मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २८ सोमबार
  • Monday, 16 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ श्रावण २८ सोमबार o७:२६:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिस ओलम्पिक २०२४ : सहभागितामै सीमित नेपाल

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २८ सोमबार o७:२६:oo

अमेरिकाको लस एन्जलसमा भेट्ने बाचासँगै ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताको आइतबार समापन भएको छ । पेरिसमा १६ दिनसम्म चलेको ओलम्पिकमा नेपाल सहभागितामै सीमित भएको छ । ओलम्पिकको अन्तिम दिन नेपालबाट धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी ओलम्पिकमा नेपाली खेलाडीमध्येबाट अन्तिम खेल खेल्ने खेलाडी हुन् । उनी आफ्नो इभेन्ट्समा ७९औँ स्थानमा रहिन् । 

नेपाली खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले मात्र राष्ट्रिय कीर्तिमान बनाए । टेबुलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा, एलेक्जेन्डर तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेलेका थिए । स्यान्टुले छनोट चरण पार गरेर ओलम्पिक खेलेका हुन् । अन्य खेलाडीले वाइल्ड कार्ड पाएर प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि खेलाडीभन्दा अफिसियल संख्या धेरै भयो । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले खेलाडीसहित २९ जना पदाधिकारीलाई आधिकारिक रूपमै ओलम्पिकमा सहभागी गरायो । एक दर्जन पदाधिकारी पेरिस पुगेका थिए । खेलकुद मन्त्रालयले सात खेलाडी र पाँच प्रशिक्षकसहित १४ जनाको मात्रै खर्च राज्यले व्यहोर्ने जनाएको छ । नेपाली टोलीका सेभ द मिसनका रूपमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र खेलकुदमन्त्री तेजुलाल चौधरीको खर्च पनि राज्यले व्यहोर्ने मन्त्रालयले जनाएको छ । पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन यस्तो रहेको छ । 

 सन्तोषीले पूरा गरिन् म्याराथन
धाविका सन्तोषीले महिला म्याराथनमा ७९औँ स्थान हासिल गरेकी छिन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । यसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । पेरिसमा आइतबार भएको स्पर्धामा सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन् । अघिल्ला संस्करणमा सहभागी नेपाली खेलाडीले म्याराथनमा दौड नै पूरा गरेका थिएनन् । १० दिनअघि नै पेरिस पुगेकी सन्तोषीले राष्ट्रिय कीर्तिमान भंग गर्ने लक्ष्य राखेकी थिइन्, तर, लक्ष्यमा पुग्न सकिनन् । वाइल्ड कार्ड पाएर पेरिस यात्रा तय गरेकी उनले पहिलोपटक ओलम्पिकको अनुभव लिएकी हुन् । सन्तोषी सहभागी प्रतिस्पर्धामा नेदरल्यान्ड्सकी धाविका सिफन हसनले कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् ।

 राष्ट्रिय कीर्तिमान बनाए एलेक्जेन्डरले 
पौडीबाज एलेक्जेन्डर ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने एक्ला नेपाली खेलाडी बने । पुरुष सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान राखेका उनी हिट चरणभन्दा अगाडि बढ्न सकेनन् । ५१.९१ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाउँदा उनी हिट चरणमा तेस्रो भए । समग्रमा ७९ प्रतिस्पर्धीमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे । यसअघि उनले यसै वर्ष दोहामा भएको विश्व च्याम्पियसिपमा ५२.१७ सेकेन्डको कीर्तिमान राखेका थिए । चार वर्षअघि टोकियो ओलम्पिकमा पनि उनले प्रतिस्पर्धा गरेका थिए ।

  तीनै खेल गुमाएका स्यान्टु
टेबुलटेनिसका स्यान्टुले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियामा प्रशिक्षण गरी ओलम्पिक खेल्न सीधै पेरिस पुगेका स्यान्टु पहिलो खेल सेनेगलका इब्राहिम डियावसँग ४–० को सोझो सेटमा पराजित भए । उनले १०–१२, ३–११, ४–११, ५–११ ले खेल गुमाए । स्यान्टु तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टपछि छनोट चरण पार गरी ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि स्यान्टु ओलम्पिक खेल्ने पहिलो टेबुलटेनिस खेलाडी हुन् । 

 एक मिनेट मात्र खेलिन् मनिताले 
पहिलोपटक ओलम्पिक खेलेकी जुडोकी मनिताको पेरिस यात्रा बिर्सनलायक बन्यो । मनिता विपक्षी खेलाडीविरुद्ध एक मिनेट मात्रै म्याटमा टिक्न सकिन् । एक बाउट जित्ने लक्ष्य राखेकी उनले अन्तिम ३२ मा सर्बियाली खेलाडी मारिका पेरिसिकसँग इप्पोनमा १०–० ले नतिजा सुम्पिएकी थिइन् । महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । समग्रमा ओलम्पिक खेल्ने मनिता छैटौँ नेपाली जुडो खेलाडी हुन् । मनिताले स्यान्टु श्रेष्ठसँगै उद्घाटन समारोहको मार्चमा राष्ट्रिय झन्डा बोकेकी थिइन् । 

 पहिलो चरणबाटै बाहिरिइन् सुस्मिता
सुटिङकी सुस्मिताको पहिलो ओलम्पिक यात्रा पहिलो चरणमै सीमित भयो । उनले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले ६०७.८ अंक जोडिन् । ४४ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहिन् । सुस्मिताले पनि वाइल्ड कार्ड पाएर पेरिस ओलम्पिक खेलेकी हुन् । उनले पनि पहिलोपटक ओलम्पिक खेलेकी हुन् ।

  प्रशिक्षकविहीन प्रिन्स 
पाँच वर्षअघि जुनियर ब्याडमिन्टनतर्फ एक नम्बर स्थान बनाएका प्रिन्सले आफ्नो पहिलो ओलम्पिक यात्रा सुखद बनाउन सकेनन् । समूह ‘पी’मा उनको पहिलो खेल नै विश्व वरीयताको दोस्रो स्थानमा रहेका खेलाडीविरुद्ध थियो । उनले तीन खेल सहजै २–० को सेटमा गुमाए । विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग उनी ८–२१ र ६–२१ ले पराजित भए । दोस्रो खेलमा आयरल्यान्डका नहत गुयनसँग ६–२१, ५–२१ ले हारेका प्रिन्स तेस्रो तथा अन्तिम खेलमा ५८औँ स्थानमा रहेका इजरायली खेलाडी मिसा गिल्बरम्यानबाट १२–२१ र १०–२१ ले पराजित भएका हुन् । नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सले प्रशिक्षकविना नै ओलम्पिक खेलेका थिए । 

 घाइते हुँदाहुँदै प्रतिस्पर्धा गरेकी डुवाना
पौडीबाज डुवाना खेलको अघिल्लो दिन घाइते भइन् । यद्यपि, उनले महिला दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरिन् । उनले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड खर्चिन् । सात खेलाडी रहेको हिट चरणमा डुवाना अन्तिम स्थानमा रहिन् । कुल ३० प्रतिस्पर्धीमा पनि उनी पुछारमै थिइन् । 

पदकको अहिले नै आशा गर्न सकिँदैन 
सन्तोषी श्रेष्ठ, म्याराथन धाविका

पदक अहिले नै आशा गर्न सकिँदैन । पेरिस आउँदा राष्ट्रिय कीर्तिमान तोड्ने सोचेको थिएँ । जब प्राविधिकसँग सल्लाह भयो यो निकै गाह्रो रहेछ । त्यसपछि म्याराथन पूरा गर्ने योजनामा लागेँ । बंगलादेशमा स्वर्ण पदक जित्दाभन्दा दूरी पूरा गर्दा खुसी छु । अब, स्ट्रङ होइन स्मार्ट बन्नु छ । दुई घण्टा ४० मिनेटमा भ्याउँछु भनेर कुदेको भए म लड्ने थिएँ । ५ हजार र १० हजारपछि अबको लक्ष्य भनेको नयाँ पुस्ताका लागि आशाको किरण बन्न चाहन्छु । ओलम्पिकमा पदकको आशा गर्नु बेकार छ । यस किसिमको तयारीले पदक आशा गर्न सकिँदैन । 

लगानीविना पदक सोच्नु गलत हो 
दीपक विष्ट, राष्ट्रिय टिम तयारी समिति

पेरिसमा यसपटक पनि सहभागिता पहिलेको जस्तै रह्यो । सबैले पदकका आशा गर्छन् । लगानीविना ओलम्पिकमा पदक सोच्नु गलत हो । नेपाल पनि सहभागी छ भन्ने मात्रै हो । खेलाडीले ओलम्पिकमा आफ्नातर्फबाट राम्रो गर्ने प्रयास गरेका छन् । उनीहरूले सशक्त प्रदर्शन गरेका छन् । अब, पदक जित्न शक्ति बढाउनुपर्‍यो । त्यसका लागि सरकारले खेलकुदलाई बजेट दिनुपर्छ । नत्र सधैँ सहभागितामै सीमित रहनेछ । अब, खेलाडी आएपछि नै अर्काेपटक पदक जित्ने गरी अभ्यास थाल्नुपर्छ । कुन–कुन खेल खेल्ने भनेर पहिल्यैबाट तयारी गर्नुपर्छ ।