नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो । यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एमबिपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रिजी र फोरजी) सेवा विस्तार गर्दै आएको थियो ।
हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि बिछ्याइएको फाइबरमार्फत जिल्लासम्म एक सय जिबिपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अप्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।
सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् । कार्यालयका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालू आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने आचार्यले जानकारी दिए ।
त्यस्तै, संखुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको बिर्तामोडबाट पुनः इटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।
सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार ६ सय २१ वटा राउटरमार्फत आठ हजार घरधुरीले अप्टिकल फाइबरमार्फतको इन्टरनेट उपभोग गरिरहेका छन् । भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घरधुरीले, संखुवासभामा नौ सय ८० राउटरमार्फत दुई हजार घरधुरीले र तेह्रथुममा ६ सय ७० राउटरमार्फत एक हजार पाँच सय घरधुरीले इन्टरनेट उपभोग गरिरहेको आचार्यले बताए ।