मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
रासस म्याग्दी
२o८१ पौष ४ बिहीबार १३:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोसल्ले गाउँबाट एक करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १३:५६:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु. सात लाख ५० हजारबराबरको  सुन्तला बिक्री गरेका छन् । ३५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु. दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए । 

दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । 

समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु. ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु. एक करोड ५० लाखभन्दा बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए ।

‘यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्,’ पाइजाले भने । 

दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरूको भनाइ छ । 

बेनी नगरपालिका– ३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु. एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु. एक करोड ६० लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिएको बताए । ‘सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन,’ उनले भने । 

उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु. सात लाख ५० हजार, जितबहादुर आलेले रु. सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन् । जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । 

बेनी– ४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु. एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान  रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु. ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए । 

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण संकलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए ।

म्याग्दीमा ८१० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा ४२० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।