मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Monday, 06 January, 2025
२o८o भदौ २० बुधबार o७:२o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत ऊर्जा सम्बन्ध मध्यकालीन विद्युत् व्यापारमा प्रवेश : आज रातिबाट एक सय १० मेगावाट बिजुली भारत निर्यात गरिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार o७:२o:oo

भारतसँग हालसम्म अल्पकालीन विद्युत् व्यापार गर्दै आएको नेपालले अब मध्यकालीन विद्युत् व्यापार पनि सुरु हुने भएको छ । विद्युत् निर्यातका प्रस्तावित स्रोत आयोजना स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतसँग मध्यकालीन विद्युत् व्यापार पनि सुरु गर्न लागेको हो । 

सम्भवतः बुधबार रातिदेखि मध्यकालीन विद्युत् व्यापारअन्तर्गत बिजुली निर्यात सुरु हुने प्राधिकरणको विश्वास छ । हाल प्राधिकरणले दैनिक बोलकबोल गरेर अल्पकालीन रूपमा भारतको डे–अहेड मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । प्राधिकरणले पाँच वर्षसम्म (बर्खाको समयमा मात्र) दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग गत जेठमै मध्यकालीन विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो । प्रतियुनिट ५.२५ भारु (८.४० नेपाली रुपैयाँ)का दरमा उक्त पिपिए गरिएको थियो । १७–२० जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नेपाल र भारतबीच मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने समझदारी भएको थियो । 

सोहीअन्तर्गत प्राधिकरण र एनभिभिएनबीच उक्त सम्झौता भएको थियो । समझदारीलाई पूर्णता दिन तयार गरिएको नेपाल–भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापार अन्तरसरकारी सम्झौतापत्र पनि हालै भारतीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । अब छिट्टै दुवै देशका ऊर्जासचिवले काठमाडौंमा विशेष समारोह गरेर सम्झौतापत्रमा हस्ताक्षर गर्दै छन् । 

मध्यकालीन पिपिएअन्तर्गत प्राधिकरणले २६.१९ मेगावाटको दोर्दी खोला, ८३.४२ मेगावाटको सोलु खोला (दूधकोशी), २१.५३ मेगावाटको अपर चाकु ए, ४२.६८ मेगावाटको सुपर मादी र ४०.७४ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनालाई स्रोत मानेर बिजुली बिक्री गर्ने प्रस्ताव भारत पठाएको थियो । त्यसमध्ये भारतले मंगलबार ८३.४२ मेगावाटको सोलु खोला (दूधकोशी) र २६.१९ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनालाई स्रोत मानेर एक सय १० मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणलाई पत्र पठाएको छ । 

त्यससँगै प्राधिकरणले बुधबारबाट नै यसअन्तर्गत विद्युत् निर्यात सुरु गर्ने तयारी गरेको हो । यो विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी प्रसारणलाइनमार्फत भारतको हरियाणा राज्यलाई बिक्री गरिनेछ । प्राधिकरणका विद्युत् व्यापार प्रमुख प्रबल अधिकारीले बुधबार रातिबाट यसअन्तर्गतको विद्युत् निर्यात सुरु गर्ने बताए । ‘विभिन्न आवश्यक प्रक्रिया पूरा गर्दा एक दिन समय लाग्न सक्छ । तर, छिटोमा पनि बुधबार रातिबाट यसअन्तर्गतको विद्युत् निर्यात सुरु हुनेछ,’ उनले भने, ‘योसँगै नेपाल–भारतबीच मध्यकालीन विद्युत् व्यापार औपचारिक रूपमा नै सुरु हुनेछ ।’ यसअन्तर्गत पेस गरिएका अन्य आयोजना भने स्वीकृतको चरणमा रहेको उनले बताए । 

समग्रमा भारतले मंगलबार थप एक सय ८० मेगावाट बिक्री गर्न प्राधिकरणलाई स्वीकृत दिएको छ । त्यसमा मध्यकालीनअन्तर्गत यही एक सय १० मेगावाट विद्युत् रहेको छ, जुन ढल्केबर–मुजफ्फपुर चार सय केभी प्रसारणलाइनमार्फत भारतको हरियाणा राज्यलाई बिक्री गरिनेछ । यस्तै, अहिलेकै जसरी भारतको डे–अहेड मार्केटमा दैनिक बोलकोबलमार्फत थप ७० मेगावाट विद्युत् बिक्री गर्न पनि भारतले स्वीकृत दिएको छ ।

टनकपुरस्थित नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइनबाट ३७ मेगावाटको माथिल्लो चमेलिया र ३३ मेगावाटको माथिल्लो कालांगाडा आयोजनाको विद्युत् बिक्री गर्न भारतले स्वीकृत पठाएको हो । उक्त विद्युत्को निर्यात पनि बुधबारबाटै सुरु हुने प्राधिकरणका निर्देशकसमेत रहेका प्रबल अधिकारीले बताए । टनकपुरस्थित अन्तरदेशीय प्रसारणलाइनबाट पहिलोपल्ट विद्युत् निर्यात हुने लागेको हो । 

हालसम्म भारतमा चार सय ५२ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति भएको छ । त्यसमा २३.२८ मेगावाटको त्रिशूली, १४.५५ मेगावाटको देवीघाट, ६७ मेगावाटको मस्र्याङ्दी, एक सय ४० मेगावाटको कालीगण्डकी ‘ए’, ६८ मेगावाटको मध्यमस्र्याङ्दी, ५१ मेगावाटको लिखु–४, २१.४४ मेगावाटको चिलिमे, २२.८० मेगावाटको सोलु खोला, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेका छन् । त्यसमा अब थप एक सय ८० गरेर भारतमा नेपालले ६ सय ३२ मेगावाटसम्म विद्युत् बिक्री गर्न सक्नेछ । त्यसमा एक सय १० मेगावाट विद्युत् भने मध्यकालीन पिपिए बिक्री गरिनेछ । अन्य बिजुली भने अल्पकालीन रूपमै बिक्री गरिनेछ । 

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएपछि भारतीय कम्पनीसँग दीर्घकालीन प्रकृतिको पनि पिपिए गर्ने प्राधिकरणको तयारी छ । नेपाल–भारतबीच विद्युत् व्यापार गर्ने गरी २०१४ मै सम्झौता भएको थियो । सोही आधारमा अहिले प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । दैनिक रूपमा बोलकबोल गरेर प्राधिकरणले विद्युत् बिक्री गर्दै आएको छ । तर, त्यो अल्पकालीन विद्युत् व्यापार मात्रै हो । तर, नेपाल–भारतबीचको ऊर्जा सम्बन्ध बुधबारबाट मध्यकालीन विद्युत् व्यापारमा पनि प्रवेश गर्दै छ । 

दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर छिट्टै 
ऊर्जासचिव दिनेश घिमिरेले अब छिट्टै नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर हुने बताए । उनका अनुसार सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम काठमाडौंमै हुनेछ ।

‘औपचारिक पत्र आएपछि भारतको विद्युत् सचिवलाई सम्झौतापत्रमा हस्ताक्षर गर्न निम्तो पठाउँछौँ । उहाँ आएपछि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ,’ उनले भने, ‘यसले विशेष गरी नेपाली बिजुलीका लागि भारतीय बजार सुनिश्चित हुनेछ । अहिले प्रारम्भिक चरणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य राखेको हो । तर, यो सम्झौतापत्रको अवधि २५ वर्षको छ । अब २५ वर्षसम्म नेपाली बिजुलीका लागि भारतीय बजार सुनिश्चित भएको छ । बजार सुनिश्चित भएसँगै अब नेपाली जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित हुन्छ ।’

नेपाली बिजुलीका लागि भारतीय बजार निकै ठूलो मानिन्छ । नेपालमा जति विद्युत् उत्पादन हँुदै छ, सोबराबरको विद्युत् यहीँ खपत हुने बजार छैन । अहिले पनि नेपालको विद्युत् गइरहेको अवस्था छ । त्यसैले नेपाली बिजुलीका लागि भारतीय बजार अपरिहार्य छ । त्यो अवस्था यस्ता गतिविधिले नेपालको ऊर्जा विकासमा सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।