१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पहिरोको चपेटामा परेको माङसेबुङ– ६ चिसोपानी बजारका घर ।
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा एजेन्डा बन्न नसकेको इलाम चिसोपानीको पहिरो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo

इलाम २ मा उपनिर्वाचनको एक साता मात्र बाँकी रहँदा उम्मेदवार घरदैलोमा छन् । उनीहरू आ–आफ्ना चुनावी एजेन्डा मतदातासामु राखिरहेका छन् । 

इलामको माङसेबुङ– ६ र पाँचथरको मिक्लाजुङ– ५ को सिमानामा रहेको चिसोपानी पञ्चमी बजारमा पनि उम्मेदवार नपुगेको दिन छैन । तर, चिसोपानीवासीले अढाई वर्षदेखि भोगिरहेको समस्या दलहरूको चुनावी एजेन्डा बनेन ।

०७८ कात्तिकको वर्षापछिको पहिरोले चिसोपानी बजार थिलथिलो छ । पहिरोमा इलामको माङसेबुङ र सिमानामा रहेको पाँचथरको मिक्लाजुङका १५ जनाले ज्यान गुमाएका थिए ।

वर्षाले मिक्लाजुङतर्फ मानवीय क्षति बढी भएकामा भौतिक क्षति इलामतर्फ ठूलो छ । माङसेबुङ– ६ का स्थानीय जोखिम मोलेर पुरानो घर फर्किएका छन्, तर घरसम्मै पहिरो छ । पहिरोले शौचालयसमेत बनाउने ठाउँ नभएपछि माङसेबुङवासी पाँचथरतर्फका छिमेकीकहाँ शौचालय जान्छन् । पहिरोको संकटमा रहेका माङसेबुङवासीको यति ठूलो मुद्दा यसपटक दलहरूले एजेन्डा बनाउन सकेका छैनन् । 

पहिरो नियन्त्रणका लागि सरकारबाट कुनै काम भएको छैन : विनोद नेम्वाङ, उपाध्यक्ष माङसेबुङ गाउँपालिका

सुरुमा हामीले त्रिपाल लगाएर पहिरो छोप्ने प्रयास गरेका थियौँ । त्यसपछि पहिरो अध्ययनका लागि संघबाट प्राविधिक अध्ययन टोली आएको यिथो । तर, केही अपडेट आएन । पहिरो नियन्त्रणका लागि संघ सरकारबाट कुनै काम भएको छैन । यहाँका नागरिक जोखिम मोलेर बसिरहेका छन् ।

‘एक वर्ष भाडामा बसेर जोखिम मोलेरै आफ्नो घर फर्किएँ । ०७९ को स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा व्यापक रूपमा यो मुद्दा उठेको थियो । तर, यसपटक ओझेलमा छ,’ पञ्चमी पहिरोपीडित समितिका अध्यक्षसमेत रहेका पहिरोपीडित दिनेश बुढाथोकीले भने, ‘पहिरो नियन्त्रणको विषयमा कसैले कुरा नै उठाएका छैनन् ।’

आफूहरू जोखिम मोलेर पहिरोे क्षेत्रमै बसिरहेको उनले सुनाए । ‘एक वर्ष भाडाको घरमा बसेँ, सधैँ अर्काको घरमा कति बस्ने भनेर आफ्नै घरमा फर्कियौँ,’ उनले भने, ‘हिउँदमा त खासै डर हुँदैन । बर्खा लागेपछि त्यो ०७८ कात्तिकको पहिरोको याद आउँछ । अब त अहिले ठूलो पानी पर्दा पनि पहिरो आउँछ कि भन्ने डरले सताउँछ ।’ सरकारी टोली एकपटक पहिरो परीक्षणका लागि आएको थियो । तर, त्यसपछि पहिरो नियन्त्रणका कुनै काम भएको छैन ।

माङसेबुङ– ६ का ज्योतिकुमार राईको घरनजिकै ठूलो पहिरो खसेको छ । ‘योभन्दा अघिको निर्वाचनमा जोडतोडका साथ पहिरोको मुद्दा उठेको थियो, चुनावपछि काम भने भएन । घर पुनर्निर्माणका लागि पैसा आउने कुरा सुनेको छुु, तर अहिलेसम्म आएन । उम्मेदवारले पनि चासै दिएनन्,’ उनले भने, ‘नमस्ते गरेर आफ्ना कुरा सुनाउँछन् । विकासका ठूला–ठूला कुरा गर्छन् । तर, पहिरोबाट हाम्रो जीवन बचाउने सानो कुराचाहिँ उनीहरूको प्राथमिकतामा नै छैन ।’

पहिरोपीडित रेनुका राई अहिले चिसोपानी बजारमा मत माग्न आउने हरेक उम्मेदवारका भाषण सुन्छिन् । उम्मेदवारले विकासका मुद्दालाई चर्को भाषणमा सुनाइरहेका छन् । तर, उनीहरूले दैनिक त्रास भोगिरहेको पहिरोको समस्या उनीहरूको भाषणमा पर्दैनन् । जसले रेनुकाको मन अमिलो बनाउँछन् । ‘पहिला त भोट माग्न आउँदा पहिरोको समस्या उठ्थ्यो । अहिले त पुरानो भएछ क्यार यो समस्या सबैले बिर्सिए । भोट माग्न आउनेलेसम्म उठाउन छाडे,’ उनले भनिन्, ‘पहिरो रोकथामबारे बोलिदिएको मात्र भए पनि केही आसा पलाउने थियो होला !’ उनले अब पहिरो नियन्त्रणको गर्नेबारेमा राज्यले केही गर्छ भन्ने आस लाग्न छोडेको बताइन् । 

माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले पहिरो नियन्त्रणका लागि संघ सरकारबाट कुनै काम नभएको बताए । उनले स्थानीय तहले तत्कालीन समयमा त्रिपाल लगाएर पहिरो छोप्दै तत्कालका लागि नियन्त्रणको प्रयास गरेको बताए । संघीय सरकारबाट पहिरो अध्ययनका लागि प्राविधिक अध्ययन टोली आए पनि त्यसले केही रिपोर्ट नदिएको उपाध्यक्ष नेम्वाङले बताए । 

ad
ad