ललितपुरको मितेरी सहकारीको ठगी मुद्दामा प्रहरीले कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले मंगलबार दिउँसो कार्यालयमै बोलाएर उनीसँग सोधपुछ गरेको हो ।
अनुसन्धानका कतिपय विषयमा उनीसँग सोपधुछ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । दुई महिनाअघि पनि सिआइबीले उनीसँग सोधपुछ गरेको थियो ।
मितेरी सहकारी ठगीको सिआइबीमा जाहेरी दर्ता भएको चार महिना हुँदा समेत कोही पक्राउ परेका छैनन् । सहकारीको १२ करोड ९४ लाख ठगीमा धनराजकी पूर्वपत्नी ज्योती गुरुङ लगायत फरार छन् । धनराज र ज्योतीको सम्बन्ध बिच्छेद समेत कागजी मात्र भएको आशंका गर्दै संसदीय छानविन समितिले समेत उनीविरुद्ध थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । सम्बन्धबिच्छेदपछि पनि धनराजले सहकारीमा केही रकम भने तिर्दे आएका थिए । सहकारीबाट गैरकानुनी रुपमा पैसा निकालेर ज्योती गुरुङले ज्योती भण्डारीसँग मिलेर क्रिप्टो लगायत अवैध कारोबारमा लगानी गरेका थिए । जून विषयमा धनराजलाई समेत जानकारी भएकाले यसमा समेत अनुसन्धानको माग भएको छ । हाल ज्योती गुरुङ अमेरिका र ज्योती भण्डारी श्रीलंकामा भएको आशंका गरिएको छ ।
गुरुङ सत्तारुढ दलका नेता भएकाले पक्राउ नगरिएको र प्रमाण लुकाइएको आरोप लाग्दै आएको छ । मितेरी सहकारी ठगीमा हालसम्म एक जना पनि पक्राउ नपर्नुले पनि अनुसन्धानमाथि प्रश्न उठेका छन् ।
सिआइबीका एआइजी दिपक थापाका अनुसार सो सहकारीबाट निकालिएको रकम क्रिप्टोकारोबारमा समेत लगानी भएको देखिएपछि त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ।