मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १३ शनिबार
  • Friday, 20 December, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o श्रावण १३ शनिबार o९:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि मन्त्रालयको गुनासो कक्षमा ४५ गुनासा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १३ शनिबार o९:५७:oo

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १२ असारदेखि सुरु गरेको ‘किसान गुनासो व्यवस्थापन कक्ष’मा एक महिनामा ४५ वटा गुनासा परेका छन् । अधिकांश गुनासा धान रोप्न मल अभाव भएको र लम्पी स्किन रोगको खोप, औषधि र डाक्टरको अभावसँग सम्बन्धित छन् । मन्त्रालयका अनुसार १२ असारदेखि ३१ असारसम्म ३५ वटा गुनासा परेका छन् । त्यस्तै, यस आर्थिक वर्षको ११ साउनसम्म १० वटा गुनासा परेका छन् ।

गुनासामध्ये मलसम्बन्धी १४, लम्पी स्किनसम्बन्धी ६, फोन नम्बरका लागि पाँच, एमआइएसको आइडी पासपोर्टका लागि तीन, कर्मचारी प्रशासनसँग सम्बन्धित चार, जानकारीसम्बन्धी आठ र अन्य पाँचवटा गुनासा आएका छन् ।

किसानले मन्त्रालयको गुनासो शाखामा सम्पर्क गरेपछि किसानको समस्यालाई टिपोट गरिन्छ । समस्याको प्रकृति हेरेर सम्बन्धित शाखामा गुनासाहरूलाई पठाइन्छ । शाखा प्रमुखले त्यसलाई सम्बोधन गर्ने काम भइरहेको गुनासो व्यवस्थापन शाखाकी प्रमुख सविता पौडेलले जानकारी दिइन् । उनले भनिन्, ‘गुनासाहरूलाई टिपोट गरेर सम्बन्धित शाखामा पठाउँछौँ, कुनै जानकारीमूलक वा जिज्ञासासम्बन्धीका छन् भने कुन विषयवस्तु के हो भन्ने हेरेर समस्या समाधानका लागि सम्पर्क नम्बर उपलब्ध गराइदिने गर्छाैँ ।’

मन्त्रालयका सहसचिव नवीन घिमिरेले किसानका गुनासाहरू प्रकृति हेरेर सम्बोधन गर्ने काम भइरहेको बताए । उनका अनुसार कुनै किसानले मल नपाएको गुनासो गरे भने, कुन स्थानबाट मल पाइएन, के समस्याले पाइएन, त्यस स्थानको सहकारीमा मल छ कि छैन भनेर फलोअप गर्ने काम हुन्छ । उनले भने, ‘अब गुनासोको पनि प्रकृति हुन्छ नि । कुनै एक महिना लाग्ने, कतै तुरुन्त गर्न सकिने सोहीअनुसार ठूलो विषय छ भने छलफल हुन्छ । होइन भने सम्बन्धित शाखाबाटै समाधान गर्ने प्रावधान छ ।’

किसानको समस्या लिएर मन्त्रालयमा गुनासो गरेका तुलसीपुर घर भएका रामहरि कार्कीले लम्पी स्किनले गाई बिरामी हुँदा पशु चिकित्सकसँग परामर्श गर्न पाएनन् । नपाएपछि उनले मन्त्रालयको गुनासो पोख्ने नम्बरमा कल गरेर गुनासो पोखे पनि हालसम्म पनि पशु चिकित्सक नआएको उनको भनाइ छ । उनले भने, ‘मैले गुनासो गरेको केही भएन । पछि मैले आफैँले अन्य मान्छेहरूबाट सोधेर गाईको उपचार गर्दै आएको छु ।’ त्यस्तै, धनुषाको मिथिला नगरपालिका घर भएका अशोक यादवले मल नपाएपछि गुनासो गरेका थिए । रोपाइँ गर्ने वेलामा मलको आवश्यक परेपछि गुनासो गरेको, तर समाधान नभएपछि अन्तैबाट व्यवस्था गरेको उनको भनाइ छ ।  

समस्या धेरै, गुनासो कम
यतिवेला किसानका दर्जनौँ समस्या छन् । बाली लगाउने समयमा अझै पनि केही स्थानमा मलको हाहाकार छ । लम्पी स्किनले किसानका गोठमा दुहुना गाई–भैँसी मरेका छन् । खडेरीले लगाएको बाली सुक्न लागेको छ । 

फलेको तरकारीले मूल्य नपाएर किसान लगानी जोगाउन सक्ने अवस्थामा छैनन् । तर, मन्त्रालयमा गुनासो सुनाउनेको संख्या भने निकै कम छ । नेपाल कृषि समूह महासंघका अध्यक्ष नवराज बस्नेत करिब ६० प्रतिशत किसान भएको देशमा एक महिनामा ४५ वटा मात्र गुनासो आउनुलाई सरकारले गुनासो सुन्छ भन्ने विश्वास नभएको भन्ने देखिएको बताउँछन् । उनले भने, ‘के अपेक्षा राखेर किसानले कल गरून्, जसको समस्या नै समाधान हुँदैन भने त्यसमा किन लाग्ने भन्ने परेको हुँदा कल नगरेका हुन् ।’