मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १२:५७:oo

अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई)का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण २०५ एक्युआई छ।

वातावरणविद् भूषण तुलाधरका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ। ‘चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ,’ उनले भने। त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ।

एक्युआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौँ प्रदूषित सहरमा परेको छ। उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ। लाहोरको एक्युआई ३४१ एक्युआई छ।

साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्युआई २४८, तेस्रो स्थानमा मंगाेलियाको उलानबाटरको एक्युआई २३८ छ। साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँदिल्लीको एक्युआई २२७ एक्युआई छ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानेर हरिया संकेत दिइन्छ। साथै, ५१ देखि एक सयसम्मको एक्युआईले होसियार रहन संकेत गर्छ।

१०१ देखि १५० सम्मको एक्युआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटुरोगीका लागि खतरा मानिन्छ। उनका अनुसार १५१ देखि दुई सयसम्मको एक्युआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपतकाे रूपमा लिने उल्लेख गरेको छ।

उक्त विपत् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्-चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ।

प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्सांकन गरिने रणनीतिमा उल्लेख छ।