
एससी सुमन मिथिला कला संरक्षण र प्रवर्द्धनमा झन्डै तीन दशकदेखि सक्रिय छन् । यस क्रममा उनले फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया, जापान, चीनलगायत देशमा मिथिला चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनको कलामा मधेशको जनजीवन प्रतिबिम्बित हुन्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागका अध्यक्षसमेत भइसकेका उनी मिथिला, थारू, सन्थाल, धिमाललगायत जातजातिको लोककला र संस्कृतिबारे अनुसन्धानरत छन् । चित्रकार सुमनसँग मिथिला कलाको सांस्कृतिक, सामाजिक, धार्मिक पक्षबारे पवन बराइलीले गरेको कुराकानी :
मिथिला चित्रकलाले मधेशको संस्कृति, परम्परा र जनजीवनलाई चित्रण गर्छ । यसमा रङ र रेखाबाट गाउँघर, धार्मिक परम्परा, विवाह संस्कारजस्ता मधेशको पराम्परालाई जोडिन्छ । त्यसैले, मिथिला कला प्रकृति, धर्म, दर्शन र सामाजिक चेतनाको संगम हो ।
मिथिला कलामा प्रयोग हुने रङ पनि छुट्टै छ । जसमा रङहरूको जीवनदर्शन पाइन्छ । मिथिला कलामा प्रयोग हुने रङहरू रातो, हरियो, पहेँलो, निलो आदि हुन् । रातो (सौभाग्य, प्रेम, शक्ति र विवाहको प्रतीक, हरियो (जीवन, हरियाली, पुनर्जन्म), पहेँलो (आशा), सेतो ( पवित्र), निलो, (स्थिरता) शान्ति र भगवान् कृष्णको प्रतीक हुन्छ । त्यसैले मिथिला कला केवल चित्र होइन, यो एक जीवनशैली, एक दार्शनिक दृष्टिकोण हो । जसले प्रकृति, नारी, धर्म, परम्परा र समाजको सम्मान गर्दै जीवनलाई समग्रमा बुझ्न मद्दत गर्छ ।
मेरो चित्रकलाले जीवन दर्शन, सामाजिक सन्देश र सांस्कृतिक चेतनालाई अभिव्यक्त गर्छ । एक मैथिल कलाकारका हिसाबले मेरा चित्रहरूले रङ, रेखा र प्रतीकमार्फत सामाजिक असमानता, जातीय पहिचान र मानवीयताको संवाद गर्छन् । यी चित्रमा मैथिली, तराई/मधेशका परम्परागत लुगाफाटा, गहना तथा जनजीवन झल्किने दृश्य देखिन्छन् । चित्रकलामार्फत जीवनदर्शन, सामाजिक चिन्तन र संस्कृति अभिव्यक्त गर्ने गरेको छु ।
मिथिला कला मधेशको आत्मा
कलामा स्थानीयपन र मौलिकता महत्वपूर्ण हुन्छ । भौगोलिक विशेषताअनुसार कलाको विकास हुन्छ । जस्तै– पहाडी, तराई, हिमाली जीवनशैली, संसाधन र संस्कारले कलामा प्रभाव पार्छ । स्थानीय संस्कृति र परम्पराले लोककला जन्माउँछ । यस्ता संस्कृति र परम्परा लोककलाका अभिन्न हिस्सा हुन् ।
नेवार समुदायको जात्रा र नाचहरू काठमाडौं उपत्यकाको पहिचान हो । थारू समुदायको ‘झुमरा नाच’ तराई क्षेत्रसँग जोडिएको छ । मधेशमा माटोबाट मूर्ति बनाउने र मिथिला चित्रकला प्रसिद्ध छ । लोककला त्यो समुदायले पुस्तौँदेखि अभ्यास गर्दै आएको सांस्कृतिक सम्पदा हो । विशिष्ट पोसाक, नाचगान, चित्रकला, हस्तकला आदिले समुदायको जीवनदृष्टि, मूल्य र कथा बयान गर्छ । मेरो बुझाइमा मिथिला कला मधेश प्रदेशको मात्र होइन, सम्पूर्ण मधेश (पूर्वदेखि पश्चिमसम्मको समथर भूभाग तराई)को पहिचान हो । मिथिला कला केवल चित्रकला होइन, यो जीवनशैली, परम्परा र सामाजिक चेतनाको अभिव्यक्ति हो ।
मिथिला कलामा मधेशको इतिहास, संस्कार, लोकगाथा, देवीदेवता, कृषि जीवन र नारी शक्ति स्पष्ट झल्कन्छ । यसको विशेष शैली, प्रतीकात्मकता, उज्याला रङहरू र परम्परागत विषयवस्तुले मधेश र मिथिला क्षेत्रको मौलिकता बोकेको छ ।
मिथिला कला समग्र मधेशको आत्मा हो । जसले रङ, रूप र रेखाबाट शोषित आवाज बोलिरहेको हुन्छ । मिथिला चित्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानसमेत समावेश हुन्छन् । परम्परागत विवाह अनुष्ठान, पानी ग्रहण, राम–सीता विवाह, धार्मिक मिथकमा आधारित चित्रहरू, छठपर्व, सूर्य उपासना गर्ने विशेष पर्वको झल्को, व्रत र पूजा, परम्परागत जीवनशैली, ग्रामीण जीवन, नारी सशक्तीकरण र कृषिजस्ता विषय सममावेश हुन्छन् ।
कला र समाज एक–अर्कासँग अन्योन्याश्रित हुन्छन् । कलाकार सामाजिक मुद्दाप्रति सचेत हुनुपर्छ । कलाकार निष्पक्ष अवलोकनकर्ता मात्र होइन, सामाजिक न्यायको पक्षधर पनि हुनुपर्छ । कला समाजबाटै प्रेरित हुन्छ । समाजलाई बदल्ने शक्तिसमेत कलामा हुन्छ ।
मिथिला कलाले मधेशका सामाजिक संघर्षहरू, जस्तै– गरिबी, बेरोजगारी, जातीय विभाजन, लैंगिक हिंसा, शिक्षामा असमानताजस्ता विषय कमै मात्रै समेटेको पाइन्छ । मधेश विभिन्न जात, भाषा र समुदायको संगम हो । यसकारण यी सबै पक्षमा मिथिला कला विस्तार हुन आवश्यक छ । यस्तै परम्परागत ढाँचा र शैलीमा सीमित हुँदा बजारमुखीकरण, प्रशिक्षण र विषय खोजीको अभावसमेत देखिन्छ । कलाकारहरू परम्परागत, धार्मिक र सांस्कृतिक विषयमा मात्रै केन्द्रित हुँदा सामाजिक यथार्थ समेटिएका छैनन् । मिथिला चित्रकलाको माग विशेषगरी धार्मिक र परम्परागत रूपमा बढी हुने भएकाले पनि कलाकारहरू त्यतै लागेका हुन सक्छन् । कलाकारलाई सामाजिक यथार्थ चित्रण गर्ने प्रशिक्षण वा हौसला दिने संस्थागत पहल आवश्यक छ ।
मिथिला कसमस–कल्पवृक्ष शृंखला
‘मिथिला कसमस–कल्पवृक्ष’ श्रृंखलामार्फत मिथिला कला, सांस्कृतिक स्मृति, धार्मिक स्मरण र आधुनिक संवेदनशीलता एकीकृत गरेको छु । यी चित्रले समय, प्रकृति, समाज तथा मानव–प्रकृति सम्बन्धको दर्शन प्रस्तुत गर्छ । मिथिला परम्परागत चित्रकलामा प्राकृतिक वस्तु, जस्तै– माछा, कमलको डाँठ र फूल, हात्तीलाई गहन प्रतीक मानिन्छ । आधुनिक दृष्टिकोणले कृतिमा ‘कल्पवृक्ष’ले जीवनका चाहना, सामाजिक इच्छा र राष्ट्रिय आकांक्षा अभिव्यक्त गर्छ ।
मिथिला कलामा विवाह, पूजा, परम्परा, देवीदेवताको चित्रण र लोककथा निकै गहिरो रूपमा चित्रित हुन्छन् । यी मधेशको सांस्कृतिक जीवनको अभिन्न अंश हुन् । खेतबारी, गाईवस्तु, किसानको जीवन, चुलोचौको, पानी भर्ने दृश्य आदि कहिलेकाहीँ चित्रमा देखिन्छन् । यी दृश्यले ग्रामीण मधेशको झल्को दिन्छ । मिथिला पेन्टिङ प्राय: महिलाले बनाउने भएकाले तिनीहरूको दृष्टिकोणबाट दैनन्दिन जीवनका दृश्य देखिन्छ ।
महिलाको भावना अभिव्यक्त गर्ने कला
मिथिला कला मधेशको संस्कारको चित्रण हो । यसले मधेशको धार्मिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षलाई जीवन्त राख्ने काम गर्दै आएको छ । यो केवल चित्र मात्र होइन, संस्कार, पहिचान र इतिहासको दस्ताबेज हो । यसको मधेशी समाज र संस्कारसँग अविच्छिन्न सम्बन्ध छ ।
मिथिला कलाका भूमिचित्र ‘अरिपन’ र भित्ती चित्र ‘कोहबर’ (नवविवाहित दम्पतीको सुहागरात कक्ष सजाउने तान्त्रिक चित्र) विवाह संस्कारसँग सम्बन्धित छ । यस्तै, अंगलेखन गोदना चित्र, जुन शरीरमा बनाइने पारम्परिक चित्र हुन् । अंगलेखनलाई मधेशी महिलाको संस्कारमा महत्वपूर्ण स्थान दिइन्छ । यो जनजीवन धार्मिक तथा लोकविश्वासमा आधारित छ । मिथिला चित्रमा प्राय: रामायण, महाभारत, शिव–पार्वती, राधा–कृष्णजस्ता धार्मिक कथा हुन्छन् । यसले प्रचलित वैदिक र लोकधर्मी परम्परालाई कलामार्फत जीविन्त बनाउँछ ।
मिथिला कला परम्परागत रूपमै महिलाद्वारा संरक्षण, विकास र प्रवर्द्धन गरिएको हो । उनीहरूले प्राचीनकालदेखि घरका भित्तामा चित्रांकन गरी यो कला संरक्षण गर्दै आएका छन् । प्राचीनकालमा विवाह, जन्म, चाडपर्वजस्ता शुभ अवसरमा भित्तीचित्र कोरेर सांस्कृतिक मान्यतालाई उतार्ने गर्थे । यसकारण मिथिला कलाको प्रमुख वाहक महिला नै हुन् । परम्परागत रूपमा मधेशी महिलाले घरको भित्तामा चित्र बनाएर कला, भावना र जीवनशैली अभिव्यक्त गर्ने गर्थे ।
मानव सभ्यताको सुरुवातमा पुरुष र महिलाबिच काम विभाजन हुँदा पुरुषलाई घरबाहिरको काम र महिलालाई घरभित्रको काम गर्ने जिम्मा दिएको किंवदन्ती छ । जीवनयापनका क्रममा महिलाले घरलाई सुन्दर बनाउन विभिन्न कलाकृतिको निर्माण गर्थे । त्यतिवेला उनीहरूले धार्मिक अनुष्ठानका वेला देवी–देउताका विभिन्न चित्रबाट घरलाई सजाउँथे । यिनै कलालाई विभिन्न अनुष्ठानसँग जोडेर लोककलाका रूपमा विकास गरियो । कलालाई देवता प्रसन्न पार्न प्रयोग गर्न थालियो । प्रत्येक उत्सवहरूमा पूर्ण निष्ठापूर्वक मैथिल महिलाले कलात्मक चित्र बनाउन थाले । कालान्तरमा मिथिला संस्कृतिको संवाहक बन्यो ।
अहिले मिथिला चित्रकलाले महिलालाई आर्थिक स्वतन्त्रता दिन थालेको छ । यहाँका महिला कलाकारका लागि चित्र आम्दानीको स्रोत बनिरहेको छ । मिथिला क्षेत्रमा हजुरआमा, आमा वा जेठी महिला सदस्यले छोरी वा अन्य सदस्यलाई चित्रकला सिकाउने परम्परा छ । जसले पुस्तान्तरण र सिर्जनशीलतामा अग्रसरता दिइरहेको छ । महिलाले परम्परागत विषयवस्तुको संरक्षण मात्र होइन, समसामयिक विषयवस्तुसँग पनि यसको संयोजन गर्दै सिर्जनात्मकता देखाउँदै आएका छन् । मिथिला कला महिलाको आत्माभिव्यक्तिको सशक्त माध्यम हो । उनीहरूले यसलाई जीवित राखेका छन् ।
मौलिक परम्परासँग जोडिएको कला
रहनसहन र चित्रकलामा मिथिला क्षेत्र समृद्ध छ । यहाँको मुख्य भाषा मैथिली हो । मैथिली आर्य भाषा हो, जुन नेपालसँगै भारतका केही ठाउँ (बिहार र झारखण्ड)मा समेत बोलिन्छ । मैथली क्षेत्रले कोशी र मधेश प्रदेशका भाग समेटेको छ । नेपालमा यो दोस्रो सबैभन्दा धेरै बोलिने भाषा पनि हो । यसलाई भाषाविद् सर जर्ज अब्राहम ग्रियर्सनले ‘सबैभन्दा मिठो भाषा’का रूपमा समेत वर्णन गरेका छन् ।
समृद्ध परम्परागत कला
मिथिला कला केवल दृश्य सौन्दर्यमा मात्र सीमित छैन, यसमा जीवनदर्शन, सामाजिक सन्देश र आध्यात्मिकता गहिरो रूपमा समाहित भएको हुन्छ । मिथिला कलामा वृक्ष, फूल, सूर्य, चन्द्र, जनावर, चराहरू चित्रित गरिन्छन् । यसले प्रकृतिप्रतिको श्रद्धा र मानव र प्रकृतिबिचको सम्बन्धको चित्रण गर्छ । यसले जीवनको स्थायित्व र सन्तुलनमा प्रकृतिको भूमिका र सम्मानलाई उजागर गर्छ । ‘कच्छप’ (कछुवा) वा पीपलको रुखको चित्रणले दीर्घायु र संरक्षणको सन्देश दिन्छ ।
परम्परागत रूपमा महिलाद्वारा सिर्जित भएकाले स्त्री–जीवनका आयामको कलामा प्रधानता हुन्छ । त्यसैले यसमा विवाह, मातृत्व, दैवीशक्तिको आराधनाजस्ता प्रमुख विषय समेटिन्छन् । यसले नारीलाई सृष्टिको मूल, जीवनदायिनीका रूपमा चित्रण गर्छ । दुर्गा, सीता, राधाजस्ता पात्र मिथिला कलामा प्रमुख रूपमा कोरिन्छन् । विवाह, चाडपर्व, ग्रामीण जीवनशैली आदिको चित्रणले सामाजिक एकता र परम्पराको संरक्षणलाई महत्व दिएको देखिन्छ ।
जनकपुरधामलाई मिथिला संस्कृतिको मुख्य केन्द्र मानिन्छ । जनकपुरका राजा जनकले छोरी सीतासँग विवाह गर्न आएका रामलाई स्वागत गर्न जनकपुरका भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्ती छ । जानकी मन्दिर, विवाह मण्डपजस्ता ऐतिहासिक र सांस्कृतिक स्थल यहाँ छन् ।
यस्ता चित्र सामान्यत: बिहे, पूजा, व्रत–त्योहार आदिमा बनाउने चलन थियो । परम्परागत रुपमा यो कला ग्रामीण क्षेत्रका महिलाले घर, पर्खाल, भुइँ र आँगनमा माटो, पिठो, गोबर आदिले बनाउने गर्थे । विशेषत: चाडपर्वमा पूजा–आराधनाका लागि चित्र कोर्ने गरिन्थ्यो । महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई पनि चित्रमार्फत व्यक्त गर्ने गर्थे ।
मधेशको जनजीवन
मिथिला चित्रकलामा विशेषगरी कृषि जीवनशैलीको चित्रण, कृषकहरूको दैनिक जीवन, खेत जोत्ने, रोपाइँ गर्ने, हल हान्ने, फसल भिœयाउने आदि दृश्य सामान्य रूपमा देखाइन्छ । महिलाहरू खेतमा काम गरिरहेको, पानी भरेर ल्याइरहेको, अन्न सफा गरिरहेको आदि चित्र पनि मिथिला चित्रकलामा देखाइन्छ । जसले ग्रामीण मधेशी महिला जीवनशैलीलाई उजागर गर्छ । यसले कृषि पेसाप्रतिको सम्मान र महत्व प्रकट गर्छ ।
राज्यको भूमिका
शिल्पशिक्षाको पारखी मधेशी महिलाकै कारण मिथिला कलाले निरन्तरता पाइरहेको छ । मिथिला कलाबाट यहाँका महिला आर्थिक सशक्तीकरण र उद्यमशीलतातर्फ बढिरहेका छन् । जसले महिलालाई आत्मनिर्भर बनाउन सघाउ पुगेको छ । अब राज्यले यस्ता कला संरक्षणका लागि संग्रहालय र संस्कृति केन्द्र बनाउन आवश्यक छ । अनुसन्धान र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न ढिला भइसक्यो । बजारसम्मको पहुँच व्यवस्था गर्न आवश्यक छ । राज्य, कलाकार र मधेशी समुदायबिच साझेदारी अपरिहार्य बनेको छ ।
मिथिला कला संरक्षणका लागि विशेष नीति तथा कानुन निर्माण गर्नुपर्छ । विद्यालय तथा कलेजको पाठ्यक्रममा मिथिला कला समावेश गरी नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक छ । प्राचीन मिथिला चित्रकला तथा दस्ताबेजलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गर्नु आवश्यक छ । विदेशमा नेपाली सांस्कृतिक महोत्सवमा मिथिला कला प्रदर्शनीमा जोड दिनुपर्छ । मिथिला कलाकारलाई अनुदान, छात्रवृत्ति र राष्ट्रिय पुरस्कार प्रदान गरी मिथिला कलाको संवर्द्धन र प्रवर्द्धनका लागि पहल गर्नुपर्छ ।