१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Wednesday, 03 July, 2024
शान्ति तामाङ काठमाडाैं
२o८o भदौ ६ बुधबार o८:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पार्कका रूपमा खुल्दै खुलामञ्च : सौन्दर्यकरणको काम तीव्र

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार o८:३५:oo

साढे सात वर्षअघिदेखि बन्द रहेको टुँडिखेलस्थित खुलामञ्च सर्वसाधारणका लागि खुल्ने भएको छ । सार्वजनिक रूपमा खुला हुनुअघि काठमाडौं महानगरपालिकाले खुलामञ्चको सरसफाइ, सम्याउने, झाडी फाड्ने काम गरिरहेको छ । एक वर्षअघि पनि महानगरले खुलामञ्चको सरसफाइ गरेको थियो । त्यसवेला भने खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि ती काम भएका थिए । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयको सर्वत्र विरोध भएपछि महानगर पछि हटेको थियो । 

अहिले फेरि खुलामञ्चमा रहेको कंक्रिट हटाउने, वरपरको बोटबिरुवा गोडमेल गर्नेलगायत काम भइरहेका छन् । यसपटक भने सर्वसाधारणका लागि खुलामञ्च खुलाउने गरी काम भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुलामञ्चभित्र सर्वसाधारणलाई सहज प्रवेशका लागि काम भइरहेको हो । ‘खुलामञ्च खोल्ने नै हो । खुलामञ्च खोल्नकै लागि कंक्रिट सम्याउने, झाडी फाँड्ने, बोटबिरुवा गोडमेल गर्ने काम भइरहेको हो,’ प्रवक्ता मानन्धरले भने ।

खुलामञ्च सर्वसाधारणका लागि खुल्दा पार्कका रूपमा खोलिने भएको छ । यसलाई पार्कका रूपमा विस्तार गर्न महानगरअन्तर्गत सहरी योजना आयोगले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने काम गरिरहेको छ । ‘खुलामञ्चलाई अब पार्कका रूपमा विस्तार गर्ने हो । यसका लागि डिपिआर निर्माण भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने, ‘खुलामञ्चभित्र छिरेपछि बस्ने व्यवस्था पनि हुन्छ । यसका लागि सौन्दर्यकरणको काम गर्दै छौँ ।’ महानगरले छिट्टै खुलामञ्चभित्र सर्वसाधारण प्रवेशका लागि वातावरण बनाउने भने पनि यकिन मिति भने तोकेको छैन । 

 भूमिगत पार्किङको योजना कायमै 
महानगरले खुलामञ्चमा भूमिगत पार्किङको योजना पनि कायमै राखेको जनाएको छ । चौतर्फी आचोलना भएपछि भूमिगत पार्किङ निर्माणबाट तत्काल पछि हटे पनि योजना भने कायम नै रहेको जनाएको छ । महानगरको २९ कात्तिकमा बसेको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो ।

महानगरको सहरी भेगको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न खुलामञ्चमा पार्किङ निर्माण गर्न डिपिआर बनाउने निर्णय गरेको थियो । भविष्यमा महानगरभित्र पार्किङका ठूला समस्या आउने भएकाले यो योजना कायमै राखेको प्रवक्ता मानन्धरले बताए । ‘महानगरभित्र भविष्यमा पार्किङ समस्या विकराल हुनेछ । यसलाई मध्यनजर गरेर भूमिगत पार्किङको योजना कायमै राखेका हौँ । हाम्रो यही कार्यकालमा त्यहाँ पार्किङ नबन्ला । महानगरले त २०औँ वर्षसम्मको बहुवर्षीय योजना बनाएको हुन्छ । त्यसैले यो योजना कायमै राखेका छौँ । यो योजनाका लागि बजेट धेरै लाग्ने भए पनि कुनै न कुनै दिन यहाँ भूमिगत पार्किङ बन्छ,’ प्रवक्ता मानन्धरले भने । 

 सात वर्षदेखि महानगरको बन्धकमा
०३६ सालमा निर्दलीय व्यवस्थाको आलोचना होस् वा ०४६ सालको जनआन्दोलनको घोषणा । ०६२/६३ सालको जनआन्दोलनको योजना उद्घोषसमेत खुलामञ्चबाटै भएको थियो । यसर्थ, देशका हरेक ठूला परिवर्तनको साक्षीका रूपमा खुलामञ्च रहँदै आएको छ । तर, पछिल्लो सात वर्षयता भने खुलामञ्चलाई महानगरको बन्धक बनाएको छ ।

 २५ कात्तिक ०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरेयता यहाँ सार्वजनिक कार्यक्रम हुन सकेको छैन । अर्को वर्ष वैशाखमै भ्यु टावरमा अन्टरग्राउन्ड पार्किङ निर्माण गर्ने भन्दै पुरानो बसपार्कलाई ६ महिनाका लागि खुलामञ्चमा सारियो । तर, भ्यु टावर निर्माणले गति लिन नसक्दा ६ वर्षपछि वैशाख ०७८ मा खुलामञ्चबाट बसपार्क हटाइयो । गत १३ चैतमा महोत्तरीको बर्दिवासबाट ११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितहरू खुलामञ्चभित्र छिर्न खोज्दासमेत महानगर प्रहरीले रोकेका थिए । 

ad
ad
ad
ad