एकपटक मनोविज्ञानकी एक प्राध्यापक विद्यार्थीले भरिएको सभाकक्षमा तनाव व्यवस्थापनका सिद्धान्त सिकाउँदै थिइन् । उनले पानीको एउटा गिलास उठाइन् । सबैले सोचे– अब उनले ‘गिलास आधा खाली वा आधा भरिएको गिलास’वाला प्रश्न सोध्नेछिन् । तर, अनुमानविपरीत प्राध्यापकले प्रश्न गरिन्– यो पानीको गिलास कति भारी छ ?’
विद्यार्थीले आठ औंसदेखि दुई पाउन्डसम्मको अनुमान लगाए । प्राध्यापकले मुसुक्क मुस्कुराउँदै जवाफ दिइन्– यो गिलासको वजनले कुनै फरक पार्दैन । मैले कति लामो समयसम्म हातमा राख्छु भन्नेमा यो निर्भर हुन्छ । यदि मैले यसलाई एक वा दुई मिनेटका लागि समातिरहेँ भने यो एकदमै हल्का छ । यदि मैले यसलाई एक घन्टासम्म समातेँ भने यसको वजनले मेरो हात अलिकति दुख्न सक्छ । यदि मैले यसलाई एक दिनका लागि समातेँ भने मेरो पाखुरा नै ठप्प हुन सक्छ र पूर्ण रूपमा सुन्निन र पक्षघात भएकोजस्तो महसुस हुन सक्छ । त्यस्तो अवस्थामा म गिलासलाई भुइँमा खसाल्न बाध्य हुनेछु । प्रत्येक अवस्थामा गिलासको वजन परिवर्तन हुँदैन, तर यसलाई जति लामो समयसम्म समातिन्छ, उति नै त्यो भारी लाग्छ ।
कक्षाले सहमतिमा टाउको हल्लाएपछि प्राध्यापकले अगाडि भनिन्– तपाईंको जीवनका तनाव र चिन्ता पनि यो गिलास र पानीजस्तै छन् । केही समयका लागि तिनका बारेमा सोच्नुहोस्, तपाईंलाई केही पनि हुँदैन । अलि लामो समयसम्म सोच्नुहोस्, तपाईंलाई अलिकति पीडाको महसुस हुन्छ । दिनभरि सोच्नुहोस्, तपाईं पूर्ण रूपमा व्यथित हुनहुनेछ । तपाईंले तिनलाई नछोडेसम्म अरू केही गर्न अक्षम हुनुहुनेछ । अब तिनलाई कतिन्जेल समातिरहने, आफैँ निर्णय गर्नुहोस् ।