‘पहिला घरदेश अनि परदेश’अन्तर्गत पोखरेली ब्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इन्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।
कन्दरा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविस्मरणीय भनेको छ । नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरूको बेजोड लाइभ संगीतमा झन्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, बिदेसिएर गइन् उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो–चिसो हावामा, साङ्ग्रिलाको लेकभरि फूलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुल्चोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारि त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाए । उनका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।
ओटुमा कन्दरा गुन्जिँदा झन्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गरेका थिए ।
कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने, ‘विश्व संगीतका लिजेन्डहरूको प्रस्तुति रहिसकेको यो ठाउँमा प्रस्तुति दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबाबामाझ गाउन पाउनु मेरा लागि अझै सपनाझैँ लागि रहेको छ ।’ कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनील थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहेका सुनील थापा ब्यान्ड स्थापनाकालदेखिका सदस्य हुन् ।
कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–२०२५ लाई ‘पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ । यो कन्सर्टलगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुति दिने ब्यान्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिने जनाएको छ ।
नेपाली मेलो लोकपपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्यान्डले नेपाली युवामाझ पप र आधुनिक संगीतको फ्युजन प्रस्तुत गर्दै सांगीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो ।