१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३२ बिहीबार १o:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘प्रसारण र वितरण प्रणाली बलियो नहुँदा विद्युत् ट्रिपिङको समस्या’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १o:१२:oo

विद्युत् झ्याप्पझ्याप्प जाँदा र हाइभोल्टेज आउँदा सर्वसाधारणको विद्युतीय उपकरणमा क्षति

प्रसारण र वितरण प्रणाली बलियो नहुँदा नेपालमा विद्युत् ट्रिपिङको समस्या देखिने गरेको विज्ञहरूले बताएका छन् । विद्युत् उपलब्धता पर्याप्त हुँदासमेत झ्याप्पझ्याप्प बिजुली जानुको मुख्य कारक नै कमजोर प्रणाली भएको उनीहरूको भनाइ छ ।

पाटनमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताले अल्पकालीन र दीर्घकालीन योजना बनाएर विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए । उक्त अवसरमा नेपाल विद्युत् प्राधिरकणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कमजोर पूर्वाधार र प्रणालीका कारण विद्युत् ट्रिपिङ भइरहेको बताए । ‘अहिले विद्युत् उपलब्धता पर्याप्त छ, तर उत्पादन खेर गइरहेको अवस्थासमेत छ’ उनले भने, ‘हाम्रो प्रसारण र वितरण प्रणाली कमजोर र साँघुरो हुँदा झ्याप्पझ्याप्प विद्युत् जाने समस्या भइरहेको हो ।’ प्राधिकरणले इन्जिनियरिङ क्षमताको प्रयोग गरेर समस्याको तत्कालीन समाधान खोज्नुपर्ने उनले बताए । प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक सुरेन्द्रराज राजभण्डारीले गुरुयोजनाअनुसार काम नहुँदा वितरण र प्रसारणलाइन बलियो नभएको बताए । ‘प्रसारणलाइनको गुरुयोजना छ, तर त्यसअनुसार काम भएको छैन, वितरण लाइनको त गुरुयोजना नै छैन,’ उनले भने, ‘गुरुयोजनाअनुसार काम नहुँदा प्रणाली साँघुरो भएको छ, विद्युत्को प्रसारण क्षमताअनुसार गर्न सकिएको छैन, यसले विद्युत् ट्रिपिङ भइरहेको छ ।’

पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटले विद्युत्को जडित क्षमता तीन हजार मेगावाट हाराहारी पुगेको भने पनि यथार्थमा त्यस्तो नभएको बताए । जडित क्षमताको सूचीमा बन्द भइसकेका आयोजनासमेत रहेको उनले बताए । ‘हामीले जति जडित क्षमता भनेका छौँ त्यो यथार्थमा छैन, तीन हजार भनिए पनि दुई हजार हाराहारी मात्रै उत्पादन भएको हुनुपर्छ,’ उनले भने, ‘तर, भएकै विद्युत् प्रसारण तथा वितरणका लागि समेत पर्याप्त र बलियो प्रणाली छैन ।’

काठमाडाैं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहप्राध्यापक विशाल सिल्वालले सरकारी संयन्त्र उत्पादनमा मात्रै केन्द्रित हुँदा विद्युत्को प्रसारण र वितरणमा समस्या आइरहेको बताए । ‘१०–१५ हजार मेगावाट विद्युत् उत्पादनको घोषणा गर्छौँ, तर त्यो कहाँ बिक्री गर्ने, कुन प्रसारणलाइनबाट पठाउने अनि वितरण कहाँ र कसरी गर्ने भन्ने घोषणा र योजना बनाउँदैनौँ,’ उनले भने, ‘यदि लक्ष्यअनुसार उत्पादन भएमा भोलिका दिनमा विद्युत् बिक्री गर्न नसक्दा प्राधिकरणले दैनिक करोडौँ नोक्सान व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । 

कार्यक्रममा मानव अधिकारवादी सुशील प्याकुरेल, पूर्वाधारविज्ञ कमल पाण्डेलगायतले विद्युत् ट्रिपिङको समस्याबाट सर्वसाधारणले व्यहोरेको क्षतिको विषयमा समेत बहस हुनुपर्ने बताए । उनीहरूले विद्युत् झ्याप्प जाँदा तथा हाइभोल्टेज आउँदा विद्युतीय उपकरण बिग्रने र त्यसबाट सर्वसाधारणले करोडौँ क्षति व्यहोर्नुपरेको बताए । ‘अहिले विद्युत् ट्रिपिङको समस्या धेरै छ, मेरै छोराको उद्योगमा एउटै उपकरण बिग्रँदा चार करोडको क्षति भयो,’ प्याकुरेलले भने, ‘यसको क्षतिपूर्ति कसले दिने ? विद्युत् ट्रिपिङ हुँदा सर्वसाधारणले व्यहोर्नुपर्ने क्षतिको पूर्ति गर्ने व्यवस्था हुनुपर्छ र यसमा बहस हुनुपर्छ ।’