नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल पुग्न कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले नाै विकेट गुमाएर ११८ रन बनाएकाे हाे।
कर्णालीका लागि अलराउन्डर गुल्सन झाले २० बलमा सर्वाधिक २५ रन बनाए। एक चौका र दुई छक्का प्रहार गरेका गुल्सनलाई मोहम्मद मोहसिनले बोल्ड गरे।
यसबाहेक ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रनको यागदान गरे। उनलाई जेम्स निसमले आकाश त्रिपाठीबाट क्याचआउट गराएका हुन्। आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका भारतीय अनुभवी ब्याटर जयकिशन कोल्सावाला भने एक रन बनाएर आउट भए। विलिमय बासिस्टोले १२, जिसन मक्सुदले १२ तथा चाडविक वाल्टनले ११ रनको योगदान गरे।
कप्तान सोमपाल कामी पाँच तथा अर्जुन घर्ती दुई रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो। युनिशविक्रम ठकुरीले १७ बलमा १२ रन बनाए।
जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिनले समान दुई तथा हर्ष ठाकर र शेर मल्लले समान एक विकेट लिए।
यसअघि कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई नै हराएर फाइनल पुगिसकेकाे छ।
आजको विजेता फाइनलमा शनिबार सुदूरपश्चिमसँग खेल्नेछ।