मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार १४:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सल्यानबाट चार करोड बढीको सल्लाको खोटो निकासी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १४:३o:oo

सल्यानबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा चार करोड बढीको सल्लाको खोटो निकासी भएको छ। जिल्लाका विभिन्न सामुदायिक र कवुलियती वनबाट चार करोड २२ लाख १९ हजार चार सय ४० रुपैयाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार चालु आ.वमा ३५ लाख १८ हजार दुई सय ८७ किलो खोटो निकासी भएको छ । जसबाट विभिन्न सामुदायिक वनको खातामा चार करोड २२ लाख १९ हजार चार सय ४० रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललित जंङ खड्काले जानकारी दिए। ठुलो परिमाणका खोटो निकासी हुँदा मूल्य अभिवृद्धि कर ५४ लाख ८८ हजार पाँच सय २७ रुपैयाँ संकलन भएको छ । 

६ सय ३० वटा सामुदायिक  र दुई सय तीन कवुलियती वन रहेको सल्यानमा अधिकांश वन समुहले सल्लाको खोटो बिक्री गर्छन् । ६४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको सल्यानमा अधिकांश खोटे सल्लाको वन छ । सामुदायिक वनले खोटो बेचेर आम्दानी गरेको रकमबाट वन व्यवस्थापन र सामुदायिक सेवामै खर्चिने गरेका छन् । उपभोक्तालाई ग्यास चुलो वितरणदेखि आयआर्जनका काममा लगानी गर्दै आइरहेका छन् । जसले गर्दा खोटो उपभोक्ताको जीविकोपाजर्नको माध्यम बनेको छ । 

गत आर्थिक वर्ष २०८०/०८१ मा २५ सय मेटिक्टन खोटोबाट सामुदायिक वनको खातामा दुई करोड २६ लाख रुपैयाँ जम्मा भएको थियो । सामुदायिक वन समूहले आम्दानीको ५० प्रतिशत समुदायको जीविकोपार्जनमा र २५ प्रतिशत सामुदायिक काममा खर्च गर्नु पर्ने खड्काको भनाइ छ। सल्लाबाट निकालिने खोटो विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ ।

जिल्लामा सात वटा कम्पनीले बन समुह मार्फत खोटो संकलन गर्दै आएका छन् । वन कार्यालयका सूचना अधिकारी खड्काले खोटो संकलन निर्देशिका अनुसार खोटो संकलन गरेमा सल्लाको खोटोबाट फाइदा हुने बताए।  ‘खोटो संकलन गर्ने ज्यामी र बन उपभोक्ता समितिलाई तालिम दिने, ९५ सेन्टिमिटरभन्दा सानो रुखबाट खोटो ननिकाल्ने, बोक्रा ताच्छदा, घाउ लगाउदा ख्याल गरिनुपर्छ, निर्देशिका अनुसारकै भएमा यसले रुखलाई खास असर गर्दैन उहाँले भन्नुभयो ‘जथाभावि खोटो संकलन गरेको खण्डमा रुख सुक्ने, आगलागी भएको बेलामा धेरै क्षति हुने सम्भावना बढी हुन्छ, त्यस्तोबेला खोटोबाट फाइदा मात्रै नभएर नोक्सानी पनि हुन्छ।’