट ३५.०६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी आफ्नो विधामा सातौँ स्थानमा रहे । 

दीपकले आफ्नै नाम रहेको कीर्तिमान सुधार गरेका हुन् । उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनले यसै १० हजार मिटरमा ३० मिनेट १०.३० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । पुरुष चार सय र ८ सय मिटरमा सोमबहादुर कुमाल हिट चरणबाट बाहिरिएका थिए । यसैगरी, १५ सय मिटर दौडमा नेपालकी फूलमती रानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । उनले निर्धारित दूरी पार पर्न ४ मिनेट ३७.६४ सेकेन्ड लगाइन् । उनी आफ्नो स्पर्धाको १५औँ स्थानमा रहिन् । 

यसअघि, उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा भएको एसियन च्याम्पियनसिपमा चार मिनेट ४९ दशमलव २२ सेकेन्डको समयमा दौड पूरा गरेकी थिइन् । यसैगरी, महिला पाँच हजार मिटर दौडमा नेपालकी राजपुरा पछाईले एसियाडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । उनले १२औँ स्थान रक्षा गर्दा १७ मिनेट ५.३४ सकेन्डको समय निकालिन् । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट ५८.५४ सेकेन्ड थियो । 

सन्तोषीले आफ्नो दौडसमेत पूरा गर्न सकिनन् । महिला आठ सय मिटर दौडमा फूलमती र दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरे । गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्डको थियो । यो स्पर्धामा गोपी ११औँ स्थानमा रहेका थिए । 

क्यानोइङका गणेश सेमिफाइनलमा
एसियाडको क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी भएका गणेश अन्तिम चारको चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइनलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औँ भए । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौँ भए पनि छनोट हुन सफल भए । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जनामध्ये १० खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाँकी ६ खेलाडी बाहिरिनेछन् । 

कुस्तीमा फराकिलो हार
कुस्तीमा नेपालकी सुवांगी दुवे पराजित भएकी छिन् । लिनान स्पोर्टस् कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी शृपाराले सुवांगीलाई ८–० ले हराइन् । पहिलो राउन्डमा शृपाराले ८–० अंक जोडिन् । दोस्रो चरणमा शिवांगी र शृपाराले स्कोर गर्न सकेनन् ।

कराँतेको पहिलो दिन तीनै खेलाडी पराजित कातामा नेपालको चुनौती समाप्त
नेपालले एसियाडमा मार्सल आर्ट विधाअन्तर्गत कराँतेबाट पदकको आशा गरेको छ । चीनको हाङझाउमा बिहीबारदेखि कराँते खेल सुरु भएको छ । कराँतेको पहिलो दिन कातातर्फ खेल भयो । नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । खेलाडीले अपेक्षाविपरीत प्रदर्शन गर्दा नेपालको कातातर्फ चुनौती सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण पार गर्न सकेनन् । सोनिमले पुल २ मा पाँचौँ स्थानमा रहँदा दोस्रो चरणमा स्थान बनाउन चुके । 

काताको हरेक पुलबाट शीर्ष चार खेलाडी अर्को चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ । सोनिम झिनो अन्तरले अघि बढ्न नसकेका हुन् । सोनिमले कुसान्कु कातामा आफ्नो प्रस्तुति गरेका थिए । उनले ३८.३ अंक हात पारे । यस विधामा जापानका काजुमासा मोटो ४२.९ अंकसहित शीर्ष स्थानमा रहे । कुवेतका साएद अल्मोसवी र दक्षिण कोरियाका पार्क हिजुनले समान ४१.६ अंक जोडे । भियतनामका मिन फाम ४० अंकका साथ अघिल्लो चरणमा गए । कतारका आधाम हासेम ३८ अंकका साथ पुछारमा रहे ।

यसैगरी, एलिसा सहभागी आठ खेलाडीमध्ये आफ्नो पुलमा छैटौँ स्थानमा रहे । उनी पनि अघिल्लो चरणमा जान सकिनन् । एलिसाले पापुरेन काता प्रस्तुत गरेकी थिइन् । एलिसाले ३७.३ अंक हात पारेकी थिइन् । जापानकी कियो सिमिजुले सर्वाधिक ४२.६ अंक हात पारेकी थिइन् । हङकङकी ग्रेस लाउ ४१.७ अंकका साथ दोस्रो र फिलिपिन्सकी साकुरा अल्फोर्टे ४० अंक जोड्दै तेस्रो भएका भए । इन्डोनेसियाकी अप्रिलिया पुत्रीले ३९.८ अंकका साथ अर्को चरणमा स्थान बनाइन् । नेपालले टिम कातामा भने सहभागिता जनाएको छैन । 

कुमुतेमा पनि निराश
नेपाली टोलीले कातामा खराब प्रदर्शन गरे पनि कुमुतेमा पदकको आशा थियो । तर, यस विधाको पहिलो दिन सहभागी सबै खेलाडी पराजित भए । कुमुतेमा नेपालबाट ६ खेलाडी सहभागी छन् । बिहीबारै भएको कुमुतेतर्फ पुरुष ७५ केजी तौलसमूहमा मोहमद सेखु आलम पराजित भएका छन् । उनी पहिलो खेलमा एसियन च्याम्पियनसिपका स्वर्ण विजेता कजाकस्तानका नुराकानात अजिकानोभसँग ५–० ले पराजित भए । अजिकानोभ फाइनल पुगेपछि सेखु आलमले रिपेचेज खेल्ने मौका पाएका थिए । रिपेचेजमा पनि उनले पहिलो राउन्डमा बाई पाएका थिए । रिपेचेजको दोस्रो राउन्डमा किर्गिस्तानका नाजिम नुर्लानोभसँग २–० ले पराजित हुँदै बाहिरिए । 

कुमुतेकै विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौलसमूहको अन्तिम १६ चरणमा ताजकिस्तानका उमेद साफारोभसँग, निरुपा तामाङले ६१ केजी तौलसमूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तरासँग खेल्नेछन् । एरिका गुरुङले ६८ केजी तौलको क्वार्टरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् । सन्तोष श्रेष्ठले ६७ केजी तौलसमूहको अन्तिम १६ मा थाइल्यान्डका चाइवाट फियान्दीसँग खेल्नेछन् । सविना श्रेष्ठले १९औँ एसियाडको समापनको दिन आइतबार ५० केजी तौलसमूहको अन्तिम ३२ मा चीनकै रानरान लीसँग खेल्नेछिन् । 

ad
ad