तापमानको पछिल्लो कीर्तिमानी बढोत्तरी आममानिस र समस्त पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजायभन्दा कम होइन
प्रसंग १ : जुलाई पहिलो साता पृथ्वीको औसत तापक्रमले लगातार तीन दिनसम्म नयाँ कीर्तिमान कायम गर्यो । सोमबार, ३ जुलाईका दिन १७.०१ डिग्री सेल्सियस पुगेको औसत तापक्रम अर्को दिन १७.१८ डिग्री पुग्यो भने बिहीबार १७.२३ डिग्री सेल्सियससहित इतिहासकै नयाँ बिन्दुमा पुग्यो । यसअघि सर्वाधिक गर्मीको रेकर्ड सन् २०१६ मा मापन भएको थियो । त्यसवेला पृथ्वीको औसत तापक्रम १६.९२ डिग्री सेल्सियस पुगेको थियो । जुन यसपटक भंग मात्र भएको छैन, पृथ्वीको तापक्रम उच्चतम बिन्दुमा पुग्ने अगस्टसम्मको अवधिमा अझै नयाँ–नयाँ कीर्तिमान बन्ने देखिएको छ । वैज्ञानिकका अनुसार यसपटकको पृथ्वीको औसत तापक्रम कम्तीमा पनि एक लाख २५ हजार वर्षयताको उच्चतम तापक्रम हो । विश्व तापमानले नयाँ रेकर्ड कायम गरेसँगै संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु परिवर्तन नियन्त्रणबाहिर गएको प्रतिक्रिया दिएका छन् । यदि जलवायु परिवर्तनविरुद्ध आवश्यक कदम चाल्न ढिलाइ गरियो भने हामी विध्वंसकारी अवस्थातर्फ जाने चेतावनी उनको छ । वास्तवमा तापमानको यो कीर्तिमानी बढोत्तरी आममानिस र समस्त पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजायभन्दा कम होइन ।
प्रसंग २ : हालै वैज्ञानिकले जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कको आकारसमेत घट्दै गएको डरलाग्दो तथ्य पत्ता लगाएका छन् । जसअनुसार पछिल्लो ५० हजार वर्षमा मानिसको मस्तिष्कको आकार १०.७ प्रतिशतले घटिसकेको छ । तापमानमा भइरहेको निरन्तरको वृद्धि तथा जलवायु परिवर्तनका कारण मानव मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताको छ । शोधकर्ताका अनुसार जलवायु परिवर्तनबाट सिर्जित वातावरणीय प्रतिकूलता तथा बढ्दो तापमानसँग अनुकूलित हुनका लागि मानिसको मस्तिष्कको आकार घट्दै गएको छ । मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँचदेखि १७ हजार वर्षबीच झनै तीव्र बनेको छ । मस्तिष्कको आकार घट्दा यसले मानवजातिको शारीरिक, मनोवैज्ञानिक तथा सामाजिक अवस्थामा समेत प्रतिकूल प्रभाव पार्ने जगजाहेर छ ।
प्रसंग ३ : जामा साइकियाट्री नामक मेडिकल जर्नलमा हालै १२ जना शोधकर्ताको एक शोध प्रकाशित भयो । उक्त शोधअनुसार नेपाललगायत दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तन तथा उष्णीकरणका कारण महिलामाथिको यौनहिंसामा वृद्धि भएको छ । नेपाल, भारत तथा पाकिस्तानजस्ता निम्नमध्यम आय भएका मुलुकमा बढ्दो तापमानसँगै महिलामाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रूपमा वृद्धि भइरहेको छ । हरेक एक डिग्री सेल्सियस तापक्रम वृद्धिबाट महिलामाथिको शारीरिक तथा यौनहिंसामा ६.३ प्रतिशतले वृद्धि हुने अध्ययनको निष्कर्ष छ । त्यस्तै, अन्तरंग पार्टनरबाट हुने हिंसा (आइपिभी) को मात्रा ४.९ प्रतिशतले बढ्छ ।
आधुनिक मानव सभ्यताले खेप्नुपरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा चुनौती जलवायु परिवर्तनले गर्दा मानवीय सुरक्षाका हरेक आयामलाई तहसनहस पार्ने र मानव सभ्यतामै कालो बादल मडारिने जोखिम छ
शोधकर्ताले यस शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आकलन गरेका छन् । जलवायु परिवर्तन तथा उष्णीकरणलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौनहिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसामा ८.९ प्रतिशतले वृद्धि हुनेछ । अध्ययनअनुसार नेपालमा जलवायु परिवर्तन तथा तापमान वृद्धिसिर्जित महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आइपिभी) सन् २०९० सम्म १४.८ प्रतिशत बढ्नेछ र नेपाल दक्षिण एसियामा अन्तरंग पार्टनरबाट हुने महिला हिंसाका घटना सर्वाधिक भएको मुलुकमा भारतपछि दोस्रो स्थानमा पुग्नेछ । तापक्रम वृद्धिका कारण बालीनाली उत्पादनमा कमी आउनुका साथै विभिन्न रोगव्याधिमा समेत वृद्धि भइरहेको छ । उत्पादनमा कमी र प्रकोप वृद्धिका कारण मानिसको आर्थिक अवस्थासमेत कमजोर हुने गर्छ । तापमान वृद्धिका कारण बाहिर काम गर्न जाने दरमा समेत कमी आउने र राम्रोसँग काम गर्नसमेत नसकिने अवस्थाका कारण परिवारमा खर्च धान्न दबाब बढ्दै गएको छ ।
प्रसंग ४ : अमेरिकाको भर्जिनिया विश्वविद्यालयका शोधकर्ताको अध्ययनअनुसार पछिल्लो ३३ वर्षमा विश्वका ५३ प्रतिशत ठूला तालमा उल्लेख्य मात्रामा पानी घटेको छ । प्राकृतिक तालको संख्या ५६ प्रतिशतले घटेको छ भने क्यास्पियन सागर तथा दक्षिण अमेरिकाको टिटिकाकाजस्ता विश्वका ठुला तालमा वार्षिक २२ गिगाटनका दरले पानी रित्तिइरहेको छ । पृथ्वीमा ताजा पानीको भरपर्दो स्रोतका रूपमा रहेका तालहरू सुक्दै गएसँगै त्यसमा आश्रित दुई अर्ब मानिसले पानीअभावसँग संघर्ष गर्नुपरिरहेको छ । पानीमा आएको कमीको सबैभन्दा ठूलो कारण मानिसले गरेको अत्यधिक खपत तथा जलवायु परिवर्तनसँगै भएको उष्णीकरण हो ।
प्रसंग ५ : क्रिस्टियन एडले सार्वजनिक गरेको जलवायु परिवर्तनले पार्ने आर्थिक प्रभाव तथा हानि–नोक्सानीसम्बन्धी एक रिपोर्टअनुसार विश्व उष्णीकरणको वर्तमान दर कायमै रहेमा सन् २०५० सम्ममा देशको कुल गार्हस्थ उत्पादनमा १९.६ प्रतिशतले गिरावट आउनेछ भने सन् २१०० सम्ममा ६४.७ प्रतिशतले गिरावट आउनेछ । त्यस्तै पेरिस सम्झौताअनुसार तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्न सकिएमा पनि सन् २०५० सम्ममा १३.१ र सन् २१०० सम्ममा ३३.२ प्रतिशतले मुलुकको कुल गार्हस्थ उत्पादनमा गिरावट आउनेछ । रिपोर्टअनुसार उष्णीकरणको वर्तमान दर कायमै रहँदा विश्वका जलवायुजन्य जोखिममा रहेका ६५ देशको कुल गार्हस्थ उत्पादनमा औसतमा सन् २०५० सम्ममा १९.६ प्रतिशतले गिरावट आउनेछ भने सन् २१०० सम्ममा ६३.९ प्रतिशतले गिरावट आउनेछ ।
जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, रोगव्याधिको प्रकोप वृद्धि तथा समुद्री जलस्तरमा बढोत्तरीका कारण सन् २०५० सम्ममा विश्वको आर्थिक उत्पादन ११ देखि १४ प्रतिशत अर्थात् २३ ट्रिलियन डलरले खस्किने प्रक्षेपण स्विस पुनर्बिमा कम्पनीले गरेको छ । स्विस रे कम्पनीका अनुसार कतिपय एसियाली मुलुकमा जलवायु परिवर्तनका कारण कुल राष्ट्रिय पुँजीमा एकतिहाइले कमी आउनेछ । नेपालसमेत सदस्य रहेको जलवायु परिवर्तनबाट सर्वाधिक जोखिममा रहेका २० देशको समूह भी २० का मुलुकमा पछिल्लो २० वर्षमा जलवायु परिवर्तनले गर्दा पाँच खर्ब २५ अर्ब डलर क्षति पुगेको बताइन्छ ।
माथिका सन्दर्भ समकालीन विश्वको सर्वाधिक चिन्ताको विषयको रूपमा रहेको जलवायु परिवर्तनको बहुआयामिक भयानकतालाई दर्साउन पर्याप्त छन् । जलवायु परिवर्तन तथा विश्व उष्णीकरणले विश्वको पर्यावरण, जैविक विविधता तथा अर्थतन्त्रमा मात्र असर पारिरहेको छैन, यसले मानिसको जैविक संरचना तथा सामाजिक जीवनलाई समेत तहसनहस बनाउँदै छ किनकि जलवायु परिवर्तनकै कारण मानिसको मस्तिष्कको आकार पनि खुम्चिरहेको छ । यसरी जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुलाई खतरातर्फ धकेलिरहेको छ । हरितगृह ग्यास उत्सर्जनमा कटौती हुन नसकिरहेको अवस्थामा जलवायु परिवर्तन र उष्णीकरणको वर्तमान दर अझै बढ्ने र भविष्यमा जलवायु परिवर्तन सिर्जित थप संकट र ध्वंसको सामना गर्न मानव समुदाय तयार भएर बस्नुपर्नेछ ।
पेरिस सम्झौतामा विश्व समुदायले धर्तीलाई विनाशबाट जोगाउन यस शताब्दीको अन्त्यसम्ममा विश्वको औसत तापमान वृद्धि औद्योगिक क्रान्तिअगाडिको १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रण गरेको थियो । तर, तापक्रम वृद्धिमा अंकुश लगाउन सकिएको छैन र आगामी चार वर्ष अर्थात् सन् २०२७ अगावै विश्व तापमान वृद्धि १.५ डिग्री सेल्सियस पुग्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । अर्को एक रिपोर्टअनुसार उत्सर्जनको हालको अवस्था कायमै रहेमा यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्नेछ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का अनुसार औद्योगिक क्रान्तिदेखि हालसम्म विश्वको तापमान हाल १.१ डिग्री सेल्सियस बढिसकेको छ भने यही दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा २.८ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । १९औँ शताब्दीको तुलनामा वातावरणमा कार्बनडाइअक्साइडको मात्रामा ५० प्रतिशतले बढोत्तरी भएको छ । संगठनका अनुसार सन् २०२७ सम्ममा विश्वको तापमान १.५ प्रतिशतले बढ्ने सम्भावना ६६ प्रतिशत छ भने आगामी पाँच वर्षमा कीर्तिमानी गर्मी हुने सम्भावना ९८ प्रतिशत छ । हरितगृह ग्यासको उत्सर्जनमा कमी ल्याउन प्रभावकारी कदम नचालिए यो शताब्दीको अन्त्यसम्ममा विश्व उष्णीकरण चार डिग्री सेल्सियस नाघ्न सक्ने खतरा रहेको वैज्ञानिकहरू बताउँछन् ।
यसले बेमौसमी वर्षा, अचानक बाढी आउने, सुक्खा खडेरी, धुलोयुक्त आँधीका साथै समुद्री जलस्तरमा बढोत्तरी र हिमगलनजस्ता विपत्मा वृद्धि हुनेछ । उष्णीकरणका कारण ताललगायत जलस्रोत सुक्दै जाँदा वायुमण्डलमा आर्द्रतामा कमी आउने र त्यसले तापक्रम बढाउनुका साथै वर्षाको ढाँचामा समेत अनपेक्षित परिवर्तन ल्याउनेछ । विश्वमा प्रतिकूल मौसमी घटना पहिलेभन्दा तीव्र बनिरहेका छन्, जसबाट जीवन तथा जीविकोपार्जनमाथि नै खतरा पैदा भएको छ । पृथ्वीमा तीव्र रूपमा तापक्रम बढ्नाले धेरै क्षेत्र क्रमशः मरुभूमिमा परिणत भइरहेका छन् । लगातारको सुक्खा खडेरी अर्थात् अनावृष्टिका कारण पूर्वी अफ्रिकाका दुई करोड २० लाख मानिस भोकमरीको खतरामा परेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले जनाएको छ । अत्यधिक तापक्रमले डढेलोको प्रकोप बढाइरहेको छ, गत वर्षको ग्रीष्मयाममा युरोपमा इतिहासकै भयानक डढेलोको प्रकोप देखियो । फ्रान्स तथा जर्मनीमा यसअघिको औसतको तुलनामा सन् २०२२ को जनवरी तथा जुलाईबीच झन्डै ७ गुणा बढी क्षेत्रमा डढेलो लागेको थियो । गर्मी बढ्नुुको अर्थ ध्रुवीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा जमेको बरफ तीव्र रूपमा पग्लिनु र समुद्रको जलस्तर बढ्नु पनि हो । कतिपय ठाउँमा भने अतिवृष्टिको अवस्था छ । गतवर्ष चीन, पाकिस्तान तथा नाइजेरियालगायत मुलुक इतिहासकै भयानक बाढीबाट प्रताडित बने । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागद्वारा अप्रिल २०२२ मा प्रकाशित एक शोध प्रतिवेदनअनुसार जलवायु परिवर्तनकै कारण १० देखि १५ प्रतिशतसम्म सामुद्रिक प्रजाति लोप हुने खतरा छ । तीव्र रूपमा तातिरहेको पृथ्वीमा जीवका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुँदै गएको छ ।
जलवायु परिवर्तनले विश्वको शान्ति तथा स्थायित्वमा ठूलो खतरा पैदा गरेको र संकट गुणकका रूपमा देखा परेको राष्ट्रसंघको ठम्याइ छ । यसले खाद्य सुरक्षा, प्राकृतिक स्रोतसाधन तथा बसाइँसराइको ढाँचामा तीव्र असर पुर्याउँदै विश्वमा तनाव तथा द्वन्द्वलाई बढावा दिइरहेको अवस्था छ । विज्ञहरूले जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई आधुनिक मानव सभ्यताले खेप्नुपरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन् । यसले गर्दा मानवीय सुरक्षाका हरेक आयामलाई तहसनहस पार्ने र मानव सभ्यतामै कालो बादल मडारिने जोखिम छ । जलवायु परिवर्तन विनाशकारी बिन्दुमा पुगेर मानव सभ्यता तथा पृथ्वीमा अपरिवर्तनीय क्षति पुर्याएर अस्तित्व विनाशको चरणमा पुग्ने सो सम्भावित अवस्थालाई विज्ञहरूले जलवायु प्रलयको संज्ञा दिएका छन् । तत्कालका लागि जलवायु प्रलय एक काल्पनिक अवस्था भए पनि आमविनाशको अवस्था नआउला भनेर ढुक्क हुन सक्ने अवस्था छैन ।
(नेपाल सरकारका शाखा अधिकृत अर्याल पर्यावरण विज्ञानका अध्येता हुन्)