पुरातत्त्व विभागले बनेपास्थित लायकु दरबार प्रवेशद्वार संरक्षण गर्ने सम्बन्धमा दिएको निर्देशन अटेर गरेको पाइएको छ। विभागले प्राचीन प्रवेशद्वार पुरातात्विक तवरले निर्माण नभएको भन्दै काम रोक्न दिएको निर्देशन बनेपा नगरपालिकाले पालना नगरेको पाइएको हो।
पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले दिएको निवेदनका आधारमा पुरातत्व अधिकृत भीष्म बास्कोटासहितको विभागको टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाएको थियो। अनुगमन प्रतिवेदनमा प्रवेशद्वारको प्राचीनता मासेर सिमेन्ट लगाएर निर्माण भइरहेको उल्लेख छ।
‘विभागबाट खटिएका प्राविधिकबाट उक्त स्थलको निरीक्षणबाट प्रतिवेदनअनुसार ऐतिहासिक लायकु (दरबार) प्रवेशद्वारको प्राचीनता मासेर हाल प्रवेशद्वार बालुवा, सिमेन्ट र रङजस्ता सामग्रीहरूको प्रयोग गरी आधुनिक शैली र स्वरूपमा निर्माण कार्य भइरहेकाले सो कार्य प्राचीन स्मारक संरक्षण ऐन २०१३ र नियमावली २०४६ को मर्म र भावनाविपरीत रहेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको थियो।
विभागले प्रतिवेदनका आधारमा तत्काल काम रोकी सम्पदा संरक्षणमा आवश्यक सहयोग र समन्वय गर्न, गराउन विभागीय निर्णय गरी परिपत्र गरेको थियो। अभियन्ता धिमालले विभागको निर्देशनपछि पनि काम नरोकिएको जानकारी दिए। विभागले यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय र बनेपा नगरपालिकालाई समेत गराएको थियो । तर, सम्बन्धित निकायले बेवास्ता गरेको धिमालको गुनासो छ।