१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०८० श्रावण २४ बुधबार ०६:२८:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशभर वर्षाले बाढी, पहिरो र डुबान : चारको मृत्यु, सात बेपत्ता 

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०८० श्रावण २४ बुधबार ०६:२८:००

मनसुन सुरु भएको दुई महिनापछि पहिलोपटक एकसाथ देशभर भएको वर्षाले धनजनको ठूलो क्षति गरेको छ । लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी पछिल्लो २४ घन्टामा चारजनाले ज्यान गुमाएका छन् । सातजना बेपत्ता भएका छन् । गृह मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल प्रहरीको तथ्यांकअनुसार मकवानपुरमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ, पाँच बेपत्ता छन् । मधेसको धनुषा, रौतहट र महोत्तरीमा बाढीमा परेर तीनजनाको ज्यान जाँदा दुई बेपत्ता भएका छन् ।

डुबानमा परेको काठमाडौंको त्रिपुरेश्वरपछाडिको सुकुमबासी बस्ती । तस्बिर : संजित परियार/नयाँ पत्रिका

मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा मंगलबार बिहान गएको पहिरोमा परी ५५ वर्षीया शान्तिमाया स्याङ्तानको मृत्यु भएको हो । उनका श्रीमान् ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, २२ वर्षीया छोरी शिला पहरी, २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीय नाति मिलन पहरी र डेढ वर्षीया नातिनी दिव्या बेपत्ता छन् । शान्तिमायालाई स्थानीयले पहिरोबाट उद्धार गरी स्वास्थ्य चौकी पुर्‍याए पनि उपचारका क्रममा ज्यान गएको हो । 

पहिरोमा बेपत्ता भएका १९ वर्षीय पासाङ घिसिङलाई भने १२ घन्टापछि घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा बगेरीस्थित बागमती किनारबाट उद्धार गरिएको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । शरीरभरि चोट लागेका उनलाई उपचारका लागि हेटौँडा पुर्‍याइएको छ । सिन्धुली घर भएका उनी पाहुना लाग्न पुगेका थिए । बेपत्ताहरूको बुधबार बिहानबाट फेरि खोजी गरिने कार्कीले बताए ।

धनुषा, रौतहट र महोत्तरीमा तीनको मृत्यु, दम्पती बेपत्ता
त्यस्तै, स्थानीय बसही खोला तर्ने क्रममा बाढीले बगाउँदा धनुषाको मिथिला नगरपालिका– २ आनन्दपुरका १७ वर्षीय सुबोध यादवको मृत्यु भएको छ । प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए । कमला नदीमा आएको बाढीमा दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पतीलाई बगाएको छ । गणेशमान चारनाथ नगरपालिका– ७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियारलाई बाढीले बगाएको होे ।

रौतहटको गढीमाई नगरपालिका– २ का ६५ वर्षीय सहिद राय भाँटको खेतमा काम गरेर फर्किने क्रममा बागमती नदीको बाढीमा डुबेर मृत्यु भएको छ । बागमतीपारि सर्लाही बरहथवा नगरपालिका–४ स्थित खेतमा काम गर्दा मंगलबार दिउँसो बाढीमा डुबेर उनको मृत्यु भएको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढामगरले बताए । 

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिकामा मरहा नदी तर्ने क्रममा बाढीले बगाउँदा ३८ वर्षीय जाबिर अन्सारीको ज्यान गएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार उनको शव नेपालको सीमाबाट चार किलोमिटर टाढा भारतको मझौरामा फेला परेको हो ।

सप्तकोसीले खतराको तह पार गरेपछि ब्यारेजका २६ ढोका खोलिए
सप्तकोसी नदीले खतराको तह पार गरेपछि ब्यारेजका २६ ढोका खोलिएका छन् । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीका अनुसार लगातारको वर्षाले बहाव बढेर प्रतिसेकेन्ड दुई लाख १७ हजार तीन सय १५ क्युसेक पानी बहन थालेपछि पछि मंगलबार राति २६ ढोका खोलिएको हो । त्यसअघि साँझसम्म २४ ढोका खोलिएको थियो पानीको बहाव एक लाख ५० हजार काट्नेपछि सर्वसाधारणलाई सचेत गर्न रातो बत्ती बाल्ने गरिन्छ । कोसी ब्यारेजमा ५६ ढोका छन् ।

कैलालीमा बाढीबाट साढे चार सय परिवार प्रभावित 
कैलालीको भजनीमा बाढी प्रभावितको उद्धार गर्दै प्रहरी 

बाढी बस्तीमा पस्दा कैलालीमा चार सय ६२ परिवार प्रभावित बनेका छन् । तीमध्ये केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार कान्द्रा नदीको बाढी बस्ती पस्दा भजनी नगरपालिका– ७ शिराधानी शिविरमा एक सय ५० परिवार प्रभावित भएका छन् । यस्तै, भजनी–५ कुटीका ५० र पुलियापुरका १६ घरमा बाढी पसेको छ । 

त्यस्तै, कटैनी खोलाको बाढीले कैलारी गाउँपालिका–७ वसन्ताका ८५, बड्की वसन्ताका ५० र भुइँयाफाँटाका २० घर प्रभावित बनेका छन् । जोशीपुर गाउँपालिकाको फाँडिया र भित्तरियाका ५६ घरमा काँढा नदीको बाढी पसेको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित भजनी भएको छ । कान्द्रा, काँढा, मोहना र पथरैया नदीमा बाढी आएपछि बस्ती डुबानमा परेको भजनीका मेयर केवल चौधरीले बताए । उनका अनुसार नदीले कटान गर्दा घर बगाएपछि भजनी–२ का दुई परिवार विस्थापित भएका छन् । 

प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । केही ठाउँमा बस्ती डुबानमा परेपछि प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ । भजनी नगरपालिका– ८ मा डुबानमा परेका ६ परिवारलाई प्रहरीले उद्धार गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

भीमदत्त राजमार्ग अवरुद्ध, तराईसँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात विच्छेद
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ । कैलालीको गोदावरी, बुढीतोलाका विभिन्न ठाउँमा पहिरोले सडक पुरिनुका साथै भासिएको छ । ठाउँठाउँमा गरी करिब चार सय मिटर सडक बिग्रिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।दुईवटा डोजरले मंगलबार दिनभर पहिरो पन्छाउने काम गरे पनि राजमार्ग सञ्चालन हुन समय लाग्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । ‘कतिपय सवारीसाधन फर्किए, कतिपय बाटोमै रोकिएका छन्, एम्बुलेन्स पनि रोकिएका छन्,’ गिरीले भने, ‘सडक बगेको र भासिएकाले राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।’ राजमार्ग सञ्चालन गर्न एक–दुई दिन लाग्न सक्ने सडक डिभिजनले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । केही यात्रु हिँडेर तराई झरेका छन् । सातवटा पहाडी जिल्लाबाट तराईका लागि आएका सवारीसाधन रोकिएका छन् । 

बर्दियामा १२४ घर डुबानमा, यातायात अवरुद्ध
बाढीले बर्दियामा एक सय २४ घर डुबानमा परेका छन् । ओराही, तलबेलुवा र गिठे खोलाको बाढीले ठाकुरबाबा नगरपालिका– २ का ४५, वडा नम्बर ६ का १७ र ७ का ५० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दिया प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए । बबई नदीको बाढीले गुलरिया नगरपालिका– ५ का १२ घर डुबानमा परेका छन् । यीमध्ये कैयौँ परिवार विस्थापित भएका र उनीहरूलाई सम्बन्धित पालिकासँग समन्वय गरी खाना तथा आवासको व्यवस्था गरिएको ढकालले बताए । बाढी प्रभावितलाई सुन्दर मावि शिवसुन्दरमा बस्ने र खाने व्यवस्था मिलाइएको छ । सदरमुकाम गुलरियाबाट बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सडक अवरुद्ध भएको छ । मधुवन नगरपालिका– १ मा ओराही खोलामा रहेको पक्कीपुलको छेउको ढुंगा माटो नदीले कटान गरेपछि आवतजावत ठप्प भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीले पुलको पश्चिमतर्फको भाग कटान भएपछि पुल जोड्ने सडक पूरै भासिएको छ । पुल भासिएपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट र डल्ला होमस्टे भएर गुलरिया आउने–जाने सवारीसाधन ठप्प भएका छन् । 

सिन्धुलीका पाँच घरमा पहिरोले क्षति पुर्‍यायो 
पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका पाँच घरमा क्षति पुर्‍याएको छ । मरिण गाउँपालिका– २ का तीन घर र कमलामाई– १० का एक तथा वडा नम्बर १ मझिनीदमारको एक घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नदी–खोलामा बहाव बढेकाले सचेत रहन आग्रह गरिन् । कमला नदीले खतराको बिन्दु पार गरेर बहाव तीन मिटर ३० सेन्टिमिटर पुगेको छ । खतराको बिन्दु तीन मिटर हो । मरिण, बागमती, चँदाहा नदी, सुनकोसी र अन्य साना नदीमा बहाव उच्च छ ।

मोहनाको बाढीले सीमास्तम्भ बगायो
मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका– ९ भैँसीघाटस्थित नेपाल–भारत सीमास्तम्भ बगाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ७४८/३ नम्बरको सीमास्तम्भ मोहनाको बाढीले बगाएको हो । उक्त सीमास्तम्भ मोहना नदी कटानको जोखिममा थियो । नदी कटानले बग्ने जोखिम भएपछि यसअघि त्यहाँ बोरामा बालुवा राखेर सीमास्तम्भको वरिपरि राखिएको थियो । 

कञ्चनपुरमा दोदा र मोहना नदी बस्ती पस्यो
कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो । बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो । महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ । त्यस्तै, सशस्त्र प्रहरीले स्याली नदी र ओदाल नदीको बाढीमा फसेका शुक्लाफाँटा र कृष्णपुरका चारजनाको उद्धार गरेको छ । घाँस काट्न गएका तथा खेतबारीमा काम गरेर घर फर्किने क्रममा बाढी आएपछि उनीहरू घर फर्कन सकेका थिएनन् ।

वर्षाले मधेसमा राहत 
लामो समयको खडेरीपछि भएको वर्षाले मधेसमा राहत मिलेको छ । असारमा खासै वर्षा नहुँदा वीरगन्जलगायत क्षेत्रमा खानेपानीको समेत अभाव भएको थियो भने यसपटक धान रोपाइँसमेत घटेको थियो । तर, सोमबारदेखि यस क्षेत्रमा वर्षा भइरहेको छ, जसकारण किसान खुसी भएका छन् । यद्यपि, अन्य क्षेत्रको तुलनामा मधेसमा अझै कम वर्षा छ । वीरगन्ज श्रीपुरका जितेन्द्र साहले लामो खडेरीका कारण चापाकलबाट समेत पानी आउन छाडेकामा अब वर्षा भएपछि खानेपानीको समस्या हट्ने विश्वास रहेको बताए । सिमरा विमानस्थलस्थित मौसम कार्यालयका नायब मौसम विज्ञान सहायक लक्ष्मणप्रसाद कँडेलका अनुसार पछिल्लो २४ घन्टामा वीरगन्जमा ७०.९, सिमरामा १२५.९, परवानीपुरमा १०० र कलैयामा १३८ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण बारा र पर्सा क्षेत्रका नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदीमा जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

कहाँ कति पानी पर्‍यो ?

मौसममा तत्काल सुधारको छाँट छैन

मनसुन सुरु भएको दुई महिनापछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि निश्चित क्षेत्रमा वर्षा हुनुका साथै वेलावेला खण्डे वर्षा भने भइरहेको थियो । देशभरका दुई सय ५२ वर्षामापन केन्द्रमध्ये दुई सय ३१ केन्द्रमा वर्षा मापन भएको थियो । ‘असार पहिलो साता पूर्वी नेपालमा ठूलो पानी परेर बाढीपहिरो आउँदा तराई र पश्चिम नेपाल सुक्खा थियो, त्यसपछि पनि यति धेरै एरिया (क्षेत्र) ओगट्ने गरी वर्षा भएको थिएन,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘पछिल्लो २४ घन्टामा लगभग सबै एरिया कभरेज हुने गरी वर्षा भएको छ ।’ 

२४ घन्टामा सबैभन्दा धेरै वर्षा कैलालीको चिसापानीमा रहेको मापन केन्द्रमा ४२४.२ मिलिमिटर रेकर्ड भएको छ । त्यहाँ यसअघि १५ अगस्ट ०१४ मा ४९९.८ मिमि वर्षा रेकर्ड भएको थियो । २४ घन्टामा आठ केन्द्रमा २०० मिमिभन्दा धेरै पानी परेको छ, जुन अत्यधिक धेरै वर्षा हो । ती स्टेसनमा धनुषाको तुल्सीमा २९१.६, बाँकेको पश्चिम राप्तीमा २७५.२, सर्लाहीमा २६४.२, सिन्धुलीको हरिहरपुरमा २५६.४, बाराको अमलेखगन्जमा २५५.६, मकवानपुरको चिसापानीगढीमा २००.८ र बाराको निजगढमा २००.६ मिलिमिटर वर्षा भएको छ । वर्षा मापन भएका केन्द्रमध्ये १८३ मा १० मिमिभन्दा धेरै, १३४ मा २५ मिमिभन्दा धेरै, ८८ मा ५० मिमिभन्दा धेरै, ३९ मा केन्द्रमा १०० मिमिभन्दा धेरै र १५ मा १५० मिमिभन्दा धेरै वर्षा भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले देशभरको झरी तत्काल नथामिने जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) रहेकाले लगातारजसो वर्षा भइरहेको बताए । त्यसबाहेक बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव पनि नेपालमा छ । ‘बल्ल राम्रो मनसुनी वर्षा भएको छ, अझै केही दिन पानी पर्ने देखिन्छ,’ उनले भने । 

मकवानपुरमा पोष्टराज अधिकारी, धनगढीमा तेजराज भट्ट, बर्दियामा यज्ञप्रसाद सापकोटा, जनकपुरधाममा हदिश खुद्दार, रौतहटमा अशोक पहाडी, महोत्तरीमा रञ्जन भण्डारी, सिन्धुलीमा विदुर पौडेल, कञ्चनपुरमा मोहन विष्ट र तनहुँमा उपेन्द्र खनाल