बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त आहार निकै महत्वपूर्ण हुन्छ । दिमागको पूर्ण विकास पाँच वर्षभित्र हुने भएकाले पाँच वर्षमुनिका बालबालिकालाई झनै महत्वपूर्ण हुन्छ । बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिड एकदमै आवश्यक हुन्छ ।
फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ ।
त्यसैले खानेकुरामा केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल समावेश गर्नुपर्छ । चामल, गहुँ, मकै, जौ, कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले लामो समयसम्म ऊर्जा दिने र शारीरिक विकास छिटो हुन्छ ।
घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिल्यै पनि जोड दिनुपर्छ । बच्चाको दिमागी विकासका लागि दूधजन्य पदार्थ एकदमै लाभदायी हुन्छ । समा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ । बच्चालाई प्रोटिनयुक्त खानेकुरा, जस्तै– माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ ।
यस्ता खानेकुरामा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिडजस्ता उपयोगी तत्व पाइन्छन् । जसले बच्चाको दिमागी विकासका साथै सिकाइ र भौतिक विकास अर्थात् उचाइ बढाउँछ । बच्चालाई उमालेको पानी खुवाउनुपर्छ ।
के नखुवाउने ?
- खासगरी, बच्चाहरू फास्टफुड र जंकफुड खान रुचाउँछन् । तर, यस्ता खानेकुराबाट बच्चालाई टाढा राख्नुपर्छ । किनकि, यस्ता खाद्यान्नमा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले बच्चाको वृद्धिविकासमा असर पुग्छ ।
- कोल्डड्रिंक्स र बजारमा किनिएको चिनी मिसिएको जुसले बच्चाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तसर्थ, बच्चालाई यस्ता पेय पदार्थबाट टाढा राख्नुपर्छ ।
- बढी चकलेट, जंकफुड तथा अस्वस्थ खानाले दाँतमा किरा र आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । यसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।