Skip This
सम्पत्ति शुद्धीकरणमा अहिलेसम्मकै ठूलो फाइल : सहकारीको ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Tuesday, 16 September, 2025
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मा
सुवास भट्ट काठमाडाैं
२o८१ जेठ १२ शनिबार o६:११:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरणमा अहिलेसम्मकै ठूलो फाइल : सहकारीको ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o६:११:oo

सहकारीको ऋण अपलचन गरी ११ अर्ब १९ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूसहित कम्पनीहरूविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो दाबी गरिएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोजन हुन लागेको यो मुद्दा हालसम्मकै ठूलो आकारको भएको विभागले जनाएको छ । विभागका निर्देशक शिवहरि पोखरेलले तयार गरेको अनुसन्धान प्रतिवेदनले सहकारीको रकम अपचलन गरी त्यसको प्राप्ति, ‘ट्रान्सफर’ र लगानी तथा कारोबारमार्फत एकीकृत गरेर सम्पत्ति शुद्धीकरण गरेको देखाएको छ । 

विभागले मुद्दाको छानबिन प्रतिवेदनको मिसिल जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेस गरेको हो । यस मुद्दामा मतियारको भूमिकामा रहेको ठहर गर्दै अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ ऐनअनुसार अब सरकारी वकिलले नै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नेछ ।

शिव शिखर र बचतकर्ताको रकम अपचलन गरेर आर्जित सम्पत्तिबाट केदारनाथले ४० कम्पनीमा लगानी गरेका थिए । त्यसमध्ये नौ कम्पनीमा पत्नी गीताको पनि लगानी हिस्सा देखिन्छ । ती कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल आकार नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६६१ रुपैयाँबराबर छ । शर्मादम्पतीका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँको सम्पत्ति देखिएको छ । दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६६१ रुपैयाँको एकीकरण भएको देखिन्छ । उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ । 

गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मादम्पतीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी विभागले गरेको छ । 

त्यस्तै, पत्नी गीतालाई पनि मुख्य कसुरदारकै भूमिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार २४१ रुपैयाँ बिगो कायम गरेर त्यसको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ देखि १५ वर्षको कैद तथा शुद्धीकरण गरिएको बिगो जफतको माग दाबी विभागले गरेको छ । शर्मादम्पतीको नाममा दर्ता भएका कम्पनीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । 

सम्पत्ति शुद्धीकरण गर्न धुलाइ मेसिन (लाउन्ड्रोम्याट)का रूपमा कानुनी व्यक्तिको प्रयोग भएको भन्दै ती कम्पनीविरुद्ध प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म र बिगो जफत गर्न माग दाबी गरिएको छ । यसको बिगो नौ अर्ब ५६ करोड २६ हजार २९ हजार ६६१ रुपैयाँ छ । 

मतियारको भूमिकामा रहेको ठहर गर्दै सविना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुस्कर मल्ल, सुशील बानियाँ र प्रदीप भट्टराईलगायतलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध मुख्य कसुरदार (शर्मादम्पती)लाई कायम गरेको सजायको आधा सजाय र केदारनाथले लुकाएको सम्पत्ति जफतको माग दाबी गरिएको छ । 

 यसरी भयो सम्पत्ति शुद्धीकरण
भक्तपुर केन्द्रीय कार्यालय रहेको शिव शिखर र मोरङ केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखीको प्रमुख नियन्त्रणकर्ता शर्मादम्पति नै हुन् । यी सहकारीमा बचतकर्ताले गरेको बचत रकमलाई अपचलन गरेर आर्जित सम्पत्ति शुद्धीकरणका लागि ४० कम्पनी खोलिएका हुन् । यी कम्पनी सम्पत्ति शुद्धीकरण गर्ने प्रयोजनका लागिमात्र खोलिएका ‘डमी’ कम्पनी हुन् । सबै कम्पनीका प्रत्यक्ष हित र नियन्त्रणकर्ता शर्मादम्पती हुन् । 

शिखर अर्गनाइजेसन लिमिटेड, गार्डेन मार्ट, शिव शिखर एग्रो, शिखर दीप एग्रोलगायत १० कम्पनीलाई विनाधितो विनाब्याज शिवशिखर बहुउद्देश्यीय सहकारीले पाँच अर्ब १३ करोड ५७ लाख ६१ हजार १७४ रुपैयाँ कृत्रिम ऋण दिएको देखिएको छ । त्यस्तै, गार्डेनमार्ट तुलसी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र, तुल्सी राइस एन्ड चिउरा उद्योग, शिखर अर्गनाइजेसन लिमिटेड, नटराज एग्रो प्रालि, गोरखा टी एन्ड कफी उद्योगलगायत आठ कम्पनीमार्फत सहकारीमा एक अर्ब १६ करोड ११ लाख ८० हजार ९४७ रुपैयाँ कृत्रिम ऋण सिर्जना गरी अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । शिवशिखर र तुलसी बहुमुखीले विनाधितो र विनाब्याज कृत्रिम ऋण सिर्जना गरी कुल ६ अर्ब २९ करोड ६९ लाख ४२ हजार १२१ रुपैयाँअपलचन गरेको देखिएको छ । 

यसका अतिरिक्त शर्मादम्पतीले शिवशिखरबाट एक अर्ब ११ करोड ६३ लाख २२ हजार ४२५ र तुल्सी बहुमुखीबाट १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सीधै अपचलन गरेको आरोपपत्रमा उल्लेख छ । दुई सहकारीबाट र शर्मादम्पतीसमेतले गरेकोसहित कुल सात अर्ब ५८ करोड ३० लाख सात हजार ८६ रुपैयाँ गैरकानुनी स्रोतको प्राप्ति देखिएको छ । कसुरबाट आर्जित यही स्रोतलाई शुद्धीकरण गर्ने प्रयत्न चरणबद्ध रूपमा भएका छन् । 

गैरकानुनी रूपमा आर्जन गरेको सात अर्ब ५८ करोड रुपैयाँ नै बैंकखातामा ट्रान्सफर भएको भेटिन्छ । सम्पत्ति शुद्धीकरण कानुनको व्याख्याअनुसार यस्तो कार्यलाई ‘प्लेसमेन्ट’ भनिन्छ । यसरी प्लेसमेन्ट गरेको सम्पत्ति शुद्धीकरण गर्न विभिन्न क्षेत्रमा लगानी तथा कारोबार गरेर तहीकरण गरिएको थियो । यस क्रममा केदारनाथले आफ्ना विभिन्न ४० कम्पनीमा तीन अर्ब ६० करोड ४८ लाख ४३ हजार ३३१ र गीताले आफ्ना विभिन्न नौ कम्पनीमा ३५ करोड ३४ लाख ४६ हजार २४१ रुपैयाँ लगानी गरेका थिए । 

विभिन्न १३ कम्पनीको ६ अर्ब १८ करोड ८३ लाख ३६ हजार १९४ रुपैयाँ बिक्री देखिएको छ । तर, बिक्री देखिएकोमध्येको ३१ प्रतिशत कारोबार आफ्नै कम्पनीबीचमा छ । त्यस्तै, तिनै १३ कम्पनीको चार अर्ब २५ करोड ३१ लाख ६३ हजार ६०४ रुपैयाँको खरिद देखिन्छ । यो खरिदको ४१ प्रतिशत खरिद आफ्नै कम्पनीबीचमा देखिएको छ । यसबाट कम्पनीबीच कृत्रिम कारोबार भएको पुष्टि भएको छ । कारोबार ठूलो देखाएर त्यसका आधारमा बैंकबाट ऋण लिन सजिलो हुने हेतुले आफ्नै कम्पनीबीच कारोबार गरेको देखिएको छ ।

शर्माका १३ वटा कम्पनीले दुई अर्ब ९० करोड ७१ लाख ३६ हजार ३४२ अल्पकालीन र १२ कम्पनीले एक अर्ब ९२ करोड २७ लाख २२ हजार ७४८ रुपैयाँ दीर्घकालीन ऋण लिएको देखिन्छ । यो ऋण दिनेमा ६ वटा ठूला वाणिज्य बैंक नै छन् । 
शर्मादम्पती घरजग्गा कारोबारमा पनि संलग्न रहेका थिए । खरिद र बिक्री गरेर उनले ६६ करोड ८१ लाख ६४ हजार रुपैयाँको घरजग्गा कारोबार गरेको देखिन्छ । त्यस्तै, गीताले १५ करोड १६ लाख ३८ हजार १४ रुपैयाँको घरजग्गा कारोबार गरेकी थिइन् । कारोबारलाई वैध देखाउन उच्च मूल्यमा उनीहरूले आफ्नै कम्पनीलाई घरजग्गा बिक्री गर्नेसम्मको गतिविधि देखिएको छ । नटराज एग्रोलाई १७ करोड ४९ लाख ७५ हजार र शिखर दीप एग्रोलाई ५८ लाखको बिक्री गरेको देखाइएको छ । विभिन्न कम्पनीका नाममा तीन अर्ब रुपैयाँसम्मको जग्गा किनिएको थियो । 

मन्दीप खवास र सविना न्यौपानेका नाममा तीन करोड २४ लाख रुपैयाँ सम्पत्ति लुकाइएको पनि देखिएको छ । दम्पतीको खाताबाट एक अर्ब १३ करोड ११ लाख ३० हजार रुपैयाँ झिकेर एक अर्ब ४० करोड दुई लाख १० हजार रुपैयाँ जम्मा गरेको देखिएको छ । यसरी एक खाताबाट अर्को खातामा रकमान्तर गरी कारोबार वैध बनाउने प्रयास भएको अनुसन्धानबाट देखिएको छ । गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति राख्ने (प्लेसमेन्ट) र तहीकरण गरेर अन्ततः एकीकरण (प्रयोग र धारण) गरेको देखिन्छ । 

शिव शिखर र तुलसी सहकारीका सञ्चालकविरुद्ध ३३ अर्ब बिगोको मुद्दा
सहकारी ठगीको कसुरमा हाल पुर्पक्षका लागि कारागारमा रहेका शर्मादम्पतीले करिब ४० वटा आफ्ना निजी कम्पनीमा सहकारीको रकम गैरकानुनी लगानी गरेका थिए । सहकारीको पैसा निजी कम्पनीमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको विभागको निष्कर्ष छ । यसमा सहकारीका अन्य सञ्चालकलाई पनि मतियार बनाइएको छ । देशभरि शाखा विस्तार गरी उनीहरूले सर्वसाधारणबाट ११ अर्बभन्दा धेरै रकम उठाएर हिनामिना गरेका हुन् ।