इटाली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का गोलरक्षक जियानलुइगी डोनारुम्माको घरमा बिहीबार राति चोरी भएको छ । अज्ञात समूहले उनको घरबाट घडी, सुन र बहुमूल्य सामग्री चोरी भएको प्रहरीले जनाएको छ । त्यो समूहले जियानलुइगी र उनकी श्रीमतीमाथि पनि आक्रमण गरेको प्रहरीले बताएको छ । ‘घरबाट कम्तीमा पाँच लाख अमेरिकी डलर चोरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरीले भनेको छ, ‘घटनामा डोनारुम्मा र श्रीमती एलिसिया सामान्य घाइते छन् ।’ यस घटनापछि फ्रान्सको विशेष बिआरबी पुलिसले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
चोरहरू गोलरक्षक डोनारुम्मा बसेको फ्ल्याटमा चोरी गर्ने उद्देश्यका साथ छिरेका थिए । उनीहरूले त्यसको प्रतिकार गरे । यसैक्रममा उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिहरू नजिकैको होटेलमा लुकेको बताइन्छ । यद्यपि, प्रहरीले ती चोर लुकेको होटेल पत्ता लगाउन सकेको छैन । ‘केही समूह राति डोनारुम्मा बसेको अपार्टमेन्टमा सांघातिक हमला गर्ने उद्देश्यका साथ पुगेका थिए,’ प्रहरीले भन्यो ।
दुई वर्षअघि २४ वर्षीय डोनारुम्मा इटालीबाट पेरिस आएका थिए । पिएसजीले शुक्रबारदेखि प्री–सिजनको तयारी सुरु गरेको छ । पिएसजी जापान र दक्षिण कोरिया पुग्नुअघि क्लबले पेरिसमै ला हाभ्रेविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । पेरिसमा फुटबलरमाथि आक्रमण भएको यो पहिलो घटना होइन । तर, घरमै खेलाडीमाथिको सांघातिक आक्रमण भने पहिलोपटक हो । त्यसैले यस घटनालाई दुई निकायबाट अनुसन्धान थालिएको छ ।
गत जनवरीमा ब्राजिलियन फुटबलर मार्किन्होसको घरमा यस्तै घटना भएको थियो । जसमा दुई व्यक्तिले जेल सजाय पाएका छन् । मार्किन्होस टिमसँगै होटेलमा थिए । घरमा बुबा र दुई छोरा रहँदा लुटपाट भएको थियो । मार्किन्होसका बुबामाथि सामान्य कुटपिट भएको थियो ।