![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pradesh-1-sapath2023-08-03-07-55-27.jpeg)
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङबाट बुधबारै पद तथा गोपनीयताको शपथ लिएका थापाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक–एक मन्त्री सम्मिलित मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मुख्यमन्त्री थापाले मंगलबार सभामुख पदबाट राजीनामा दिएर सरकार गठनमा सघाएका माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै, कांग्रेसका प्रदीप सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त गरेका छन् ।
पूर्वमुख्यमन्त्रीबाट शपथग्रहण कार्यक्रम बहिष्कार
निवर्तमान मुख्यमन्त्रीको हैसियत नदिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा पुगेर पनि उनी बाहिरिएका हुन् । प्रदेश प्रमुखको कार्यालयले आफ्नो लागि निवर्तमान मुख्यमन्त्रीको हैसियतअनुसार अलग्गै कुर्सी नराखेको भन्दै उनी फर्किएका हुन् ।
लगत्तै सामाजिक सञ्जालमार्फत उनले सर्वोच्च अदालतको आदेशअनुसार आफू कामचलाउ मुख्यमन्त्री भए पनि प्रदेश प्रमुखको कार्यालयले संविधान र कानुनको उल्लंघन गर्दै आफूलाई अपमान गरेको प्रतिक्रिया जनाएका छन् । गत १५ असारमा विश्वासको मत गुमाएपछि कार्की मुख्यमन्त्रीबाट बिदा भएका थिए ।
त्यसपछि थापा मुख्यमन्त्रीमा नियुक्त भए पनि २१ साउनमा सर्वोच्च अदालतले उनको नियुक्त बदर गरेको थियो । त्यसपछि कार्कीले आफू कामचलाउ मुख्यमन्त्री रहेको दाबी गरेका थिए ।