१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २६ मंगलबार ०८:२६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियनसिपमा विकासको राष्ट्रिय रेकर्ड

१६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालका विकास भट्टले पुरुष ८१ केजी तौलसमूहमा तीन नयाँ रेकर्ड राखे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २६ मंगलबार ०८:२६:००

नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी रेकर्ड राखेका हुन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार विकासले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमानमा सुधार गरेका हुन् । उनले स्न्याचमा १२४ केजी भार वहन गरी पूर्ववत् १२३ केजीको रेकर्ड तोडे । यसअघि उनले १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा रेकर्ड बनाएका थिए ।

उनले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम राखे । यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजी उचालेका थिए । उनले समग्रमा उचालेको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

अध्यक्ष श्रेष्ठ प्रतियोगिताका दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।