सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कांस्य पदकमै चित्त बुझाउनुपर्यो
नेपालले सन् १९८६ को दक्षिण कोरियामा भएको एसियन खेलकुद प्रतियोगिता (एसियाड)देखि जित्दै आएको पदकको निरन्तरतालाई १९औँ संस्करणसम्म दिएको छ । चीनको हाङझाउमा चलिरहेको एसियाडमा नेपाललाई अहिलेसम्म एक मात्र कांस्य पदक नेपाली कबड्डी महिला टोलीले दिलाएको हो । यद्यपि, समूह चरणको पहलो खेलमै नेपाल चालू एसियाडमा पदकविहीन निश्चित भइसकेको थियो । नेपालले कुन पदकमा सीमित जित्ने भनी छिनोफानो शुक्रबार मात्र सम्पन्न सेमिफाइनलबाट भयो ।
कबड्डीको पहिलो सेमिफाइनलमा नेपाल स्वर्णपदक दाबेदार भारतसँग ६१–१७ ले पराजित भयो । हारसँगै नेपाल सेमिफाइनल लिस्टमा सीमित हुँदै कांस्य पदक हात पार्यो । नेपालले एसियाडमा १०औँ संस्करणदेखि पदकविहीन नहुने परम्परालाई निरन्तरता दियो । हाङझाउ जिआओसान गुआली स्पोर्टस् सेन्टरको कोर्ट–२ मा भारतले पहिलो तथा दुवै हाफमा समान नौ बोनस अंक प्राप्त गरेको थियो । नेपालले दुवै हाफमा समान पाँच बोनस अंक बटुल्यो । पाँच वर्षभित्र दोस्रोपटक महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई विपक्षी पाउँदा नेपाली खेलाडी पूरै निरीह देखिए ।
दुवै हाफमा नेपालका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरको अनुभव नभएको प्रस्ट देखिन्थ्यो । यद्यपि, नेपाली खेलाडीले भारतको हरियाणामै दुई महिनाको प्रशिक्षण गरेको थियो । तर, यो प्रशिक्षण भारतलाई कडा चुनौती दिन पर्याप्त भएन । नेपालले कुनै पनि समयमा भारतलाई अल आउट गर्न सकेन । यसअघि तीन टोली सम्मिलित समूह ‘बी’मा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । नेपाल दोस्रो खेलमा इरानसँग पराजित थियो ।
इरानले बंगलादेशलाई हराएसँगै नेपाल समूहको उपविजेता रहँदै अन्तिम चारको स्थान पक्का पार्यो । प्रतियोगिताको नियमअनुसार सेमिफाइनल लिस्टलाई समेत संयुक्त रूपमा कांस्य पदक प्रदान गर्ने प्रावधान छ । समूह ‘ए’बाट भारत र चाइनिज ताइपेई अन्तिम चारमा पुगेका थिए ।
कबड्डीले एसियाडमा डेब्यु खेलमा एक खेल जित्यो । दुई खेलमा हारको सामना गर्यो । कबड्डीले सहभागी भएकै संस्करणमा पदक जित्दै नेपालको इज्जत चीनमा जोगाएको छ । यसअघि नेपालले बक्सिङ, उसु, तेक्वान्दो र कराँतेबाट पदकको आशा गरिएको थियो । तर, सम्भावित पदक जित्न सक्ने खेलले चीनमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।
सबैजसो खेलाडी पहिलो चरणबाटै बाहिरिए । नेपाल सन् २०१० देखि एक पदक मात्र सीमित भएको छ । सन् २०१० को हाङझाउ एसियाडमा बक्सिङमा दीपक महर्जनले कांस्य हात पारेका थिए । सन् २०१४ को इन्चोन एसियाडमा कराँतेमा विमला तामाङले कांस्य दिलाइन् । सन् २०१८ को जाकार्ता–पालेङबाङ भएको संस्करणमा प्याराग्लाइडिङले क्रस कन्ट्रीमा नेपाललाई रजत पदक दिलाएको थियो ।
कप्तान राजवंशी दंग
भारतसँग कमजोर प्रदर्शन गरेको नेपाली टोलीका खेलाडी कांस्य पदकसहित घर फर्कन पाउँदा खुसी छन् । कबड्डीको रिङमा पराजित भएपछि खेलाडीले सामान्य रूपमा खुसी मनाएका थिए । यद्यपि, बंगलादेशमाथि सानदार जितमै खुसी मनाएका थिए । नेपाली टोलीको कप्तानी गर्दै पदक दिलाएकी मेनुका राजवंशीले खेलजीवनमा यति धेरै खुसी कहिल्यै पनि नपाएको बताएकी छिन् । उनी भन्छिन्, ‘१५ वर्षको कबड्डीको करिअरमा यति धेरै दुःखी कहिल्यै पनि भइनँ ।’ सुरुमा उनले खोखो खेल्न थालेकी थिइन् । खोखोमा राम्रो गर्दागर्दै उनलाई प्रशिक्षक बिकुलाल चौधरीले कबड्डी खेल्न सुझाव दिए । त्यसपछि उनले कबड्डी खेललाई नै पहिचान बनाउने अठोट लिइन् । ‘खोखोबाट कबड्डी खेल्न गुरुले सुझाब दिनुभएको थियो, फेरि राम्रो गर्न सक्ने खेलाडी विभागमा जागिर पाउन सक्ने सम्भावना थियो,’ उनले भनिन् । जब उनले कबड्डीलाई प्राथमिकतामा राखिन् । उनी बस्ने गाउँमा प्रशिक्षण नै हुँदैनथ्यो । ‘घन्टाको यात्रापछि प्रशिक्षण हुन्थ्यो, फर्केर आएर घरमा सहयोग गर्नुपर्ने थियो,’ उनले भनिन् । जिल्लास्तरबाट उनलाई राष्ट्रियसम्म पुग्न धेरै समय लागेन । ०६५ सालमा काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय खेलकुृद प्रतियोगितामा उनलाई पूर्वाञ्चलले बोलाएको थियो । पहिलोपटकको राष्ट्रिय खेलमा उनले कांस्य जितिन् । धनगढीमा भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा उनी पूर्वाञ्चलकी कप्तान नै बनिसकेकी थिइन् ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेको धेरैपछि उनले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर पाइन् । सन् २०१६ मा राजवंशीले भारतको गुवाहाटीमा भएको १२औँ सागमा पहिलोपटक राष्ट्रिय टोलीमा सहभागी भइन् । त्यस वेला नेपालले कांस्य जितेको थियो । सन् ०१९ मा नेपालमै भएको १३औँ सागमा नेपालले इतिहास रच्दै कांस्य जितेको थियो । यस बेला उनी नै नेपाली टोलीकी कप्तान थिइन् ।
हल बनाउन माग
कबड्डीलाई पदक जित्ने लिस्टमा समावेश गरेको थिएन । कसैले नसोचेको परिणाम दिएको कबड्डीले कांस्य नै जितेको छ । नेपाली संस्कृतिसँग समेत जोडिएको कबड्डी खेलको विकास र विस्तार सोचेजस्तो छैन । यतिसम्मकी राष्ट्रिय टोलीमा सहभागी पुरुष–महिला खेलाडीलाई प्रशिक्षण दिलाउने आफ्नै हलसमेत संघसँग छैन । यस्तो अवस्थामा नेपालका कबड्डी खेलाडी त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफमा आबद्ध रही प्रशिक्षण गरिराखेका छन् । भारतको प्रशिक्षणपछि नेपाल फर्केका महिला खेलाडीले राम्रोसँग अभ्याससमेत गर्न पाएनन् । ‘हामीले एसियाडअगाडि नेपालमा राम्रोसँग प्रशिक्षणसमेत गर्न पाएनौँ,’ कप्तान राजवंशीले भनिन्, ‘धेरै अवरोधबीच यहाँसम्म आइपुगेका छौँ । कप्तान, प्रशिक्षक मात्र नभएर अन्य खेलाडीले पनि कबड्डीको आफ्नै प्रशिक्षण हल हुनुपर्ने माग राखेका छन् ।
महिला भलिबलमा हङकङसँग पराजित
महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौँदेखि १२औँ स्थानसम्मका लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो । हाङझाउ नर्मल युनिभर्सिटी जिम्न्यासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित गर्यो । नेपालको यो चौथो हार हो । समूह चरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को नतिजामा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो । अब नेपालले ११औँ स्थानका लागि मंगोलियासँग खेल्नेछ । उक्त खेल आज हुनेछ । मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलोपटक सहभागिता जनाएको हो ।
ब्रेकिङका दीपक बाहिरिए
हाङझाउ एसियाडअन्तर्गत डान्स स्पोटर्स्को ब्रेकिङ विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ भएको प्रि–सेलेक्सनमा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् । प्रि–सेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा दीपक २३औँ स्थानमा रहे । दीपकभन्दा पछि ताजकिस्तानका दुई खेलाडी रहे । एसियाडको डान्स स्पोट्र्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन् । दीपकले एसियाडअघि बेल्जियममा भएको वल्र्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । प्रि–सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन्् । एसियाली खेलकुदमा डान्स स्पोर्टस् पहिलोपटक समावेश गरिएको हो ।
कराँतेमा विप्लव पदकबाट चुके
चीनको हाङझाउमा सञ्चालन भइरहेको १९औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालका विप्लवलाल श्रेष्ठ कांस्य पदकको भिडन्तमा चुकेका छन् । प्रतियोगिताको शुक्रबार ८४ केजीमाथिको तौल समूहमा साउदी अरेबियाका अली मोहमद हमेदीसँग उनी पराजित भएका हुन् । हारसँगै विप्लवले नेपाललाई सन् २०१४ पछि इन्चोन एसियाडपछि कांस्य पदक जित्ने अवसर गुमाए । विश्व कराँतेमै अनुभवी इरानी खेलाडी मोहमदसँग विप्लव ९–१ को फराकिलोअन्तरले पराजित भए ।
कराँतेमा विप्लवबाट पदक आशा गरिएको थियो । भिडन्तमा उनी मोहमदसँग सुरुदेखि नै कमजोर देखिए । १:१० मिनेटमा मोहमदले उनलाई ४–० ले पछि पारेका थिए । खेलको १:४१ मिनेटमा विप्लवले मोहमदविरुद्ध पहिलो अंक बटुल्दै ४–१ को स्थितिमा राखे । आक्रामक रूपमा प्रस्तुत भएका विप्लवले त्यसपछि विपक्षीलाई चुनौती प्रस्तुत गर्न सकेनन् । मोहमदले उनीमाथि एकहोरो रूपमा अंक बटुल्दै गए । खेलको दुई मिनेट २२ सेकेन्डमा मोहमदले ९–१ ले बाजी मारे ।
उनले प्रिक्वार्टरफाइनलमा ताजकिस्तानका खेलाडीलाई १२–४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । क्वार्टरफाइनलमा विप्लव किर्गिस्तानका खेलाडीसँग ५–१ अंकले पराजित भए । किर्गिस्तानका खेलाडी फाइनलमा पुगेसँगै उनले रिपाचेमा स्थान बनाए । रिपाचेको पहिलो राउन्डमा बाई पाएका उनले कांस्य पदकको भिडन्तमा साउदीका खेलाडी मोहमदको सामना गरेका हुन् । विप्लव सन् २०१९ को उनी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेता हुन् । उनले सागको स्वर्ण भिडन्तमा पाकिस्तानी खेलाडीलाई हराएका थिए । एसियाडमा शुक्रबारै महिलातर्फ नेपालकी निरूपा दोङ तामाङ बंगालदेशकी खेलाडीसँग पहिलो चरणमै पराजित भएकी छिन् । प्रतियोगिताको पहिलो दिन बिहीबार कातामा दुई इभेन्ट र कुमेतेमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी बाहिरिएका थिए ।
यसअघि पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगर पहिलो चरणबाट बाहिरिएका थिए । सोनिमले कुशान्कु कातामा ३८.३ अंक हात पारे । एलिसा आठ खेलाडी सहभागीमध्ये आफ्नो पुलमा छैटौँ स्थानमा रहिन् । एलिसाले पापुरेन कातामा ३७.३ अंक हात पारेकी थिइन् । नेपालको टिम कातामा भने सहभागिता जनाएको छैन । कुमुतेमा पुरुष ७५ केजी तौलसमूहमा मोहमद सेखु आलम पराजित भए । आलमले रिपेचेज खेल्ने मौका पाउँदा पहिलो राउन्डमा बाई पाए । उनी कीर्गिस्तानका नाजिम नुर्लानोभसँग २–० ले पराजित हुँदै बाहिरिए ।
कुस्तीमा सुशीला पराजित
कुस्तीमा नेपालकी सुशीला चन्द पराजित भएकी छिन् । लिनान स्पोट्र्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशीलालाई १०–० ले पराजित गरेकी हुन् । अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवांगी दुवे थाइल्यान्डकी शृपारासँग ८–० ले पराजित भएकी थिइन् ।
शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । १२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभविरुद्ध खेल्नेछन् ।
‘३०१ केजी तौल उठाएको सुरुमा त विश्वासै भएन’
महेन्द्रनगरका विशालसिंह विष्टले भारोत्तोलन इतिहासमा अहिलेसम्मकै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । चीनको हाङझाउमा चलिरहेको १९औँ एसियाडमा ९६ केजी तौल समूहमा तीन सय एक केजी तौल उठाएपछि उनी एकाएक चर्चामा छन् । यसअघि कुनै पनि नेपाली खेलाडीले तीन सयमाथि तौल उठाएका थिएनन् । उनले क्लिनमा एक सय ३३ केजी र जर्कमा एक सय ६८ केजी तौल उठाउँदै इतिहास नै रचे । एसियाडअघि उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन दुई सय ९१ केजी तौल रहेको थियो । पछिल्ला रेकर्ड तोड्न उनले थप १० केजी भार वजन उठाउँदा एउटा इतिहास नै बन्यो ।
महेन्द्रनगरका यी खेलाडीले आठ वर्षदेखि भारोत्तोलन खेल्न थालेका हुन् । जुनियरमा उनी राष्ट्रिय च्याम्पियन नै थिए । जुनियरदेखि सिनियरसम्म एक राम्रा खेलाडीका रूपमा परिचित गराउन उनले धेरै समस्या भोगे । त्यसको प्रतिफल एसियाडमा राम्रै पाएका छन् । यस खेलमा लागेको तीन–चार वर्षपछि उनले घरेलुु प्रतियोगितामा स्वर्ण जिते । सातौँ राष्ट्रिय खेलकुदमा पहिलोपटकको सहभागिता र आठौँमा उनले रजत जिते । गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनले स्वर्णमाथि नै कब्जा जमाए । अन्तर्राष्ट्रियस्तरमा उनले दक्षिण एसियाली खेलकुदमा रजत जितेका छन् । विष्टसँग नयाँ पत्रिकाले गरेको कुराकानी :
एसियाली खेलकुद प्रतियोगितामा मेरो यो पहिलो सहभागिता हो । एसियाडमा प्रतिस्पर्धा गर्नुअघि नेपाली टोलीले विश्व च्याम्पियनसिपमा सहभागी भएको थियो । त्यहाँको अनुभवले चीनको हाङझाउमा राम्रो नतिजा आउने विश्वास थियो । मैले एसियाडमा कम्तीमा राष्ट्रिय रेकर्डसहित घर फर्कने योजना बनाएको थिएँ । सुरुवातमा अलिकति नर्भस भएँ । ९६ केजी तौल समूहको प्रशिक्षण भइरहँदा गुरुहरूले जिस्क्याउँदै भन्नुहुन्थ्यो, ‘तिमीहरू (म र सागर भण्डारी)ले एसियाडमा तीन सय कटाउनुपर्छ ।’ गुरुले मलाई तीन सय एक र सागरलाई तीन सय केजी तौल उठाउन सक्ने हिम्मत दिलाइराख्नुभएको थियो ।
नेपालको भारोत्तोलन खेलको इतिहासमा कसैले पनि तीन सय केजी तौलभन्दा माथि उठाएको रेकर्ड छैन । हामी दुई खेलाडीमध्ये एकले इतिहास बनाउन सक्ने उहाँहरूको विश्वास थियो । यसलाई हामीले कहिले पनि दबाबका रूपमा लिएनौँ । गुरुहरूले हामीमाथि विश्वास गरेका कारण नै यस्तो आत्मविश्वास दिलाउनुभएको हो । प्रशिक्षणअनुसार यो लेभलमा रेकर्ड राख्न नसकिने भन्ने लागेको थिएन । मनमा नेपाली भारोत्तोलन खेलाडीले तीन सयमाथिको तौल वजन उठाएको रेकर्ड राख्न सक्ने सुरुमा थिएन । एसियाडजस्तो एरिनामा मैले एक्कासि तीन सय एक केजी भार उठाएँ ।
सुरुमा म स्वयंलाई यो विश्वास लागेको थिएन, ‘अरे मैले तीन सय केजी तौल माथि उठाएँ ।’ प्रत्येकपटकको भार वहन सफल भइरहेको थियो । क्रमिक तीन सय केजीमाथि तौल उठाउने योजना बन्यो । लास्टको प्रयासमा नर्भस भइरहेको थिएँ । तर, मैले आफ्नो प्रयासलाई सफल पारे । हामीजस्तो खेलाडीले तीन सय एक केजी तौल वजन उठाउनु सामान्य कुरा होइन । यति वेला यो ऐतिहासिक क्षणको वर्णन गर्न शब्द नै छैन । एकातिर मैले रेकर्ड राख्दा विकास भट्टलाई सोचँे, प्रदर्शन गर्न नसक्दा अलि दुःख लागेको छ । हामी दुवैका योजना राष्ट्रिय कीर्तिमानसहित इतिहास रच्नु थियो । अर्कोपटक उसले प्रयास गर्नेछ । फेरि रेकर्ड तोडिनकै लागि बन्नेको हो । यो कहिल्यै स्थायी हुँदैन । मलाई विश्वास छ, विकासले मैले राखेको रेकर्ड तोड्नेछ ।
कम्तीमा तीन महिनाको आराम चाहिन्छ
भारोत्तोलन खेलका विज्ञ वा प्रशिक्षकसँग सोध्दा थाहा हुन्छ कि एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलेपछि एक खेलाडीलाई कति समय आराम चाहिन्छ । यो सबैलाई थाहा छ । हामीले कुनै पनि अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाएपछि कम्तीमा तीन महिनाको आराम चाहिन्छ । विज्ञहरूले तीन महिनाभित्र अर्को प्रतियोगिता खेल्न सुझाव दिँदैनन् । विज्ञहरूले पूरै फिट भएपछि मात्र खेल्न सुझाव दिन्छन् । खेलाडी पूर्ण रूपले फिट हुन ९० दिनजति नै समय लाग्छ । यो भनेको खेलाडीले तीन महिना पूरै रेस्ट गर्नु हो । निकै जोखिम उठाएर सहभागी भयौँ । विश्व च्याम्पियनसिपलगत्तै एसियाड खेल्यौँ । एक किसिमले यसलाई रिक्स नै मान्नुपर्छ । हामी खेलाडीले एसियाडमा जुवा नै खेल्यौँ भन्नुपर्छ । जसमा सफल भयो ।
मिडियाको समाचारले तनाव
यहाँ आउनुअघि हामीले एसियाडमा सहभागिता जनाएका नेपाली खेलाडीको प्रदर्शन पढेका थियौँ । सबै खेलाडीहरू हारसँगै घर फर्किरहेका थिए । मिडियामा नेपालले एसियाडमा सहभागी भएको खेलको नेगेटिभ समाचार मात्र पढ्दा र सुन्दा एक किसिमले खेलाडीमाथि दबाब भएको महसुस भएको थियो । एक किसिमले हामीले नै गाली खाएको जस्तो थियो । राज्यले खेलकुदमा लगानी गरेको छ । खेलाडीहरूले यसको प्रतिफल राम्रोसँग दिन नसक्दा आलोचनाको पात्र बन्नुपर्छ । केवल हारबाहेक समाचार नै नदेख्दा हामी पनि चीनमा यस्तै अवस्थाबाट गुज्रिने त होइन भन्ने डर थियो । मलाई मेरो शक्तिमाथि विश्वास थियो । चीनमा कम्तीमा राष्ट्रिय रेकर्ड राख्छु । मैले सोचेकोभन्दा निकै फरक नतिजा आयो । मैले इतिहास नै बनाएँ । यो एउटा ऐतिहासिक क्षणको वर्णन गर्न शब्द नै छैन ।
निरन्तर प्रशिक्षण हुनुपर्छ
निरन्तर प्रशिक्षण र यसमा एक्सपोज पाउँदा हामी नेपालीले पनि अन्तर्राष्ट्रियस्तरमा पक्कै राम्रो नतिजा निकाल्न सकिन्छ । अहिले हाम्रो एउटा लेभल छ । गुरुहरूको समयमा नेपालको भारोत्तोलनको स्तर फरक थियो । त्यस वेलाका खेलाडीले नेपालको भारोत्तोलनको खेल स्तरलाई माथि पुर्याउनुभएको थियो । बीचमा गएर केही स्तर घटेको जस्तो लाग्छ । अहिले बिस्तारै पुरानै राम्रो अवस्था पुगेको छ । पछिल्ला नतिजा हेर्दा त्योभन्दा पनि माथिल्लो स्तरमा पुगेको छ । हाम्रो जस्तो खेलकुदमा बारम्बार मौका पाउन गाह्रो छ । यसकारण एकपटक प्राप्त मौकामा राम्रो नतिजा निकाल्नुपर्छ । रेकर्ड बनाउन सहज पनि छैन । एसियाडको समाप्तिपछि खेलाडी कहाँ हुन्छ, कसैलाई थाहा छैन ? खेलाडी घर फर्किन्छन् कि प्रशिक्षणमा रहन्छन्, कसैलाई पनि थाहा छैन । नियमित मात्रामा प्रशिक्षण भइरहँदा नेपाली खेलाडीले रेकर्ड बनाउन सक्छन् । अझ पदक पनि जित्न बेर छैन ।