Skip This
‘चाइनिज कुखुराको चल्ला’ बेचेर दाङका किसानलाई ठगी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
कुखुरा पाल्दा ठगिएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा गुनासो पोख्दै सीता केसी र खोरमा उनले पालेका कुखुरा ।
२o८१ जेठ १२ शनिबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘चाइनिज कुखुराको चल्ला’ बेचेर दाङका किसानलाई ठगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o८:४८:oo

सुर्खेतका दुई युवाले दाङको तुलसीपुर उपमहानगरपालिकाका ४० किसानलाई ‘चाइनिज कुखुराको चल्ला’ बेचेर ठगेका छन् । नेपालमा चाइनिज प्रजातिका कुनै कुखुराको उत्पादन र आयात अनुमतिसमेत नभएको पशु सेवा विभागले जनाएको छ ।

सुर्खेत ठेगाना भएको जनता बहुउद्देश्यीय एग्रो फरेस्टी प्रालिबाट भन्दै निर्दाेष सिंह, नवराज सुनारलगायतका व्यक्ति गत माघमा तुलसीपुरको वडा नम्बर ४ मा प्रवेश गरेका थिए । त्यसमध्ये सिंह र सुनार ढुक्कले गाउँमै बसे । उनीहरूले स्थानीय बालिका थापाको घरमा कार्यालय राखेर थापालाई समेत कर्मचारीका रूपमा खटाएका थिए । उनीहरूले सामाजिक रूपमा कमजोर एकल महिला, अपांगता भएका व्यक्ति तथा कमजोर शिक्षा हासिल गरेका किसानलाई ठगीका लागि लक्षित गरेको पाइएको छ ।

तुलसीपुर–४ की एकल महिला सीता केसीको घरमा गत माघमा सिंह र सुनार पुगेर एकल महिलालाई सहुलियत दिने भन्दै ‘चाइनिज कुखुरा’को चल्ला पालेर मनग्य आर्थिक उपार्जन गर्न सुझाव दिएका थिए । एकल महिला भएकाले चल्लाको खोर बनाउन छुट दिने र बोयर जातको बोका–बाख्रा एग्रो कम्पनीबाट निःशुल्क उपलब्ध गराउने प्रलोभन पनि देखाए । उनले ३० वटा चल्ला राख्ने बताए पनि कम्पनीले ७० वटा चल्ला राख्न दबाब दिएका थिए । उनले २१ हजार रुपैयाँ तिरेर ७० वटा कुखुराका चल्ला राखेको सुनाइन् । 

सुर्खेतबाट ठग्न आएका युवाले केसीलाई मात्र होइन, उक्त गाउँका अधिकांश किसानलाई उक्साएर चाइनिज कुखुराका चल्ला बिक्री गर्न सफल भएका थिए । सोही गाउँका रुद्रप्रसाद खनालसमेत चल्ला किनेर ठगिएको भन्दै अहिले इलाका प्रहरी कार्यालय, तुलसीपुर धाइरहेका छन् । खनाल ‘घ’ वर्गका अपांगता भएका व्यक्ति हुन् । उनले ५० हजार रुपैयाँभन्दा बढी लगानी भइसकेको बताए । 

तुलसीपुर–४ भ्युडहरका सालिकराम डाँगीले पनि सिंह र सुनारको कुरा सुनेर एक सयवटा चल्ला किनेर पालेको सुनाए । अहिलेसम्म ३० वटा चल्ला मरेका र ७० वटा बिक्रीयोग्य रहेका उनले बताए ।  

पीडित किसानद्वारा प्रहरीमा उजुरी
ठगिएका किसानले इलाका प्रहरी कार्यालयमा २६ वैशाखमा प्रहरीसमक्ष निवेदन दिएका थिए । त्यसपछि प्रहरीको रोहबरमा ८ जेठसम्म किसानले पालेका सबै कुखुरा खरिद गरी लैजाने सहमति भएको थियो, तर हालसम्म जनता बहुउद्देश्यीय एग्रो फरेस्टी प्रालिबाट कसैले पनि कुखुरा खरिदका लागि सम्पर्क नगरेको पीडित किसान सालिकराम डाँगीले गुनासो गरे ।

कम्पनीले कर्मचारीका रूपमा खटाएकी स्थानीय बालिका थापासमेत ठगिएकी छिन् । उनले पहिलो महिना १० हजार तलब पाए पनि त्यसयता पैसा नपाएपछि जागिर छाडेको बताइन् । ठगी गर्न प्रयोग गरिएको कम्पनी र किसानबीच लिखित सम्झौताविना कारोबार भएकाले कानुनी प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए । उनले प्रहरी रोहबरमै पीडक र पीडितलाई छलफलमा राखेर किसानको कुखुरा खरिद गरी भुक्तानी दिलाउने सहमति गरे पनि कार्यान्वयन नभएको बताए । अहिले किसानबाट ठगिएको विषयमा ठाडो निवेदन परेकाले कारबाहीका लागि थप प्रक्रिया अघि बढाएको मल्लले बताए ।

वडा कार्यालय छलेर कारोबार
किसानलाई सहुलियत दिने प्रस्ताव लिएर कम्पनीका प्रतिनिधि तुलसीपुर उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालय पुगेका थिए । वडाध्यक्ष तुलसी थापाले उनीहरूको प्रस्तावमा शंका लागेर अनुमति नदिएको र त्यसपछि एकपटक पनि सो कम्पनीका प्रतिनिधि नआएको बताए ।

ठग्ने नियतले जनता बहुउद्देश्यीय एग्रो फरेस्टी प्रालिका कर्मचारी तुलसीपुर १३ र १९ वडा कार्यालयमा पनि पुगेका थिए । तुलसीपुर–१३ का वडाध्यक्ष मोहन पौडेलले उनीहरूको कार्यक्रम शंकास्पद लागेकाले लागू गर्न नदिएको बताए । ‘हाम्रो वडामा अएर १५ हजार रुपैयाँ केही किसानबाट उठाइसकेछन्,’ उनले भने, ‘त्यसपछि मैले प्रहरीलाई खबर गरेर त्यो पैसा पनि फिर्ता गर्न लगाएँ र गाउँमा यस्ता कार्यक्रम नल्याउन पनि भनेँ ।’

ad
ad
ad
ad