गौर हत्याकाण्डको छानबिन गर्न माग गर्दै पीडित परिवारले शनिबारबाट धर्ना थालेका छन्।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा उनीहरूले धर्ना दिएका हुन्। आमजनता पार्टीको सहयोगमा धर्ना कार्यक्रम सुरु गरिएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए।
यसअघि आमजनता पार्टीले उठाएको मागविरुद्ध ६ राजनीतिक पार्टीको सर्वदलीय/ सर्वपक्षीय संघर्ष समिति बनेको थियो। माओवादी केन्द्रले भने आफू सो समितिमा नरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
नेकपा (माओवादी केन्द्र) का रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर)ले शुक्रबार विज्ञप्ति जारी गर्दै गौर हत्याकाण्डको विषयलाई लिएर ६ दलीय संघर्ष समितिको नाममा भइरहेका धर्ना, जुलुस, प्रदर्शन, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरीमा माओवादीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए।
आमजनता पार्टीले गौर हत्याकाण्डपीडित संघर्ष समितिको ब्यानरमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। सो समितिको ब्यानरमा आइतबारबाट आमजनता पार्टीले जिल्लामा मोटरसाइकल र्याली तथा जिल्ला बन्दको आह्वान गरेको छ।