यस वर्ष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ३ फागुनमा हुने भएको छ। पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपर्व खेलाडी मञ्च नेपालको आयोजना तथा सुजल डेरी उद्योगको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको १९औँ संस्करण ३ फागुनमा हुने आयोजकले जनाएको छ।
नेपालमा आयोजना हुने विभिन्न म्याराथनमध्ये पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता रहेको र म्याराथनको रुटसमेत एम्सबाट प्रमाणीकरण भएको आयोजक मञ्चका महासचिव केशव पाठकले जानकारी दिए।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका संरक्षक रहेको पोखरा म्याराथन नेपाली म्याराथनहरूको एक मात्र प्रविधिमैत्री म्याराथन रहेको दाबी पाठकको छ।
खुला म्याराथनसँगै १४ विधामा प्रतिस्पर्धा
प्रतियोगिताअन्तर्गत खुला म्याराथनसँगै विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने मञ्चका निवर्तमान अध्यक्ष हरि पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार ४२.१९५ किमिको खुला म्याराथनसँगै गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला-पुरुष, महिला-पुरुष १० किमि, विद्यालयस्तरीय छात्र-छात्रा ५ किमि, चार सय मटिर महिला-पुरुष ह्विल चियर दौड, एक सय मिटर दृष्टिविहीन महिला-पुरुष दौड, ५० वर्षभन्दा माथि ५ किमि भेट्रान्स महिला-पुरुष, सँगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ समेत हुने पराजुलीले जानकारी दिए ।
पुरस्कारमा मात्र २१ लाख ३४ हजार
प्रतियोगिताअन्तर्गत आयोजना हुने १४ विधाका विजेतालाई प्रदान गरिने नगद पुरस्कारमा २१ लाख ३४ हजार खर्च हुने आयोजक मञ्चका सचिव महेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार खुल्ला म्याराथनका विजेताले पाँच लाख, उपविजेताले तीन लाख, तेस्रोले दुई लाखसँगै सान्त्वनास्वरूप चौथोदेखि आठौँ स्थान प्राप्त गर्नेहरूले क्रमश ५०, ३०, २०, १५ र १० हजार नगद पाउनेछन्। खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएअनुसार विजेतादेखि आठौँ स्थान प्राप्त गर्नेहरूले क्रमश ५०, ३०, २०, १५, १०, ८, ६ र ४ हजार नगद पाउनेछन्।
महिला हाफ म्याराथनअन्तर्गत विजेतादेखि पाँचौँ स्थान प्राप्त गर्नेहरूले क्रमशः एक लाख ५० हजार, एक लाख, ७५, १५ र ५ हजार पाउनेछन्। हाफ म्याराथन पुरुषतर्फका विजेतादेखि आठाैँ स्थान प्राप्त गर्नेहरूले क्रमशः ५०, ३०, २०, १५, १०, ८, ६ र ४ हजार नगद पाउनेछन्। अन्य विधातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेहरूमध्ये क्रमशः १० किमितर्फ ३०, २० र १५ हजार, ५ किमि छात्र-छात्रा र भेट्रान्सतर्फ १५, १० र ७ हजार, ह्विल चियर र दृष्टिविहीनतर्फ १०, ७ र ५ हजार नगद पुरस्कार पाउने सचिव पौडेलले जानकारी दिए। पौडेलका अनुसार प्रतियोगिता सम्पन्न गर्न एक करोड ८९ हजार खर्च हुने अनुमान आयोजकको छ।