१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

साढे पाँच वर्षसम्म बनेन सेती प्रादेशिक अस्पतालको भवन, अधुरै भवनबाट ओपिडी सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:५२:oo

सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन साढे पाँच वर्षभन्दा बढी समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भवन अभाव भएपछि अस्पतालले अधुरो भवनका केही कोठाबाट ओेपिडी सेवा सुरु गरेको छ ।

भवन निर्माणका लागि पाँचौँपटक थप गरिएको अवधि गत २५ असारमा सकिएकाे छ, तर काम सकिएको छैन । अझै करिब १५ प्रतिशत काम बाँकी रहेको संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । १८ करोड ७४ लाख २८ हजारको लागतमा दुईतले भवन निर्माण गर्न रबिना–थेगिन जेभीसँग २८ कात्तिक ०७४ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने हो ।

वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर, प्रवक्ता, सेती प्रादेशिक अस्पताल
हस्तान्तरण नहुँदै भवन प्रयोग गर्न नहुने हो तर अस्पतालका दुवै भवनमा ठाउँ नभएपछि अधुरो भवनबाट केही सेवा सुरु गर्नुपरेको हो । त्यहाँ पानी छैन, शौचालय छैन । तैपनि सेवा सुरु गरेका छौँ ।

झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेका संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । अहिले पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनले बताए ।

‘निर्माण कम्पनीले काम नगर्दा ढिलो भएको हो । बीचमा थोरै समय विद्युतीकरणको डिजाइन परिवर्तनबाहेक ढिलो हुनुपर्ने अरू कारण थिएन ।’ उनले भने, ‘पाँचपटक म्याद थप्दा पनि काम सकिएन । अब समयमै काम पूरा नगरेबाफत ठेकेदारले दैनिक जरिवाना तिरेर काम गर्नुपर्छ ।’ ठेक्का रकमको ०.०५ प्रतिशत दैनिक जरिवाना तोकिएको र छ महिनासम्म त्यसरी पनि काम पूरा नगरे ठेक्का तोडिने उनले बताए । 

भवनमा विद्युतीकरणको डिजाइन परिवर्तन र निर्माण अवधि लम्बिँदा भवनको लागत २१ करोड रुपैयाँ पुगेको छ । तत्कालीन सेती अञ्चल अस्पतालको सेवा विस्तारका लागि सरकारले भवन निर्माणको योजना ल्याएका थियो । सेती अहिले प्रदेशमातहत छ ।

भवनको अभाव भएपछि अस्पतालले अधुरो भवनबाटै ओपिडी सेवा सुरु गरेको छ । केही कोठामा निर्माण कम्पनीले रङरोगनसँगै मार्बल लगाएपछि अस्पतालले हालै ओपिडी सुरु गरेको हो । यसअघि ओपिडी सञ्चालन गर्दै आएको भवन सडकको क्षेत्राधिकारभित्र परेपछि धनगढीको सडक विस्तारका क्रममा भत्काउनु परेकाले अधुरो भवनबाटै सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

‘हस्तान्तरण नहुँदै भवन प्रयोग गर्न नहुने हो, तर अस्पतालका दुवै भवनमा ठाउँ नभएपछि अधुरो भवनबाट केही सेवा सुरु गर्नुपरेको हो ।’ उनले भने, ‘त्यहाँ पानी छैन, शौचालय छैन । तैपनि सेवा सुरु गरेका छौँ ।’ अस्पतालका दुईवटा भवनमा मेडिकल र सर्जिकल वार्ड सञ्चालन भइरहेका छन् । डायलाइसिस र आइसियूका लागि पनि ठाउँ साँघुरो भएको डा. कमरले बताए ।

‘६–७ वर्ष भइसक्यो, भवन बनेको छैन । भवन अभावले सेवा प्रवाहमा समस्या भइसक्यो ।’ उनले भने, ‘भवन हस्तान्तरण भए आइसियू र डायलाइसिस वार्ड पनि त्यहाँ राख्न सकिन्थ्यो ।’ हस्तान्तरण भए एमआरआई मेसिन पनि नयाँ भवनमा राखिने अस्पतालले जनाएको छ । प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्छन् ।  
 

ad
ad