मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
एनआरटीका खेलाडी टनेलमा उपस्थित नभएपछि खुमलटार युथका खेलाडी र रेफ्री ।
रमेश सुवेदी काठमाडाैं
२०८० श्रावण ७ आइतबार ०८:५७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङ, एनआरटी र फ्रेन्ड्सले गरे युथ लिग बहिष्कार

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० श्रावण ७ आइतबार ०८:५७:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनपरी नियमावली बनाएको तथा त्यसबारे छलफल गर्न बोलाएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अनुपस्थित भएपछि चार क्लबले गरे लिग बहिष्कार

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरू मनाङ मर्स्याङ्दी, न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबले उमेरसमूहको यू–१६ पुरुष लिग बहिष्कार गरेका छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको दोस्रो चरणका खेलहरू शनिबारलाई निर्धारण गरेको थियो । तर, पहिलो चरणमा भएको विवादका कारण शनिबारलाई तय लिगका तीन खेल हुन सकेनन् । च्यासल मैदानमा २ बजे मच्छिन्द्र फुटबल क्लब र मनाङबीच खेल हुने तालिका थियो । मछिन्द्र मैदान प्रवेश गर्दै वार्मअपमा सहभागी भयो, तर मनाङ भने उपस्थित भएन । 

यता, खुमलटार युथ क्लब र एनआरटीबीचको खेल च्यासलमै हुने तय थियो । खुमलटार मैदानमा उपस्थित हुँदा एनआरटी भने मैदान पुगेन । भक्तपुरको सल्लाघारीमा त्रिभुवन आर्मीविरुद्ध हुने खेलमा फ्रेन्ड्स पनि मैदानमा उत्रिएन । तीन क्लबलाई साथ दिएको संकटाले भने अघिल्लो दिन चर्च ब्वाइजसँग खेलेको थियो । 

एनआरटीले शनिबार बिहानै एक विज्ञप्ति निकाल्दै लिगमा सहभागी नहुने चेतावनी दिएको थियो । सोहीअनुसार नै क्लब मैदानमा उत्रिएन । ‘हामीले एन्फाले नियमावलीमा भनेजस्तै कागजात बुझाएका छौँ । तर, एन्फाले अन्तिममा यही कागजात मान्दिनँ भन्दै कारबाही गरेको छ । एन्फालाई हामीले अपिल पनि गरेका छौँ । तर, उहाँहरूले प्रक्रिया अगाडि बढाउनुभएन,’ एनआरटीको विज्ञप्तिमा भनिएको छ । 

एन्फा कारबाही प्रक्रियामा जाने 
एन्फाले खेल बहिष्कार गरेका तीन क्लबको अंक खोस्दै सो अंक विपक्षीलाई दिने भएको छ । प्रतियोगिताको नियमावलीमा पनि सोही उल्लेख गरिएको छ । यस्तै, क्लबहरूले निर्धारित समयअनुसार नखेलेपछि एन्फाले कारबाही गर्ने भएको छ । यद्यपि, एकपटक क्लबहरूसँग बैठक बस्न एन्फा चाहन्छ । ‘हामी एकपटक एन्फासँग पुनः बैठक बस्छौँ । त्यसपछि पनि उहाँहरू मैदानमा उत्रनुभएन भने हामी आवश्यक कारबाही प्रक्रियामा जान्छौँ,’ एन्फाका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । 

बढी उमेरका खेलाडी खेलाउँदा विवाद
पहिलो चरणमा एनआरटीले आर्मीलाई ५–१ ले हराएको थियो । पराजित भएसँगै आर्मीले बढी उमेरको खेलाडी खेलाएको भन्दै एनआरटीमाथि उजुरी हाल्यो । बढी उमेरको खेलाडी खेलाएको पुष्टि भएपछि एन्फाले एनआरटीलाई कारबाही गर्‍यो । खेलको नतिजा आर्मीको पक्षमा गयो । एन्फाको निर्णयसँगै आर्मीले तीन अंक प्राप्त गरेको थियो ।

शुक्रबार एन्फालाई निर्णय उल्टाउन एनआरटीसँगै मनाङ, संकटा र फ्रेन्ड्सले आग्रह गरेका थिए । सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेरै गरिएको निर्णयलाई एन्फाले बेवास्ता गरेपछि चार क्लबले आगामी लिगका खेल नखेल्ने निर्णय लिएका हुन् । ‘यहाँ हरेक क्लबले हरेक क्लबलाई बढी उमेर भएको भन्दै उजुरी हाल्ने अवस्था छ । यसरी उजुरी दिँदा एक त एन्फाकै नियमावली हास्यास्पद देखिन्छ । अर्काे भनेको खेलको मर्म मरेको छ । खाली उजुरी मात्रै हालेर खेल्न मज्जा आउँदैन,’ मनाङका अध्यक्ष विजय घले भन्छन् । 

घलेका अनुसार उजुरी फिर्ता लिन बैठक राखिएको थियो । तर, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई बैठकमा उपस्थित भएनन् । ‘विवाद टुंग्याउन बैठक बोलाइयो । तर, अध्यक्ष र महासचिव नै नभएपछि कसरी लिगका बाँकी खेल खेल्न सकिन्छ ?’ घलेले भने । 

क्लबको माग : एमआरआई एन्फाले गर्नुपर्छ
मनाङका अध्यक्ष घलेका अनुसार हरेक क्लबले एन्फाको नियमावलीअनुसार नै खेलाडी अनुबन्ध गरेका छन् । तर, अहिले त्यही नियमावलीअनुसार खेलाडी दर्ता गर्दा धेरै उजुरी परेको छ । उजुरी परेपछि हरेक खेलाडीको एमआरआई गर्नुपर्छ । तर, हरेक खेलाडीको एमआरआई गर्दा आर्थिक भार बढी पर्ने क्लबहरूको ठम्याइ छ । एन्फाले सबै खेलाडीको एकैपटक एमआरआई गरे यो विवाद अन्त्य हुने घले बताउँछन् । ‘नियमावलीअनुसार खेलाडी अनुबन्ध गरेपछि, अहिले एमआरआई गर भनेर हुँदैन । एन्फाले खेलाडीको एमआरआई आफैँ गरे यो विवाद बढ्दैन,’ घले भन्छन् । एन्फाले आयोजना गरेको लिगमा ए डिभिजनका १० क्लब सहभागी छन् । ६ महिनासम्म चल्ने लिगमा मनाङ, संकटा, एनआरटी, फ्रेन्ड्स, चर्च ब्वाइज, नेपाल पुलिस, आर्मी, एपिएफ क्लब, खुमलटार र मच्छिन्द्र गरी १० टोली छन् । तीनपटकको च्याम्पियन थ्री स्टार, हिमालयन शेर्पा, जावलाखेल र सातदोबाटोले सुरुमै लिग नखेल्ने निर्णय गरेका थिए । 

पुलिस र आर्मीको बराबरी 
शनिबार चार खेल हुने तालिका भए पनि सातदोबाटोमा पुलिस र आर्मीबीच मात्रै प्रतिस्पर्धा भएको थियो । एन्फा कम्प्लेक्समा पुलिसले २–० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुगेको हो । पुलिसले २५ मिनेटभित्र दुई गोल गरेको थियो । १७औँ मिनेटमा नवीन ओलीले पहिलो गोल गरेका थिए । नवीनले दोस्रो गोल २५औँ मिनेटमा गरे । एपिएफ दोस्रो हाफमा खेलमा फर्कियो । दुवै गोल रोहित गोलेले गरेका थिए । दोस्रो खेलसँगै पुलिस र एपिएफले समान चार अंक जोडेका छन् । पहिलो खेलमा पुलिसले मनाङ र एपिएफले संकटालाई हराएको थियो ।